कोहलपुर: कोहलपुर नगरपालिकाले क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत पालिका स्तरीय वार्षिक क्षयरोग कोहर्ट विश्लेषण तथा समिक्षा कार्यक्रम गरेको छ । कोहर्ट विश्लेषण तथा समिक्षा कार्यक्रममा डट्स सेन्टर लागु भएका स्वास्थ्य संस्थाहरुले सेवा प्रबाह बारे रिपोर्टिङ गरेका थिए ।
कोहलपुरमा ४ ठाउँमा डट्स सेन्टर लागु गरिएको छ । कोहलपुर नगर अस्पताल, नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र रझेना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डट्स सेन्टर छन् । ती सेन्टरबाट रोगीहरुले उपचार सेवा पाउंदै आएका छन् ।
डट्स सेन्टरबाट बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइन्छ । कोहलपुरमा जेठ महिनासम्म १६२ जना रोगी पहिचान भएको नगर स्वास्थ्य शाखाका क्षयरोग कार्यक्रमका संयोजक राजु केसीले जानकारी दिनुभयो ।
कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा आज भएको पालिका स्तरीय वार्षिक क्षयरोग कोहर्ट विश्लेषण तथा समिक्षा कार्यक्रममा स्वास्थ्य संस्थाका क्षयरोग फोकल पर्सन, कोहलपुर नगर अस्पतालका प्रयोगशाला इन्चार्ज, मेडिकल कलेजका प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रममा सहभागी नगर अस्पतालका प्रयोगशाला इन्चार्ज दिपक शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानबहादुर नेपाली लगायतको पनि सहभागिता रहेको थियो ।
नगर स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले गर्नुभएको थियो ।