भेरी अस्पतालमा बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालमा ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन डा.श्याम किशोर चौधरीको पदस्थापन भएसँगै भेरीमा बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा सुरु भएको हो ।
बासगढी नगरपालिका ६ बर्दियाका १४ वषीया बालिका र सानीभेरी गाउँपालिका १ रुकुम पश्चिमका २८ वर्षीया युवतिको शुक्रबार एकै पटक सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
१४ वर्षीया बालिकाको विगत ६ महिनादेखि चिउडो सुन्निएको र तलका ४ वटा दाँत हल्लिएको अवस्थामा भेरीको ओपीडीमा उपचारका लागि आउनुभएको थियो । त्यस्तैं रुकुम पश्चिमका २८ वर्षीया युवति घरको सिडिबाट चिप्लिएर मुखमा चोट लाग्दा हड्डी भाँचिएर मुख खोल्न र खाना चपाउन समेत नसक्ने अवस्था लिएर अस्पताल आउनु भएको थियो ।
उहाँहरु दुवैजनाको हिजो सफलतापूर्वक शल्यक्रिया भएको अस्पतालका ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन डा.चौधरीले जानकारी दिनुभयो । डा.चौधरीको नेतृत्वमा भएको सर्जरीमा डा.निर्माण शाह, डा.प्रविन थापा, डा.नीशा पउन्जुसँगै एनेस्थेसियोलोजिष्ट डा.कृष्ण आचार्य, डा.पारश पाण्डे लगायत नर्सिङ स्टाफहरुको सहभागिता थियो ।
यसअघि यो सेवा भेरीमा उपलब्ध नहुँदा बिरामीहरु निजि अस्पतालमा महंगो शुल्क तिरेर सेवा लिन बाध्य थिए ।

ओरल एण्ड म्याग्जिलो फेसियल सर्जरीमा खटिएको मेडिकल टिम
‘पहिलो पटक भेरी अस्पतालमा म्याग्जिलो फेसियल सर्जरी सफलतापूर्वक सम्पन्न भएको छ अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.बद्री चापागाइँले भन्नुभयो-‘विशिष्टिकृत सेवा थप्दै गएका छौं । भेरीको सेवालाई हिंजो भन्दा आज, आज भन्दा भोलि राम्रो बनाउने हाम्रो प्रयास हो ।’
भेरी अस्पतालमा लामो समयदेखि म्याग्जिलो फेसियल सर्जरीको माग हुँदै आएपनि विज्ञ चिकित्सक नहुँदा यस प्रकारको शल्यक्रिया हुन सकेको थिएन । म्याग्जिलो फेसियल सर्जरीका लागि अस्पतालसँग सामान्य औजार उपकरण उपलब्ध छ । तर विशिष्टकृत उपकरणहरूको भने अस्पतालसँग अभाव छ ।
म्याग्जिलो फेसियल सर्जरीका लागि आवश्यक उपकरणहरु उपलब्ध भए जस्तो सुकै अपरेसन पनि भेरीमै सम्भव हुने डा.चौधरीको भनाइ छ । सडक दुर्घटना, टाउकोका क्यान्सर आदिमा नाक, कान, घाँटी, ओरल एन्ड म्याक्जिलो फेसियल सर्जन र न्यूरोसर्जनहरूको संयुक्त टोली बनाएर समेत आ-आफ्नो क्षेत्रको अपरेसन गर्नुपर्ने हुन्छ ।
भेरी अस्पतालमा हाल दुइ जना न्यूरोसर्जन, ४ जना ENT & HNS सर्जन र एक जना ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन उपलब्ध भैसकेकाले अब टाउँकोको अपरेसन, म्याग्जिलो फेसियल सर्जरी लगायत गर्न भारतका सहर वा काठमाडौं जानु पर्ने बाध्यताको अन्त्य भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.चापागाइँको भनाइ छ ।
बिरामीको बढ्दो चापका कारण भने ओटीको स्थान अभाव छ । सर्जनहरूले अपरेसनको ‘स्लट’ पाउन सकिरहेका छैनन् । डा.चापागाइँले बजेट अभावका कारण माग अनुसारका औजार उपकरण उपलब्ध गराएर सर्जनहरूको उत्साहमा उर्जा भर्न नसकिएको बताउनुहुन्छ ।
न्यूनतम सेवा मापदण्डमा हालसम्म मूल्याङ्कन गरिएका अस्पतालहरूमा सबैभन्दा उच्च अंक ल्याएको भेरी अस्पतालले आफ्ना सेवाहरुलाई गुणस्तरीय र स्तरीय बनाउँदै लगेको छ । जनताका असीमित माग छन् । ती सबै माग सम्वोधन गर्न अस्पताल प्रशासनलाई गाह्रो छ । सम्भव पनि नहोला । तर अस्पतालको सिंगो टिम बिरामीलाई स्तरीय सेवा दिने सवालमा कहिकतै डकमगाएको छैन’-डा.चापागाइँको भनाइ छ ।