मनोसामाजिक परामर्शले फेरिएको जीवन

    • स्वास्थ्य पेज

  • १३ असार २०८०, बुधबार

नेपालगन्ज: नेपालगञ्जकी राधा क्षेत्री (नाम परिवर्तन), उनलाई मर्न मात्रै मन लाग्थ्यो, छोराछोरी घरपरिवारप्रतिको मोह भङ्ग भइसकेको थियो । एक दुई पटक त उनले आत्महत्याको प्रयास पनि गरिन् । तर, परिवारका सदस्यले थाहा पाएपछि उनी गलत बाटो अख्तियार गर्नबाट बचिन् ।

दुनियाँ बिरानो लाग्थ्यो । कोही आफ्नो जस्तो लाग्दैनथ्यो । अँध्यारो कोठामा बस्न मात्रै मन लाग्ने, शरीर दुब्लाएर ख्याउटे भइसकेको थियो, कसैसँग बोल्न मन लाग्दैनथ्यो, कोही बोल्न खोज्यो भने झर्को लाग्थ्यो ।जब राधाले चार बर्ष अघि ३५/३६ वर्षकै उमेरमा श्रीमान् गुमाइन् अनि त्यो असह्य पीडाले उनलाई थिच्यो ।

शोकलाई सहन नसक्दा किरियामै बसेको बेला उनमा डिप्रेसन देखिन थालिसकेको थियो । बिस्तारै बिस्तारै समस्या बढ्दै गयो अनि उनलाई यो दुनियाँ बिरानो लाग्न थाल्यो । नेपाली सेनाबाट निवृत्त उनका श्रीमान् त्यसपछि वैदेशिक रोजगारीका लागि कतार गए । तर, २ बर्ष कतार बसेर उताबाट फर्किएपछि उनको दुःखद निधन भयो ।

उनीहरूको सुन्दर संसार उजाडिएपछि राधामा डिप्रेसनले बास गर्न सुरु गर्‍यो । उनले नेपालगञ्जमा चेकजाँच गराइन् । तर, बीसको उन्नाइस भएन । पछि चिकित्सककै सल्लाहमा राधा लखनउ पुगिन् । त्यति बेलासम्म उनको दिमागमा घाउ बनिसकेको थियो । उनले औषधि सेवन गर्न थालिन् ।

यही सिलसिलामा कतैबाट यो कुरा थाहा पाएर सामी कार्यक्रम अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता पूजा भण्डारी राधा कहाँ पुगिन् । भण्डारीसँग उनको भेट भएर जब मनोसामाजिक परामर्श पाउन थालिन्, बिस्तारै उनको धारणा परिवर्तन हुन थाल्यो । राधाकै शब्दमा कोही भगवान् आएर आफूलाई बचाउन खोजेजस्तो अनुभूति उनलाई भयो । मन शान्त हुन थाल्यो । छोराछोरी घरपरिवारको माया लाग्न थाल्यो ।

बाँच्न मन लाग्न थाल्यो अनि भण्डारीको निरन्तर परामर्शपछि राधा पहिलेकै अवस्थामा फर्किइन् । अढाई वर्षदेखि लगातार खाँदै आएका औषधि खान छोडेको पनि अहिले चार महिना भइसक्यो ।अहिले उनलाई समाजसँग घुलमिल हुन मन लाग्छ । मान्छेसँग बोल्दा झर्को लाग्दैन ।

उचित मनोसामाजिक परामर्शले आफू पूर्ववत् अवस्थामा फर्किसकेको राधा बताउँछिन् । ४० बर्षीया उनका दुई सन्तान छन् । सानै उमेरमा विवाह गरेको बताउने राधाका एक २७ बर्षीय छोरा छन् । उनी कतारमा छन् । २२ बर्षीया छोरी अमेरिका छिन् ।

 वैदेशिक रोजगारीसँग सम्बन्धित मनोसामाजिक समस्या भोगिरहेकाहरूको जीवनमा बदलाव ल्याउन पनि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले मनोसामाजिक परामर्श सेवा दिँदै आएको नेपालगञ्ज उपमहानगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता पूजा भण्डारीले बताउनुुुभयो।

उहांले आत्महत्याको प्रयास गरेकाहरूलाई मनोसामाजिक परामर्श दिएर बचाएको समेत बताउनुुुभयो। सामीले यस बर्ष ६४ जनालाई मनोसामाजिक परामर्श सेवा दिएको जनाएको छ । नेपालगञ्जमा १५, कोहलपुरमा १९, खजुरामा २५ र बैजनाथमा ५ जनालाई मनोसामाजिक परामर्श सेवा दिइएको सामीका कार्यक्रम संयोजक कमलसिंह नेपालीले बताउनुुुुभयो।

  • १३ असार २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech