नेपालगन्जः कोहलपुर नगरपालिका १५ स्थित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र अकलघरुवामा स्वास्थ्य तथा पुनःस्थापन सेवाको लागि आयोजित घुम्ती शिविरमा ६९७ जनाले ेवा लिएका छन् ।
कोहलपुर नगरपालिका र विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, बनेपा काठमाडौंको संयुक्त आयोजनामा भएको शिविरमा सेवा लिएका मध्ये २४ जना अपांगता भएकालाई सहायक सामाग्री वितरण गरिएको अस्पताल व्यबस्थापक प्रकाश यादवले जानकारी दिनुभयो ।
ह्विल चियर तीन जनालाई वितरण गरिएको छ । चार जनालाई बैशाखी, दुई जनालाई वाकर वितरण गरिएको पनि यादवको भनाइ छ । शिविरमा सेवा लिन आएकामध्ये १२ जाको शल्यक्रिया हुने भएको छ । उनीहरुलाई अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र वनेपामा रिफर गरिएको अस्पतालका सूचना तथा बाल संरक्षण अधिकृत विनिता खड्काले बताउनुभयो ।
अपांगता भएका बालबालिकालाई लक्षित गरि आयोजना गरिएको शिविरमा फिजियोथेरापी सेवासँगै औषधि समेत निशुल्क वितरण गरिएको थियो । सामान्य स्वास्थ्य, हाडजोर्नी र नशारोग तथा पुनःस्थापना सम्वन्धी आयोजित घुम्ती शिविरमा अर्थोपेडिक सर्जन डा यकराज गुरुङसहितको मेडिकल टिमले स्वास्थ्य चेकजाँच, परामर्श तथा उपचार सेवा प्रदान गरेको पनि अस्पतालका सूचना तथा बाल संरक्षण अधिकृत खड्काले बताउनुभयो ।