क्षयरोग मुक्त पालिका बनाउन नेपालगन्जमा सचेतिकरण अभियान तीब्र

    • स्वास्थ्य पेज

  • १२ असार २०८०, मंगलवार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले क्षयरोग (टिवी) नियन्त्रणका लागि अभियानलाई तीब्र पारेको छ । अवको पाँच वर्षभित्र टिवीमुक्त पालिका बनाउने उद्देश्यका साथ उपमहानगरपालिकाले टिवी नियन्त्रणका लागि अभियान तीब्र पारेको हो ।

उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा टिवी मुक्त गर्न प्राथमिकता नै दिएको छ । नेपालगन्जभित्र टिवीका बिरामीहरु लुकेर बसेको अवस्था छ । उनीहरुलाई उपचारको पहुँचमा ल्याउन अहिले उपमहानगरपालिकाले खोज पड्ताल कार्यक्रम गर्दै आएको जनस्वास्थ्य अधिकृत रोशनी पुनले जानकारी दिनुभयो ।

यो कार्यक्रममा टिवी रोगबारे सचेतना फैलाउनेदेखि समुदायस्तरमै स्वास्थ्यकर्मीले खकार संकलन गर्ने गरेका छन् । स्वास्थ्यकर्मीहरुले जनस्वास्थ्यको मापदण्ड अनुसार सावधानीका साथ नमुना संकलन गर्ने गरेका छन् । संकलित नमुना भेरी अस्पतालमा जाँच हुने गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका टिवी रोग फोकल पर्सन विनोद विकका अनुसार यसैक्रममा आज विहान नेपालगन्ज–१२ मा टिवीका जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा सक्रिय क्षयरोग खोज पड्ताल कार्यक्रम गरिएको छ । वडाअध्यक्ष तरुण कुमार बज्राचार्यको उपस्थितिमा गरिएको कार्यक्रममा टिवीको जोखिम, जोगिने उपाय लगायतका बारेमा सचेत पार्ने काम गरिएको पनि फोकल पर्सन विकले बताउनुभयो ।

वडाअध्यक्ष बज्राचार्यले टिवी रोग उपचारपछि निको हुने भएकाले लुकाउनु पर्ने कारण नभएको बताउनुभयो । उहाँले लक्षण चिन्ह देखिएका बिरामीले समयमै चेकजाँच गराउने र टिवी भएको पुष्टि भए चिकित्सकको परामर्शमा औषधि नियमित सेवन गरे ठिक हुने बताउनुभयो । यस्तै कार्यक्रम अन्य वडाहरुमा पनि गर्ने तयारीमा आफुहरु रहेको जनस्वास्थ्य अधिकृत पुनको भनाइ छ ।

आजको कार्यक्रममा स्वास्थ्यकर्मी आरती चौधरी, ल्याव असिस्टेन्ट गणेश चौधरी, शालिक राम कश्यव, महिला स्वमसेविका लगायतको सहभागिता रहेको थियो ।

  • १२ असार २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech