बाँके पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा

    • स्वास्थ्य पेज

  • १४ असार २०८०, बिहीबार

नेपालगन्ज: बाँकेलाई आज पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले आज नेपालगन्जमा एक कार्यक्रमकाबीच बाँकेलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्नु भएको हो ।

जिल्लाका आठवटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो । खोपै नलगाएका १९० बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ५१७ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

डुडुवालाई बैशाख ८, जानकीलाई जेठ २१, खजुरालाई २५, कोहलपुरलाई २६, बैजनाथलाई २९, नरैनापुरलार्य ३१, नेपालगन्जलाई ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो ।

शिशुको वृद्धि विकास आमाको गर्भदेखि नै सुरु हुन्छ। जन्मपछि शिशुको शारीरिक र मानसिक दुवैको विकास अन्यन्तै महत्वपूर्ण हुन्छ। बालबालिकाको यही वृद्धि विकासको लागि खोप आवश्यक पर्छ। बालबालिकालाई स्वस्थ राख्न, अपांगताबाट बचाउन र मृत्यु हुन नदिन खोप अनिवार्य छ।

खोपले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। विभिन्न रोग तथा संक्रमण विरुद्ध लड्नका लागि खोपले शरीरमा शक्ति प्रदान गर्छ। बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले खोप अनिवार्य रुपमा लगाउनुपर्छ। नेपालमा सरकारले १३ प्रकारका खोपहरु निःशुल्क रुपमा उपलब्ध गराउँछ।

यी अधिकांश खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ। साथै खोपको सबै मात्रा पूरा गर्नु अनिवार्य मानिन्छ। दुई वर्ष मुनिका बालबालिकालाई भ्यागुते रोग, लहरे खोकी, धुनष्टंकार, हेपाइटाटिस बी, हेमोफिलस इन्फ्लुएन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा रुबेला लगायत १४ प्रकारका रोगबाट बचाउन खोपहरु दिने गरिन्छ।

  • १४ असार २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech