मिर्गौलामा पत्थरी आम समस्या हो । मिर्गौलामा पत्थरी विभिन्न कारणले हुन्छ । तर कारण जे होस्, यसले बिरामीलाई अत्यधिक पीडा दिने गर्छ । यति मात्र होइन, यसको समयमा उपचार गरिएन भने यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । त्यसैले मिर्गौलामा पत्थरी के कारणले हुन्छ ? यसको उपचार कसरी गरिन्छ लगायतको विषयमा वीर अस्पतालका प्रमुख कन्सल्टेन्ट युरोसर्जन डा. रविनबहादुर बस्नेतसँगको कुराकानी :
सामान्यतया मिर्गौलाको काम भनेको शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निष्कासन गर्नु हो । तर कहिलेकाहीं शरीरमा भएका क्याल्सियम, अक्सालेट, फोस्फेट, सोडियम, म्याग्नेसियम, युरिक एसिडलगायत विभिन्न इलेक्ट्रोलाइटयुक्त तत्त्वको तालमेल मिल्दैन, जसले गर्दा मिर्गौलामा पत्थर जम्मा हुने गर्छ ।
‘क्याल्सियम अक्सालेट’ पत्थरी मिर्गौलाको पत्थरीको सबैभन्दा सामान्य प्रकार हो । शरीरमा क्याल्सियम र अक्सालेटको मात्रा चाहिने भन्दा बढी भयो भने पिसाबमा घुलेर बाहिर ननिस्किएर थिग्रिएर बस्छ र ढुङ्गा बन्छ ।
मिर्गौलाबाट आएको पिसाब मूत्रनली हुँदै पिसाबथैलीमा आउनुपर्छ । तर यदि मिर्गौला र मूत्र नलीको बनावट राम्रो छैन भने पिसाब थैलीमा आउन सक्दैन । जसले गर्दा पिसाब मिर्गौलामा नै रहिरहन्छ र नुन थिग्रिएर ढुङ्गा बन्छ ।
विभिन्न किसिमको पिसाबको इन्फेक्सन भयो भने कीटाणुहरूले पिसाबमा भएको युरियालाई टुक्राएर ढुंगा बन्न सक्छ । कुपोषित बच्चाहरूमा पिसाब थैलीमा ढुंगा बन्न सक्छ । साथै वृद्धावस्थाका पुरुषहरूमा प्रोस्टेट ठूलो भएर पिसाब थैलीबाट पिसाब निख्रिन सकेन भने पिसाब थैलीमै अड्किएर ढुंगा बन्छ ।
सुपारी खाने मान्छेको मिर्गौलामा पत्थरी हुन्छ भनिन्छ, यो कति सत्य हो ?
सुपारी खाएकै कारण मिर्गौलाको पत्थरी हुने होइन । तर पत्थरी गराउने कारणमध्येमा सुपारी पर्छ । सुपारीमा ‘एरकोलिन’ भन्ने केमिकल हुन्छ, जसले ढुंगा बनाउन मद्दत गर्छ । तर सुपारी धेरै खाने मानिसमा पत्थरी हुन्छ नै भन्ने पनि छैन । बरु रातो मासु, धेरै नुनिलो खानेकुरा खाने व्यक्तिमा पत्थरीको समस्या देखिन सक्छ । युरिक एसिड भएको व्यक्तिले युरिक एसिड बढ्ने खानेकुरा धेरै खायो भने ढुंगा बन्न सक्छ ।
पत्थरी भएको कसरी थाहा हुन्छ ?
पत्थरी भए बिरामीलाई अत्यधिक दुखाइ हुन्छ । धेरैजसो पत्थरी मिर्गौलामा नै बन्छ । मिर्गौला ढाड नजिक हुने भएको ढाड दुख्यो भने मिर्गौलामा पत्थरी छ कि भनेर शंका गर्न सकिन्छ । त्यो पत्थरी नलीमा अड्कियो भने त्यसले गर्दा मिर्गौलाबाट पिसाब निस्कन पाउँदैन अड्किन्छ, जसले गर्दा मिर्गौला फुल्छ र ढाड दुख्छ ।
पिसाब थैलीमा ढुंगा छ भने पेट दुख्छ । पिसाब पोल्ने, बारम्बार पिसाबको इन्फेक्सन हुने, पिसाब पोल्ने र पिसाबमा रगत देखा पर्ने जस्ता लक्षणहरु देखिन्छन् । कसैकसैमा पिसाबमा साना-साना ढुंगाको टुक्रा जाने पनि हुन्छ । यी लक्षणहरू देखिए पत्थरी हो कि होइन भनेर पत्ता लगाउन अल्ट्रासाउन्ड गर्नुपर्छ । अल्ट्रासाउन्डमा सबै प्रकारको ढुंगा देखिन पनि सक्छ त्यस्तोमा सिटिस्क्यान गरेर पत्थरी भए नभएको थाहा पाउन सकिन्छ ।
एउटा आम बुझाइ के छ भने मिर्गौलामा पत्थरी भएमा डाक्टरले नै बियर पिउने सल्लाह दिन्छन् । यो सत्य हो ?
मिर्गौलामा पत्थरी भएमा डाक्टरले नै बियर पिउने सल्लाह दिन्छन् भन्ने कुरा पूरा सत्य होइन र डाक्टरले त्यस्तो सल्लाह दिन पनि मिल्दैन । पिसाब कम बनेको अवस्थामा क्रिस्टल थिग्रिएर ढुंगा बन्छ । पिसाब उचित मात्रामा लाग्यो भने सानो साने ढुंगा पिसाबबाटै निस्कन सक्छ । त्यसैले उचित मात्रामा पिसाब बन्न प्रशस्त मात्रामा तरल पदार्थ पिउनुपर्छ भन्ने सल्लाह चाहिं हामी दिन्छौं ।
पानी, दाल, दही, मोही लगायतका तरल पदार्थ दैनिक तीन लिटर खानुपर्छ । बियर पिउँदा अन्य तरल पदार्थको तुलनामा बढी पिसाब हुने भएकाले बियर पिउँदा ढुंगा मर्छ भन्ने कुरा आम मानिसले गरेका हुन् । तर पत्थरीमा बियर पिउनु भनेर सल्लाह दिनु गलत हो ।
मिर्गौलामा पत्थरी भएको भन्दै बियर खाँदा त्यसले अरू अंगमा हानि गर्छ होला नि ?
मिर्गौलामा पत्थरी भएको भन्दै धेरै बियर पिउँदा अन्य अंगमा हानि गर्न सक्छ । पत्थरी निकाल्न भन्दै धेरै बियर पिएर ‘अल्कोहल पोइजनिङ’ भएर अस्पताल आएर आईसीयूमै भर्ना गर्नु परेको घटना पनि छन् । त्यसैले पत्थरी निकाल्न भन्दै धेरै बियर पिउनु गलत हो ।
मिर्गौलाको पत्थरी भएमा के के छ उपचार ?
पत्थरी सामान्य प्रकारको छ भने यस्तो उपचार विधिको प्रयोग गरिन्छ । यस्तो उपचार औषधिको सेवनबाटै सम्भव हुन्छ । यदि पत्थरी स–साना छन् भने बिरामीलाई औषधि र पानीको मात्रा बढाउन लगाइन्छ । जसका कारण पत्थरी सजिलै पिसाबसँगै बगेर जान्छ ।
अर्को उपचार विधि भनेको ‘ओपन स्टोन सर्जरी’ हो । जुन चिरेर पत्थरी निकाल्ने गरिन्छ । निकै ठूलो पत्थर भएको अवस्थामा यस्तो विधि अपनाइन्छ । अर्को उपचार विधि भनेको इएसडब्लुएल हो । यो पनि नचिरीकनै गरिने अप्रेसन हो । यस्तो विधिमा बाहिरबाटै सेकेर पत्थरलाई फुटाइन्छ । र, त्यो फुको पत्थरलाई पिसाबको माध्यमबाट बगाइन्छ ।
छालाबाट प्वाल पारेर पनि पत्थरीको उपचार गरिन्छ । यस्तो उपचार विधिलाई पीसीएनएल भनिन्छ । यस्तो अप्रेसन गर्दा प्वालबाट दुई प्रकारका पाइप छिराइन्छ । एउटा स्टाडर्ड पीसीएनएल पाइपको प्रयोग गरिन्छ । अर्को चाहिं मिनी पीसीएनएल पाइप । खासगरी सानो खानको पत्थरको लाग मिनी पीसीएनएल पाइपको प्रयोग गरिन्छ । त्यही प्वालबाट पाइपबाट टेलिस्कोपको माध्यमले पत्थरीको अवस्था अवलोकन गरिन्छ । र, त्यही पाइपबाट पत्थर निकालिन्छ ।
अर्को शल्यक्रिया विधिलाई यूआरएस भनिन्छ । विशेषगरी पिसाब नलीमा पत्थरी भएको अवस्थामा यस्तो विधिको सहारा लिने गरिन्छ । मिर्गौलामा भएको पत्थरीमा यस्तो विधि अपनाउँदै अपनाइँदैन भन्ने चाहिं होइन । यस्तो प्रकृतिको उपचार गर्दा पहिला पिसाबनलीबाट पाइप छिराएर पत्थरलाई फोड्ने काम गरिन्छ । जसको लागि फ्लेक्जिबल युरिन लेजरको प्रविधि प्रयोग हुन्छ । अनि पत्थरी झिक्ने काम गरिन्छ ।
पत्थरी हुनै नदिन के गर्ने ?
पत्थरीको समस्याबाट जोगिन दैनिक तीन लिटर पानी पिउनुपर्छ । खानामा नुनको मात्रा कम गर्नुपर्छ । नुनको मात्रा कम गरेमा पत्थरी बन्न धेरै कम हुन्छ । योसँगै तौलमा नियन्त्रण हुनुपर्छ र प्रोटिनयुक्त खाना कम खानुपर्छ । ढुंगा सानो हुँदा नै पत्ता लाग्यो भने सामान्य उपचारबाट पनि निको हुन सक्छ । त्यसको लागि वर्षमा एक पटक पिसाबको रुटिन जाँच, भिडियो एक्सरे गर्नुपर्छ ।