कोहलपुरः कोहलपुर नगरपालिकाले क्षयरोग मुक्त पालिका बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको नगरपालिकाले पछिल्लो पटक क्षयरोग आधारभूत मोडुलर तालिमको आयोजना गरेको छ ।
नगर स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको तीन दिने तालिममा नीतिगत बिषयमा बहस र छलफल भइरहेको कोहलपुर नगरपालिकाका क्षयरोग मुक्त अभियानका संयोजक राजु केसीले जानकारी दिनुभयो । क्षयरोग कार्यक्रमको अवस्था, नीति, रणनीति, तहगत जिम्मेवारी लगायतका बारेमा स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षित पार्ने काम भइरहेको उहाँको भनाइ छ ।
क्षयरोग सम्भावित व्यक्तिको पहिचान, रोकथाम, निदान, उपचार र अनुगमनका सवालमा स्वास्थ्यकर्मीहरुलाई स्पष्टता पार्ने काम तालिमबाट हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताउनुभयो ।
क्षयरोग निवारण प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई पनि थप स्पष्टता पार्न आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीको भनाइ छ ।
भोलिसम्म चल्ने तालिमको सहजिकरण संयोजक केसीसँगै स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानबहादुर नेपालीले गरिरहनुभएको छ ।