नेपालगन्जः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु बिरामीको चाप बढ्दै गएपछि छुट्टै ‘डेंगु डेडिकेटेड अस्पताल’ सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा धान्न नसकेपछि अस्पतालले आइतबारदेखि छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएको हो ।प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोखरेलका अनुसार हाल ३० बेडको डेंगु अस्पताल सञ्चालनमा आएको छ । यसअघि कोरोना संक्रमितको उपचारका लागि बनाइएको डेडिकेटेड अस्पताललाई आइतबारदेखि डेंगु संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याइएको हो । पछिल्ला दिनमा आकस्मिक कक्षमा मात्रै ७० प्रतिशत डेंगुका बिरामीले भरिन थालेका छन् ।
उहाँका अनुसार डेंगु संक्रमितको चाप बढ्दै गएपछि अस्पतालले बिरामीको स्थितिलाई हेरेर मात्रै थप उपचारका लागि भर्ना गर्ने गरेको छ । डेंगु संक्रमित बढेसँगै धरान उपमहानगरपालिका र प्रतिष्ठानको सहकार्यमा २९ असारदेखि क्लिनिक सञ्चालनमा ल्याएको छ । क्लिनिक सञ्चालनमा आएदेखि शनिबारसम्म ८१९ जनाको परीक्षण हुँदा ६१५ जनामा डेंगु पुष्टि भएको छ । जुन कुल संख्याको ७५ प्रतिशत हो ।
उहाँका अनुसार साउन २ मा धरान–११ का ७९ वर्षीय पुरुष र धरान–१८ का ८४ वर्षीया महिलाको डेंगु संक्रमितको मृत्यु भएको छ । त्यसैगरी, यसअघि जेठ २३ गते ३० वर्षीया र असार १५ मा ४० वर्षीया महिलाको मृत्यु भएको थियो । पोखरेलका अनुसार मृत्यु भएका एक जनाबाहेकमा उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग पनि देखिएको थियो ।
गत असारदेखि आकस्मिक कक्ष तथा वार्डमा गरी ४४८ भन्दा बढीले भर्ना भएर उपचार लिएका छन् । त्यसमध्ये २८५ जना निको भएर घर फर्किएका छन् । त्यसैगरी, अहिले अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी पनि डेंगु संक्रमित भएका छन् । पछिल्लो सातामा मात्रै झण्डै ६० जना स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भएको पोखरेलले जनाकारी दिनुभयो ।
सन् २०१९ मा धरानमा डेंगुले महामारीकै रूप लिएको थियो । धरान उपमहानगरपालिकामा मात्रै अहिलेसम्म संक्रमित संख्या ३ हजार नाघिसकेको छ । गत वर्ष धरानमा फाट्ट–फुट्ट मात्रै डेंगु संक्रमण देखिएको थियो । तर, यो वर्ष भने प्रकोपको रूप लिइसकेको छ ।
धरान उपमहानगरपालिका २० वटै वडामा संक्रमण फैलिएको छ । विज्ञहरु भने यो वर्ष धरानमा डेंगुले भयावह निम्ताउने सम्भावना रहेको भन्दै केन्द्र देखि स्थानिय सरकारले तत्काल नियन्त्रणका लाग्नुपर्ने बताउँछन् । बढी पानी संकलन भएका ठाउँमा लामखुट्टेको लागि उपयुक्त वातावरण भएकाले पनि डेंगु बढी, छिटो र तीव्र गतिमा फैलिन्छ । अहिले धरानमा भाडाकुँडा, ड्रम, ट्यांकीमा पानी नछोपी राख्दा डेंगु फैलिरहेको छ ।