संचारकर्मी पवन जसको रगतबाट कैयौंले नयाँ जीवन पाइरहेका छन्

‘रक्तदान महादान’ । हामीले आफ्नो शरीरलाई सग्लो राखेर परोपकारका लागि गर्न सकिने सबैभन्दा सजिलो काम हो, रक्तदान । यसलाई ‘महादान’ पनि भनिएको छ ।


    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८०, सोमबार

नेपालगन्जः ‘रक्तदान महादान’ । हामीले आफ्नो शरीरलाई सग्लो राखेर परोपकारका लागि गर्न सकिने सबैभन्दा सजिलो काम हो, रक्तदान । यसलाई ‘महादान’ पनि भनिएको छ । किनभने हामीले रक्तदान गर्दा त्यसले अरु विरामी वा रोगीले नयाँ जीवन पाउन सक्छन् । एक युनिट रगतले पनि कसैको ज्यान बच्न सक्छ । यद्यपि मान्छेहरु रक्तदान गर्नमा उति जागरुक छैनन्, जति यसको महत्व र जरुरी छ ।

विभिन्न स्थानमा रक्तदानको अभियान नै चलाइएको हुन्छ, तर मान्छेहरु रक्तदानका लागि तयार हुँदैनन् । यसो हुनुमा रक्तदानप्रति मान्छेको गलत धारणा हो भन्नुहुन्छ नेपालगन्जका रक्तदाता पवन जैयसवाल । नेपालगन्ज उपमहानगरपालिका १९ सुर्जिगाउँ निवासी ५० वर्षीय जैयसवालले पेशाले संचारकर्मी हुनुहुन्छ । अहिलेसम्म उहाँले ९५ पटक रक्तदान गरिसक्नुभएको छ । एउटा संचारकर्मी यति धेरै पटक रक्तदान गर्ने सम्भवः नेपालकै पहिलो व्यक्ति हुनुपर्छ ।

‘एउटा संचारकर्मी र त्यो पनि मधेशी समुदायबाट यति धेरै पटक रक्तदान गर्ने विरलै हुन्छन् । मधेशी समुदायको पहिलो संचारकर्मी नै हुँ जस्तो लाग्छ धेरै रक्तदान गर्नेमा उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘विस २०४६ सालदेखि रक्तदान गर्दै आएको छु ।’ विस २०४६ साल असोज ४ गते उहाँले पहिलो पटक रक्तदान गर्नुभयो । नेपालगन्ज जेसिसले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुनुभएका पवनले मामा आमेन्द्र कुमार जैसवालको आग्रहमा रक्तदान गर्नुृभएको थियो ।

‘मामाले रक्तदान गर्न भनिहाल्नुभयो पहिलो पटक रक्तदान गरेको स्मरण गर्दै उहाँले भन्नुभयो–‘डाक्टरले मलाई रक्तदानका लागि योग्य छैन भनिदिए हुन्थ्यो झैं लागेको थियो तर रक्तदानका लागि योग्य भए रक्तदान गरे ।’ न कमजोर अनुभूति भयो न त कुनै असहज महसुस भयो । त्यसपछि सुरु भयो पवनको ‘रक्तदान महादान’ अभियान । विस २०६३ साल बैशाख २९ गतेदेखि उहाँले तीनतीन महिनामा नियमित रक्तदान गर्दै आउनुभएको छ । ‘धनले सहयोग गर्न नसकेपनि शरीरलाई सग्लो राखेर परोपकारका लागि गर्न सकिने सबैभन्दा सजिलो र पून्य काम हो रक्तदान उहाँ भन्नुहुन्छ–‘मेरो रगतका कारण धेरैको ज्यान जोगिएको छ ।’

नेपाल स्वयमसेवी रक्तदाता समाजका सल्लाहाकार समेत रहनुभएका पवन रक्तदातामात्र होइन रक्तदानका लागि अभिप्रेरित गर्न विभिन्न ठाउँमा पुग्दै आउनुभएको छ । १८ देखि ६० वर्षसम्मका कुनै पनि स्वस्थ व्यक्तिले वर्षमा तीन वा चार पटक सम्म रक्तदान गर्न सक्छन् । रक्तदान गर्नका लागि तपाईंको शरीरको तौल ४५ केजीभन्दा माथि हुनुपर्छ । तपाईंको एक युनिट ब्लडले लगभग तीन जना व्यक्तिको ज्यान बच्न सक्छ । यसैले पनि हरेक स्वस्थ व्यक्तिले रक्तदान गर्न उचित हुन्छ ।

रगतलाई अरु हिसाबले बनाउन सकिंदैन न यसको कुनै अर्को विकल्प छ । ‘शल्यक्रियाको क्रममा वा दुर्घटनापछि जब कुनै व्यक्तिको उपचार गर्नुपर्छ, उनीहरुलाई रगतको जरुरी हुन्छ उहाँ भन्नुहुन्छ–‘उक्त आवश्यकता तपाईंले दान गर्नुभएको रगतले परिपूर्ति गर्छ । त्यसैले यसलाई महादान भनिएको हो ।’

रक्तदान गर्नु पनि आफैंमा फाइदाजक छ । यसले खासगरी मुटुलाई स्वस्थ बनाइराख्न सहयोग गर्छ । साथसाथै अरुको मुटुको ढुकढुकी कायम राख्न पनि रक्तदान जरुरी हुन्छ । रक्तदानले हृदयघात, स्ट्रोक जस्तो विरामीबाट सुरक्षित राख्छ । रक्तदान गरेपछि रगत पातलो हुन्छ, जो मुटुको लागि राम्रो मानिन्छ ।

 

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech