शारीरिक रूपमा सक्रिय रहनु वा नियमित व्यायाम गर्नुका धेरै फाइदा छन् । मांसपेशी बलियो हुन्छ, रोग लाग्ने जोखिम कम गराउँछ र मानसिक स्वास्थ्यलाई सुदृढ बनाउँछ । एक नयाँ अध्ययनले व्यायामको अर्को फाइदा पनि उजागर गरेको छ– यसले हाम्रो पीडा सहन सक्ने क्षमतालाई पनि बढाउँछ ।
नर्वेको ट्रोम्सोमा भएको स्वास्थ्य र रोगबारेको एक बृहत् अध्ययनमा सहभागी १० हजार ७ सय ३२ जनाको डाटालाई विश्लेषण गरेर तयार गरिएको यो प्रतिवेदन जर्नल पिएलओस वानमा प्रकाशित छ । यसक्रममा नियमित व्यायाम गर्नेहरूको सहनशक्ति व्यायाम नगर्नेहरूको दाँजोमा धेरै देखियो । सहभागीहरू ३० देखि ३७ वर्ष उमेरसमूहका थिए । उनीहरूमध्ये आधाभन्दा बढी संख्या महिलाको थियो ।
शारीरिक गतिविधिले हाम्रो मुडमा पनि सुधार ल्याउँछ । जसकारण पीडा सहन सक्ने क्षमता बढ्छ । त्यस्तै, पीडाबाट आफ्नो ध्यान मोड्ने कुरा सिकाउन पनि यसले सहयोग गर्छ ।
सहभागीहरूले ३ डिग्री सेल्सियस पानीमा आफ्नो हात चोबलेर बसेका थिए । उनीहरूले सक्नेजति समय पानीमा हात राखे । धेरै समय पीडा सहन सक्नेहरूले धेरै समय हात त्यसरी राख्न सक्ने अनुसन्धानकर्ताहरूको मान्यता छ । अनुसन्धानअनुसार शारीरिक रूपमा धेरै सक्रिय हुनेहरूले आफ्नो हात यसरी लामो समयसम्म पानीमा राख्न सके । एक सय १५ दशमलव ७ सेकेन्डसम्म पानीमा हात राख्न सक्नेलाई अनुसन्धानकर्ताहरूले अति सक्रियका रूपमा वर्गीकरण गरेका छन् । कम सक्रियहरूले औसतमा ९९ दशमलव ४ सेकेन्डसम्म हातलाई पानीमा राख्न सकेका थिए । अनुसन्धानकर्ताहरूका अनुसार आठ वर्षपछि दोस्रोपटक परीक्षण गर्दा औसतमा सबैको सहनशक्तिमा ह्रास आएको देखिन्थ्यो । तर, व्यायाम नगर्नेहरूको दाँजोमा व्यायाम गर्नेहरूको सहनशक्ति कम घटेको थियो ।
मानिसको पीडा सहने शक्ति किन घटेर जान्छ भन्ने विषय अनुसन्धानले स्पष्ट गरेको छैन, यद्यपि बढ्दो उमेरका कारण यस्तो भएको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । शारीरिक गतिविधिले बढाउने सहनशक्तिबारे यसअघि पनि थुप्रै अध्ययन भइसकेका छन् । नोभेम्बर २०१९ मा युरोपियन जर्नल अफ पेनमा प्रकाशित अनुसन्धानले पनि यस्तै निष्कर्ष निकालेको थियो । अस्टे«लियामा स्कुल अफ मेडिकल साइन्सेज, न्यु साउथ वेल्स विश्वविद्यालय सिड्नी र न्युरोसाइन्स रिसर्च अस्टे«ेलियाले गरेको संयुक्त अनुसन्धानले पनि यस्तै निष्कर्ष निकालेको थियो ।
पीडा र व्यायाम
व्यायामले सहनशक्ति बढाउनुको ठोस कारण पत्ता लागिसकेको छैन । तर, व्यायामप्रेरित ‘हाइपोल्जेसिया’का कारण आउने मनोवैज्ञानिक परिवर्तनसँग यसको सम्बन्ध रहेको हुन सक्छ । व्यायाम गर्दा र गरिसकेपछि हुने दुखाइको कमीबारे मानिसले सुनाउने अनुभवतर्फ विज्ञहरूले संकेत गरेका छन् ।
यसको एउटा राम्रो उदाहरण धावकहरू उच्च गतिमा दौडँदा शरीरले उत्पादन गर्ने ‘इन्डोर्फिन्स’ नामक हर्मोन हो । यस्ता हर्मोन रिसेप्टर्ससँग नशालु पदार्थजसरी नै जोडिएका हुन्छन् र दुखाइ कम गर्छन् ।
इन्र्डोफिन्सहरू इन्डोक्यानाडिनोइड प्रणालीका केही हिस्सा मात्र हुन् । यो प्रणाली एउटा बृहत् सेल–सिग्नलिङ नेटवर्क हो । यसमा ठूलो हिस्सा इन्डोक्यानाडिनोइड र त्यसका रिसेप्टर्सहरूको हुन्छ । शरीरले उत्पादन गर्ने यी न्युरोट्रान्सिमिटर्स निद्रा नियमित लगाउने, भोक जगाउने, मुड राम्रो बनाउनेलगायत धेरै प्रक्रियामा संलग्न हुन्छन् । तर, दुखाइ केवल मनोवैज्ञानिक अनुभव मात्र होइन ।
अभ्यासले केही हदसम्म पीडा पनि निम्त्याइरहेको हुन्छ । व्यायाम गर्दा शरीर अत्यधिक चल्छ र दुख्न थाल्छ । अर्थात्, पीडा विश्लेषणको हाम्रो तरिका परिवर्तन गर्ने सामथ्र्य पनि व्यायामसँग हुन्छ । वर्कआउटका दौरान हुने कठिन अनुभवले दुखाइजस्ता तनावपूर्ण अवस्थामा पनि सहज हुन सक्ने हाम्रो सामथ्र्यलाई बढावा दिन्छ । शारीरिक गतिविधिले आत्मसामथ्र्य पनि बढाउँछ । पीडाका बाबजुद हामी केही कुरा गर्न सक्छौँ भन्ने मान्यता विकास गरिदिन्छ ।
शारीरिक गतिविधिले हाम्रो मुडमा पनि सुधार ल्याउँछ । जसकारण पीडा सहन सक्ने हाम्रो क्षमता बढ्छ । त्यस्तै, पीडाबाट आफ्नो ध्यान मोड्ने कुरा सिकाउन पनि यसले सहयोग गर्छ । जस्तो, हामी कुद्दा पनि संगीत सुनिरहेका हुन्छौँ । नियमित शारीरिक गतिविधिले दुखाइको त्रासबाट मुक्त गर्नका लागि पनि हामीलाई सहयोग गर्छ र पीडा अनुभव गर्न तयार गर्छ । यीमध्ये धेरै टेक्निक ‘दुखाइ व्यवस्थापन टेक्निक’का रूपमा पनि प्रयोग भइरहेका छन् । अझै पनि धेरै प्रश्न बाँकी नै छन्, त्यसको उत्तर भविष्यका अनुसन्धानबाट मिल्ला । अहिलेको अध्ययनले व्यायाम हाम्रा लागि कति फाइदाजनक छ भन्ने पक्कै स्मरण गराएको छ ।
(द कन्भर्सेसन डटकमबाट)