जनस्वास्थ्य निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, सवा करोडको अवैध सम्पत्ति

    • स्वास्थ्य पेज

  • १३ असार २०८०, बुधबार

नेपालगन्ज: सर्लाही बलरा नगरपालिकाका कौशलेन्द्र मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । २०५७  असार ८ गते हेल्थ असिस्टेन्ट (सहायक पाँचौँ) बाट सार्वजनिक पदमा प्रवेश गर्नु भएका मिश्र पर्वतको वाजु, सर्लाहीको हरकठुवा र मुस्ताङको झारकोटमा रहेका स्वास्थ्य चौकीहरु काम गर्नुभयो ।

२०४२ मै परिवारमा अलग भएर बसेका उहाँको कानुनी रूपमा अंशवण्डा भने २०६२ मङ्सिर २९ मा भएको देखिन्छ ।  मिश्रका दुई श्रीमतीहरू सरोज कुमारी र तुलसी कुमारी रहनु भएको छ । तीन छोरी र एक छोराका बाबु उहाँले २०६३ पुस १ देखि २०६६ भदौ ३१ सम्म जागिरे अवधिमा बेतलबी अध्ययन बिदामा बसेको देखिन्छ ।

 अंशवण्डाबापत पाएको पैतृक सम्पत्तिबापत ७५ हजार रुपैयाँ लिएका मिश्रको जीवनयापन भने पछिल्लो पटक अस्वाभाविक देखिन्छ । सर्लाहीका उहाँले जागिरे जीवनमै कास्की पोखरामा घर किन्नुभएको थियो । उहाँले उक्त घर २०७३ जेठ २० मा २५ लाखमा बिक्री गर्नुभयो ।  दुई श्रीमतीहरू मध्ये तुलसी कुमारीलाई पोखरामै अर्को घर बनाइदिनुभयो । अर्की श्रीमती सरोज कुमारीलाई भने २०६७ फागुन १३ मा काठमाडौँ महानगरपालिका – १४ मा नारायण विश्वकर्माबाट घर खरिद गरि दिनुभयो ।

दुवै घर श्रीमतीहरूकै नाममा छन् । आयोगले उहाँलाई पक्राउ गर्न जाँदा उनीसँग निजी टाटा कम्पनीको कार समेत भेटियो । मिश्रले २०७८ असार ४ मा ३७ लाखमा टाटा कम्पनीको कार खरिद गरेको देखियो । मिश्रका नाममा दुई वटा कम्पनी रहेको छ । तुलसी ट्रेड सेन्टर र मिश्रा आयु फर्मा नामको दुई कम्पनी पोखरामा दर्ता भएको देखियो । आयोगको छानबिनबाट मिश्रले पोखरामै ५३.५० वर्ग मिटर भएको जमिन खरिद गरेको देखियो ।

त्यतिमात्रै होइन उहाँले बारास्थित बहुअरी–१ मा कित्ता नम्बर १५९० को जग्गा आफ्नै नाममा खरिद गरेको देखिन्छ । २०६७ मा काठमाडौँमा घर खरिद गर्दा मालपोत कार्यालयमा रजिष्ट्रेसन पास गर्दा १३ लाख रुपैयाँ मात्रै देखाएका मिश्रले घर भने ३६ लाखमा खरिद गरेको देखिन्छ । आयोगले घर बिक्रेता नारायण विश्वकर्मासँग समेत कागज गरेको थियो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार मिश्रले २०५६ असार ८ देखि २९७८ असार ३२ को अवधिमा जग्गा खरिद, बीमा प्रिमियर भुक्तानी, घर निर्माण र शैक्षिक खर्च भुक्तानीका नाममा जोडेको सम्पत्ति र खर्च हेर्दा एक करोड ३० लाख ४५ हजार ७ सय ६० रुपैयाँ २९ पैसाको वैधानिक स्रोत खुल्दैन ।  आयोगको छानबिन अनुसार मिश्रले अस्वाभाविक सम्पत्ति जोडेको देखिएकाले उहाँ विरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो ।

  • १३ असार २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech