नेपालगन्जः कोरोना भाइरस (कोभिड–१९) खोपको ४० लाख मात्रा प्रयोगविहीन छ । चीन सरकारको सहयोगमा १५ महिना अघि आएको उक्त सिनोभ्याक खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा थन्किएको छ । सरकारले सो खोप चीनबाट विशेष विमानमार्फत ल्याएको थियो । १८ वर्षभन्दा माथिका व्यक्तिले मात्रै लगाउन मिल्ने यसको म्याद अबको ७ महिनापछि सकिँदै छ ।
यस खोपलाई बुस्टर खोपको रूपमा प्रयोग गर्न नमिल्ने भएकाले भण्डारणमा सीमित भएको विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले बताउनुभयो । ‘यो खोप पहिलो र दोस्रो मात्रा खोपको रूपमा प्रयोग गर्न मात्रै सकिन्छ,’ उहाँले भन्नुभयो–‘नेपालमा पहिलो, दोस्रो मात्रा लक्षित समूहले पूर्ण रूपमा लगाइसकेको अवस्थामा यो खोप लगाउन सकिएन ।’
सिनोभ्याक खोप पहिलो र दोस्रो मात्रा लगाएकाहरू बिरामी हुनबाट ६९ प्रतिशत प्रभावकारी हुने भनिएको छ । त्यस्तै, यो खोपले अस्पताल भर्ना दर ६४।६ प्रतिशत घटाउने भनिएको छ । विश्व स्वास्थ्य संगठनले सिनोभ्याक–कोरोनाभ्याक खोपलाई बुस्टरका रूपमा प्रयोग अनुमति नदिएपछि भण्डारणमा सीमित भएको हो ।
सरकारले विगतमा लक्षित समूहमध्ये ९९.५ प्रतिशतले एक मात्रा लगाएका छन् भने ९५।७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । हालसम्म बुस्टर डोज खोप एक करोड बढीले लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । कोभिड–१९ विरुद्धको खोप अधिकांशले लगाएकाले भण्डारमा रहेको खोप नेपालमा उपयोगमा नआउने चौरसियाले बताउनुभयो ।
विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले केन्द्रीय भण्डारणमा स्टक रहेको ४० लाख मात्रा खोपबारे छलफल भइरहेको बताउनुभयो । परिवार स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा र खोप सल्लाहकार समितिले स्वास्थ्य मन्त्रालयलाई के गर्ने भनेर मन्त्रालयलाई फाइल पठाएको छ । तर यसबारे निर्णय नभएको उहाँले बताउनुभयो । मन्त्रालयले पहिलो, दोस्रो मात्रा खोपका नलगाएका राष्ट्रमा उपलब्ध गराउन खोजे पनि त्यसको माग नभएको सहप्रवक्ता डा।समीरकुमार अधिकारीको भनाइ छ । डब्लुएचओले कोभिड–१९ ले निम्त्याएको विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गरेको अवस्थामा अन्य राष्ट्रले खोप लैजाने सम्भावना पनि न्यून छ ।