लय समातेको भेरी अस्पताल

    • वीरेन्द्र जैसी

  • १२ श्रावण २०८०, शुक्रबार

नेपालगञ्ज: स्थापनाको १ सय ३२ वर्ष पार गरिसक्दा भेरी अस्पतालको आगामी बाटोका सम्बन्धमा अन्यौल थियो । हुन त लामो समयदेखि बहस भइरहेको थियो । त्यो बहस प्रायः एउटै विषय वरिपरि घुम्थ्यो, ‘भेरीलाई मेडिकल कलेजका रुपमा विकास गर्नुपर्छ ।’ प्रायः सबै राजनीतिक दल र तिनका चुनावी घोषणापत्रमा भेरी अस्पताललाई मेडिकल कलेज बनाउने भन्ने नारा छुट्दैनथ्यो । यदाकदा अहिले पनि मेडिकल कलेज बनाउने नारा राजनीतिक खपतका लागि प्रयोग भइरहेकै छ । तर, भेरीलाई कसरी मेडिकल कलेज बनाउन सकिन्छ ? भौतिक पूर्वाधार र जमिन पर्याप्त छन् ? के साँच्चै भेरीलाई मेडिकल कलेज नै बनाउनुपर्ने आवश्यकता हो ? परिणामउन्मुख भएर तथ्यमा बहस भइरहेको थिएन ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंलाई लागिरहन्थ्यो यति सानो क्षेत्रफलमा कसरी मेडिकल कलेज सञ्चालन गर्न सकिन्छ ? अनि सञ्चालन गरेर के हुन्छ ? उहाँ भन्नुहुन्छ, ‘बरु एमडी स्तरको पढाई गर्ने गरी अस्पताललाई विकास गरियो भने त्यसका लागि आउने आवासीय चिकित्सक भनेको सेवा गर्ने जनशक्ति नै हो । त्यसको लाभ प्रत्यक्षरुपमा नागरिकहरुले लिन पाउँछन् ।’ चापागाईं आफू अस्पताल विकास समितिको अध्यक्ष हुँदादेखि भेरीलाई मेडिकल कलेज भन्दा विशेषज्ञता हासिल गर्ने चिकित्सकहरुको शैक्षिक केन्द्रका रुपमा विकास गर्नुपर्ने पक्षमा रहेको बताउनुहुन्छ । त्यसपछि पनि आफूले अस्पताल नेतृत्वलाई यही मोडलका लागि सुझाव दिँदै आएको उहाँले बताउनुभयो ।

२०७९ साउनमा अस्पतालको मेसु भएका उहाँले यस बहसलाई घनिभूतरुपमा निरन्तरता दिनुभयो । अन्ततः सरकारले २०७९ चैतमा भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा एमडी, एमएस, डीएम, एमसीए स्तरका शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृत दियो । भेरी अस्पतालले संस्थागतरुपमा विशेषज्ञता प्राप्तिका लागि अध्ययनको केन्द्र बनाउने बाटो मात्रै समातेको छैन विशिष्टिकृत सेवा, विपन्नमैत्री र प्रविधिमैत्री सेवा प्रदान गर्ने बाटो समातेको छ । साथै, वर्षाैं पुराना भवनमा सेवा दिँदै आएको अस्पतालले भविष्यको आवश्यकतालाई ध्यानमा राखेर योजना पनि प्राप्त गरेको छ ।

विशिष्टिकृत सेवातर्फ निरन्तर प्रगति
सरकारले आर्थिक बर्ष २०७७/७८ को बजेटमै भेरी अस्पतालमा पाँच सय बेडको पूर्वाधार तयार गरेर विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पतालको रूपमा विकास गर्ने भनेर सम्बोधन ग¥यो । अस्पतालमा कार्डियाक सेवा सञ्चालनमा छ । क्याथल्याब सहितको सुविधा भएका सीमित अस्पतालभित्र पर्छ, भेरी अस्पताल । एन्जियोग्राफी, एन्जियोप्लाष्टी, पेसमेकरको सेवा अस्पतालले दिइरहेको छ ।

भेरी अस्पताल नेपालगञ्जको न्यूरो सेवा पनि प्रभावकारी बन्दै गएको छ । दैनिक ४० जनाले ओपिडी सेवा लिने गरेकोमा हप्तामा ५–७ वटा शल्यक्रिया पनि भइरहेको हुन्छ । ड्रिलसेट लगायतका स्तरीय उपकरण थप भएका छन् । महंगो न्यूरो उपचार पनि भेरीमा सुलभ छ । भेरीमा करिब चौगुणा कम शुल्कमा न्यूरो सम्बन्धि शल्यक्रिया भइरहेको छ । निजी अस्पतालमा गर्दा एक डेढ लाख रुपैयाँ पर्ने शल्यक्रिया भेरीमा केवल २० हजार रुपैयाँमा हुने गरेको छ । यसैगरी, मेडिसिन, सर्जरी, छाला रोग, अर्थोपेडिकतर्फका बिरामीहरु बाहिर रिफर गर्नुपर्ने अवस्था छैन । कतिपय विशिष्टकृत सेवाका लागि ठाउँको अभाव हुँदा सञ्चालनमा ल्याउन नसकिएको मेसु डा. चापागाईं बताउनुहुन्छ ।

पछिल्लो वर्षमा अस्पतालमा डायलाइसिस सेवा पनि विस्तार भएको छ । तीन वटा मेसिनबाट दिनमा दुई सिफ्ट सञ्चालन गरेर हप्तामा १८ जनाले सेवा पाइरहेकोमा अहिले ६ वटा मेसिनबाट दिनमा तीन सिफ्ट सञ्चालन गरी हप्तामा ५४ जनाले सेवा पाइरहेका छन् । संक्रमितहरूको लागि छुट्टै मेसिनको व्यवस्था गरिएको छ । इमर्जेन्सी डायलासिसको व्यवस्था गरिएको छ । यसैगरी १५ वटा बेडबाट इमर्जेन्सी सेवा दिइरहेको भेरी अस्पतालले २०८० बाट स्तरोन्नति गरेर ३० बेड पु¥याएको छ । प्रयोगशालाका लागि निर्मित भवनको तल्लो तलामा सञ्चालन हुँदै आएको इमर्जेन्सी नयाँ बनिरहेको इन्डोर भवनमा फराकिलो ठाउँमा स्थानान्तरित भएको छ । इमर्जेन्सीमा बिरामीको अवस्था अनुरुप रातो, पहेँलो र हरियो कोडका बेड तथा स्थान वर्गीकरण गरिएको छ । जुन पहिलेको इमर्जेन्सीमा थिएन । नयाँ इमर्जेन्सी ब्लकमा कुनै बिरामीको मृत्यु भइहालेमा शव राख्न ब्ल्याक रुम, आइसोलेसन कक्ष, विशेष प्रकृतिका बिरामीहरूको निम्ति अब्जरभेशन कक्ष, पर्याप्त संख्यामा शौचालयको व्यवस्था गरिएको छ ।

अस्पतालको प्रयोगशालामा उत्कृष्ट उपकरणहरु छन् । मेसु डा. चापागाईं भन्नुहुन्छ, ‘बेस्ट उपकरणहरु हामीसँग छन् ।’ यसैगरी ठाउँको अभावमा राख्न ढिलाई भएको एमआरआई मेसिन पनि जडान हुँदैछ । उपकरण र फर्निचरका सन्दर्भमा कोभिड महामारीपछि अस्पतालले ठूलो फड्को मारेको मेसु चापागाईंले बताउनुभयो ।

भौतिक संरचनाको संकटबाट मुक्तितर्फ
भेरी अस्पतालले समातेको अर्काे बाटो हो, भौतिक संरचना स्तरोन्नतिको । शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाईमार्फत् अस्पताल परिसरमा पाँच तले इन्डोर भवन निर्माणको अन्तिम चरणमा छ । २ सय ४४ बेडसहित इमर्जेन्सी, डायलासिस, आइसियु, सिसियु, प्रशासनिक कक्ष पनि उक्त भवनमा रहेका छन् । अत्यावश्यक अवस्थामा उक्त भवनमा तीन सय बढी बेडहरु राख्न सक्ने क्षमता रहेको छ ।

तर, यो भवनले अस्पतालको भौतिक संरचनको संकट टार्दैन । वर्षाैं पुरानो भवनमा रहेको ओपिडी सेवाका लागि नयाँ भवन निर्माण अत्यावश्यक भइसकेको छ । बिरामीको चापले वर्षांै पुराना संरचनामा सेवा दिनु अस्पतालका लागि एक मुख्य चुनौतिका रुपमा छ । १ सय ५० बेड क्षमताको अहिलेको संरचनामा बेड संख्या १ सय ६२ राखेर सेवा दिइँदै आएको छ । अप्रेशन बेडको अभाव हुँदा बिरामीहरुले अप्रेशनका लागि महिनौ कुनुपर्ने बाध्यता छ । सरकारको लक्ष्य छ, अस्पताललाई पाँच सय बेडको बनाउने । सोही अनुरुप नयाँ ७ तले भवनका लागि ३ अर्ब लागत लाग्ने गरी डिपिआएर तयार भएको छ ।

उक्त डिपिआरमा बितेको एक वर्षमा अस्पतालले घनिभूत छलफल ग¥यो । मेसु चापागाईं भन्नुहुन्छ, ‘डिपिआर त बनेको थियो । तर, उक्त डिजाइन हाम्रो आवश्यकता अनुसारको छ कि छैन भनेर हामीले विभिन्न चरणमा छलफल ग¥यौं । हतारमा जुन नम्बरको जुत्ता भेटिएपनि लगाएर हिँडे जस्तो गर्नु उपयुक्त हुन्न भनेर हामीले डिजाइनलाई परिमार्जन गर्नतर्फ समय खर्चियौँ । त्यसले केही समय लियो ।’ अब परिमार्जित डिजाइन अनुरुप काम अघि बढ्ने उहाँले बताउनुभयो । जसमा ६० अपार्टमेन्टको डक्टर क्वार्टर र अत्याधुनिक पोष्टमार्टम घर पनि निर्माण गर्ने योजना छ । उक्त संरचना बनेपछि भेरी अस्पतालले नयाँ रुप ग्रहण गर्ने विश्वास गरिएको छ ।

सेवाप्रवाहलाई बनाइँदै सेवाग्राहीमैत्री
सरकारी अस्पतालबाट पाइने निःशुल्क र सहुलियत उपचार सेवाका लागि बिरामीलाई बेडमा छोडेर स्थानीय जनप्रतिनिधिसँग सिफारिस गराउन दौडधुप गर्नुपर्ने अवस्था थियो । त्यस्तो सिफारिसमा पहुँचवालाकै हालीमुहाली हुन्थ्यो । विपन्न र पहुँचविहिनहरुले ती सेवा लिन निकै मुस्किल थियो । अस्पताल प्रमुख भएर आएपछि मेसु चापागाईंले यो पद्धतिलाई नै बाईबाई गरिदिनुभयो ।

सहुलियत उपचारका लागि सेवाग्राहीसँग नेपाली नागरिकताको परिचय–पत्र भए मात्रै पनि पुग्ने निर्णय अस्पतालले ग¥यो । स्वःघोषणा मार्फत सहुलियत वा निःशुल्क सेवा प्राप्त गरेका बिरामीको विवरण अस्पतालले सार्वजनिक लेखा परिक्षणको निम्ति संग्रह गरेर राख्ने गरेको छ । आर्थिक सहुलियत उपयुक्त हुने लागेमा उपचारमा संलग्न कन्सल्टेन्ट चिकित्सकले ५० प्रतिशतसम्म सहुलियतको निम्ति सिधै सिफारिस गर्न सक्ने व्यवस्था अस्पतालले गरेको छ । बहिरंग सेवामा २ हजार ५ सय र अन्तरंग सेवातर्फ १० हजार रुपैयाँ भन्दा बढीको रकम स्वीकृत गर्नुपरेमा नर्सिङ प्रशासकले गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरियो ।

यसैगरी बीमा काउन्टर र नियमित ओपिडी पर्चा काउन्टर अगल–अलग ठाउँमा हुँदा बिरामीहरूले दुःख पाइरहेकोमा बीमा काउन्टरलाई पनि नियमित ओपिडी काउन्टरकै नजिक स्थानान्तरण गरी बिरामी कुर्नको लागि बेञ्चको व्यवस्था गरिएको छ । बीमामा सेवा लिन आउने बिरामीहरूले बिमा सुविधा लिन काउन्टर र फार्मेसीमा औषधिको पूर्जा बुझाउनुपर्ने, त्यसको लागि अस्पताल बाहिर भौंतारिनुपर्ने र सोही क्रममा दलालहरूको चंगुलमा फसेर निःशुल्क पाइने औषधि समेत बाहिर किनाइदिने परिपाटी अन्त्य गरी बिरामीलाई सहज होस् भन्ने हेतूले बिमा काउन्टरमै फोटोकपी राखी निःशुल्क फोटोकपी गरिदिने व्यवस्था मिलाइएको छ ।

अस्पतालले सेवा प्रवाहका क्रममा चिकित्सकदेखि लिएर अस्पताल फार्मेसीले पालना गर्नुपर्ने नियमहरुको सर्कुलर नै जारी गरेर सेवाग्राहीमैत्री बन्न प्रेरित ग¥यो । जसले सेवा प्रवाहका क्रममा हुने भूलचुकहरु कम गर्न र सेवाग्राहीलाई पनि उनीहरुको अधिकार र कर्तव्यबारे सचेत गराउने काम ग¥यो । यस्ता प्रयासहरुको प्रभाव सेवाग्राहीको विश्वासमा पनि परेको छ । अहिले भेरी अस्पतालमा हुने गरेको बिरामीहरुको चापले पनि त्यो कुराको पुष्टि गर्छ ।

यसैगरी अस्पतालको फार्मेसी पनि व्यवस्थित र सेवाग्राहीमैत्री बन्दै गएको छ । फार्मेसीबाट नियमितरुपमा ओपिडी र इन्डोरका औषधिहरु सहुलियत दरमा विक्री वितरण हुँदै आएको छ । यस बाहेक स्वास्थ्य बिमा कार्यक्रम, सामाजिक सेवा कार्यक्रम, लक्षित वर्गका बिरामीलाई निःशुल्क औषधि वितरण गर्ने गरिएको छ । विभिन्न वर्गमा हुने कडा रोग जस्तै मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरीका बिरामीलाई पनि निःशुल्क औषधोपचार हुने गरेको छ ।

थारु समुदायलाई प्रभावित पारेको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई चिकित्सकको पूर्जा अनुसार निःशुल्क औषधि उपचार, निःशुल्क आकस्मिक औषधि उपचार, ओसिएमसी निःशुल्क औषधि उपचार र अस्पतालको इन्डोरमा भर्ना भएका बिरामीको लागि कुनै लक्षित वर्गमा नपर्ने तर औषधोपचार गराउन नसक्ने बिरामीहरुलाई समेत सम्बन्धित चिकित्सक र मेसुको सिफारिसमा निःशुल्क औषधि उपचार सेवा अस्पताल फार्मेसीले प्रवाह गर्दै आएको छ । औषधि तथा औषधिजन्य सामग्री एमआरपी मूल्यमा खरिद हेरेर १० देखि ३० प्रतिशत भन्दा बढीसम्म सहुलियत दिएर बिरामीलाई विक्री वितरण गर्ने गरिएको छ ।

सेवाप्रवाहलाई जोडिँदै प्रविधिसँग
भेरी अस्पतालले पछिल्लो एक वर्षमा समातेको अर्काे बाटो हो, सेवालाई प्रविधिसँग जोड्ने । अस्पतालका प्रमुख मेसु डा. बद्री चापागाईं सेवाप्रवाहलाई प्रविधिसँग जोड्ने लक्ष्यलाई संक्षेपीकरण गर्दै भन्नुहुन्छ, ‘बिरामी अस्पताल आउनु अघि घरबाटै टिकट काटोस्, रिपोर्ट मोबाइलमै पिडिएफमा आओस्, अस्पतालबाट निस्कँदा औषधिको थैली बेडमै आइपुगोस् ।’ त्यसका लागि अस्पतालले आफ्नै सफ्टवेयरको रुपमा ‘भेरीसफ्ट’ को विकास गरेको छ । त्यसलाई सम्बद्ध र चासो राख्ने अस्पतालका सबै कर्मचारीदेखि विज्ञहरुसँग छलफल परामर्श गरी परिमार्जन गरिएको छ । टिकटिङ र बिलिङमा मात्र सीमित बजारका सफ्टवेयर भन्दा भेरीसफ्टलाई पूर्ण ‘इलेक्ट्रेनिक हेल्थ रेकर्ड’ सिस्टमको रुपमा विकास गर्ने काम अस्पतालले गरिरहेको छ ।

अस्पतालले डायनामिक क्युआर सहितको डिजिटल पेपेन्ट २०७९ मंसिर २० देखि सुरु गरिसकेको छ । बिरामीको प्रत्येक पटकको भिजिट र डायग्नोसिस संग्रह गर्न मिल्ने प्ल्याटफर्म बनाइसकिएको छ । प्रयोगशालाका मेसिनहरूलाई सफ्टवेयरसँग जोडी ‘ल्याब इन्फर्मेशन सिस्टम’ लागू गरिसकिएको छ । मेसिनको रिडिङलाई प्राविधिकले नोट गरेर रिपोर्ट टाइप गर्दा हुने त्रुटीहरु न्यूनीकरण गरिएको छ । भेरीसफ्टको फार्मेसी मोड्यूल पनि कार्यान्वयनमा आइसकेको छ । अस्पतालको दैनिक बिरामी चाप, बिमित र साधारण बिरामीको अनुपात लगायतका तथ्याङ्कहरू अस्पतालको वेबपेजमा लाइभ लिंक गरिएको छ । अस्पतालको बडापत्र समेत प्रविधिमैत्री बनाउन क्युआर कोडसहितको बनाइएको छ । जसबाट सेवाग्राहीहरुले आफ्नो मोबाइलमा डाउनलोड गरेर फुर्सदमा पढ्न सक्छन् । अब अस्पतालले सेवाग्राहीले घरबाटै टिकट कन्फर्म गरेर अस्पतालमा आई आफ्नो टिकट प्रिन्ट गरेर आफ्नो समस्या परेको विभागमा आफ्नो रोजाईको चिकित्सक÷यूनिटसँग देखाउन मिल्ने गरी अनलाइन टिकेटिङको व्यवस्था गर्दैछ ।

बसालिएको थिति
भेरी अस्पतालको जीवनमा थितिको अभावले धेरै प्रभाव पारेको विश्लेषण हुन्छ । नेतृत्वमा आउने व्यक्तिको लक्ष्य, क्षमता र विवेकले अस्पताल सञ्चालन हुँदै आयो । थिति बसाल्नुपर्नेहरुले इच्छाशक्ति र जाँगर देखाएनन् । तर, पछिल्ला केही वर्षयता विशेषगरी कोभिड महामारीपछि अस्पतालले निरन्तर प्रगति गरेको छ । सेवाग्राहीका गुनासाहरुको सम्बोधनमा तदारुकता देखाएको छ । कमजोरी सुधारको प्रयास र सीमितताको बारेका सेवाग्राहीलाई बुझिने गरी बताउन थालेको छ । बिचौलियाहरुको प्रभाव कम गर्न अस्पताल विकास समितिको पहलमा उपचारात्मक र निदानात्मक उपायहरु अपनाइएको छ ।

अस्पताल प्रशासनको आन्तरिक कार्यशैलीमा पनि आफूले केही नयाँ प्रयोग गरेको डा. चापागाईं बताउनुहुन्छ । निर्णय प्रक्रियामा सामूहिक सहभागिता र जिम्मेवारी बाँडफाँड गरिएको छ । उहाँले मोबाइलमा अस्पतालका विभिन्न गतिविधि र कामहरुबारे छलफल गर्न बनाइएका प्लेटफर्महरु देखाउँदै भन्नुभयो, ‘यहाँ आफ्नो राय राख्न इच्छुक सबै कर्मचारीहरुलाई छुट छ । साधारण स्तरको कर्मचारीले पनि आएर मलाई सर, यस विषयमा यस्तो गर्दा ठिक होला भनेर सुझाव दिन्छन् । मैले त्यसलाई गम्भीरतापूर्वक सुन्छु ।’ निर्णय प्रक्रियामा सामूहिक सभागिता मात्रै नभई जिम्मेवारी दिएर उत्तरदायी पनि बनाइएको छ । उहाँले भन्नुभयो, ‘कतिपय साथीहरु मदेखि रिसाउनुभएको पनि होला । म छड्के शैलीमा, राती समेत, कहिले आइसियुमा पुग्छु, कहिले इमरजेन्सीमा त कहिले वार्डहरुमा । यो मैले उहाँहरुलाई सेवाग्राहीप्रति उत्तरदायी बनाउनलाई गरेको हो । जिम्मेवारी पालनाका सवालमा म अलि कडा पनि छु ।’

यी सबै सेवाग्राहीका लागि फाइदाजनक थितिहरु हुन् । यी थितिहरुको निरन्तता र समातेको बाटोको इमान्दारीपूर्वक अनुशरण गरेमा भेरीले देशकै एक उदाहरणीय स्वास्थ्य संस्था बन्ने सामथ्र्य राख्नेमा दुई मत छैन ।

 

 

  • १२ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech