नेपाली खाना दाल, भात र तरकारी अचारबिना अपूरो नै हुन्छ । अचार सामान्यतया दुई प्रकारले तयार पारिन्छ, ताजा र बट्टामा लामो समय राखेर । ताजा अचार अहिले मौसमी तरकारीबाट बनाइन्छ भने बट्टामा बेमौसमी बेलामा खानका लागि बनाएर राखेको हुन्छ ।
अचार किन खाइन्छ त ?
नेपालीको भान्सामा दैनिक तयार हुने अचार ?
प्राय: नेपालीको भान्सामा अनिवार्य रुपमा अचार बनाइएकै हुन्छ । यो नभए पनि केही केही फरक पर्दैन तर सकेसम्म बनाएको हुन्छ । जसमा अधिकांशले घरमा दैनिक रुपमा बनाउने अचारमा जस्तै गोलभेंडा, पुदिना, धनियाँ, मुला, भान्टा, दहीको राइता गुन्दुक र आँपको अचार बनाइन्छ ।
त्यस्तै कहिलेकाहीं हुने भोजभतेरमा आलु, काँक्रो, मुला, गाँजर र केराउ मिसाएर अचार बनाइन्छ ।
कसरी बनाउने अचार ?
सामान्यतया अचार विभिन्न तरिकाले बनाउन गरिन्छ । भान्साअनुसार अचार बनाउने तरिका फरक-फरक हुन्छ । जस्तै, गोलभेंडाको अचार सिलौटा वा मिक्सचरमा काँचै पिसेर मरमसला हालेर बनाउन सकिन्छ भने गोलभेंडालाई उसिनेर वा तेलमा तारेर मरमसला हालेर पनि बनाउन सकिन्छ । साथै यसमा आफ्नो घरमा भएको अन्य खाद्यवस्तु वा मरमसला थप हाल्न सकिन्छ ।
त्यस्तै पुदिना र धनियाँको अचार छुट्टाछुट्टै धोएर काँचै मिक्चर वा सिलौटामा पिनेर बनाउने गरिन्छ भने यसलाई अरु अचारसँग मिसाएर पनि बनाइन्छ । त्यसैले अचार यस्तै बनाउनुपर्छ भन्ने तरिका छैन ।
अचारमा के–के पाइन्छ ?
तरकारीमा कुनै पोषक तत्वको कमी छ तर अचार बनाइएको छ भने त्यसबाट परिपूर्ति हुन्छ । अचार बनाइने सामग्री र तरकारीमा फाइबर, आइरन, क्याल्सियम, पोटासियम र अन्य पोषक तत्व अधिक मात्रामा पाइने भएकाले यसबाट पेटलाई सफा र सुरक्षित राख्न मद्दत गर्छ । प्रायजसो अचार सलाद, वनस्पतिका पातबाट बनाउने भएकाले स्वास्थ्यका लागि यो लाभदायक हुन्छ ।
अचार स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि
अचारले पाचन पक्रिया बलियो बनाएर मेटाबोलिजम र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । साथै खाना नरुच्ने समस्याबाट पनि छुटकारा दिन्छ । अचारमा पाइने तत्वले एन्टिअक्सिडेन्ट बढाउने हुँदा बुढ्यौलीको समस्या चाँडो आउन दिंदैन ।
रगतमा हेमोग्लोबिनको मात्रा नियन्त्रण गर्न, पेटलाई सफा राख्न र कब्जियतको समस्यामा पनि अचारले राहत दिन्छ ।