हुन त शरीरका हरेक अंगको आ–आफ्नै महत्व र विशेषता छन् । त्यसमध्ये कलेजो यस्तो अंग हो, जसले पाचन क्रियामा सघाउनेदेखि शरीरका विषालु पदार्थ अलग गर्नेसम्मको काम गर्छ । कलेजो हाम्रो शरीरको भित्रि अंगमध्ये सबैभन्दा ठूलो अंग हो । यो शरिरको तौल, उमेर अनुसार लगभग एक–साढे एक केजीको हुन्छ ।
कलेजोले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र अल्बुमिन जस्ता थुप्रै तत्वहरु बनाउँछ । यसका काम अनेकौं हुन्छन् । यसमध्ये पनि मुख्य भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो । हामीले खाएको खाना कलेजोमा स्टोर गर्छ र सुगर तथा पोषिलो तत्व बढेको हुन्छ । नखाएका बेलाका लागि पनि यसले ‘व्यालेन्स’ गरिराखेर व्यवस्थापन गर्छ ।
केही हानिकारक कुरा खाइएमा त्यसलाई फाल्ने काम पनि कलेजोले गर्छ । हामीले खाएका औषधि कलेजोमा गएर मेटाबोलाइज हुन्छन् । कलेजो यस्तो अंग हो जहाँ समस्या आउँदा समस्याग्रस्त भाग काटेर फाल्न सकिन्छ र नयाँ पलाउँछ ।
कलेजोमा किन आउँछ समस्या ?
कलेजोमा धेरै जस्तो समस्या आउनुको कारण भनेको मदिरा सेवन नै हो । अर्को कुरा मोटोपनका कारण पनि कलेजोमा समस्या आउँछ । हेपाटाइटिसले पनि कलेजोमा समस्या निम्त्याउँछ । हेपाटाइटिस ‘ए’, ‘बि’, ‘सी’ र ‘इ’ ले जण्डिस बनाउँछ । लुम्विनी प्रदेशमा थारु र मगर समुदायको बसोबास बढी छ । बंशानुगतरुपमा छोराछोरीमा हेपाटाइटिस ‘बि’ सर्दै गएको देखिन्छ । हेपाटाइटिस ‘सी’को कुरा गर्दा यो सबैभन्दा धेरै लागुऔषध प्रयोगकर्ताबाट सर्छ । जथाभावी सुई लगाउने वा ट्याटु खोप्ने गर्दा सर्न सक्छ। शरीरमा अरुको रगत चढाउँदा पनि परीक्षण गरेर मात्र गर्नुपर्छ । हेपाटाइटिस ‘ए’ र ‘इ’ सरुवा हुन्छन् जसलाई जण्डीस पनि भनिन्छ । यो पानीबाट सर्छ जसले कलेजो संक्रमण गर्छ । हेपाटाइटिस ‘बि’ र ‘सी’ले भने लामो समय दुःख दिन्छन् ।
कस्ता हुन्छन् लक्षण ?
बारम्बार जण्डिस देखिनु
बारम्बार जण्डिस देखियो भने कलेजोमा समस्या आएको हो की भनेर एक पटक विशेषज्ञ चिकित्सकलाई देखाउनै पर्छ । जण्डिस देखियो भने धेरैले आयुर्वेद औषधी सेवन गर्ने गरेका छन् । कतिपय सवालमा यसले ठिक गर्ने भन्दा झन विगार्ने काम गर्छ । सकेसम्म विशेषज्ञ चिकित्सकलाई नै देखाउँदा उपयुक्त हुन्छ ।
छालामा दाग आउनु
कलेजो खराब भएको वा कमजोर भएको स्थितिमा छालामा संकेत देखिन थाल्छ । त्यो भनेको छालामा दागहरु देखिन थाल्छन् ।
पिसाबको रंग बदलिन्छ
कलेजो खराब भएको स्थितिमा पिसाबको रंग बदलिन्छ । यस्तो अवस्थामा पिसाबको रंग गाढा देखिन्छ । अर्थात तोरीको तेल जस्तैजस्तै । यसैगरी जन्डिसमा जस्तै नङ एवं आँखाको भाग पहेंलो हुन्छ ।
अपच
कलेजोमा खराबी आए खाना खान मन लाग्दैन । खाएको पनि राम्ररी पच्दैन । पेटमा ग्यास बढ्छ । पेट फुलिन्छ । यी लक्षण देखिए कलेजो खराब भएको बुझ्न सकिन्छ । र, कतिपयको सवालमा वेहोसीपन पनि देखिन सक्छ ।
उपचार के हो ?
कलेजो बिग्रेको कारण अनुसार यसको उपचार गर्नुपर्छ । रक्सी वा कुनै औषधिका कारण कलेजो खराब भएको भए पहिले ती कुरा खान बन्द गर्नुपर्छ । राम्रो खाना र आराम भयो भने बिस्तारै समस्या कम हुँदै जान्छ । रोगै लाग्न नदिनु भनेको त आफ्नो जीवनशैलीलाई अनुशासित बनाउनु नै हो । रक्सी पिउनै भएन । मोटोपन छ भने घटाउनु पर्यो ।
बेलाबखत हेपाटाइटिस ‘बि’ जाँच्नुपर्छ । सामान्य मानिसमा पनि यो समस्या हुनसक्छ । नेपाल सरकारले हेपाटाइटिस ‘बि’ को भ्याक्सिन दिने गरेको छ । यो खोप नलगाउनेले एकपटक परीक्षण गर्नु राम्रो हुन्छ । दीर्घकालीन हेपाटाइटिसमा पनि कारण पत्ता लगाई उपचार गरिनुपर्छ । कारण रक्सी भए बन्द गरेर वा कलेजोमा बोसो जमेको भए तौल घटाएर उपचार गर्नुपर्छ । बोसो जमेको भए चिल्लो कम खाने, व्यायाम गर्ने र आवश्यक परेमा औषधि पनि खानुपर्छ
लापरबाही गरे के हुन्छ ?
कलेजो बिग्रिएको बेला यसलाई चाहिने पोषण नभए झनै समस्या समाधान हुँदैन । जथाभावी औषधि खाने वा हेलचेक्र्याँइ गरेमा कलेजो सुन्निने, रगत नै वान्ता हुने लगायतका समस्या आउँछन्। त्यो अवस्थामा कलेजोले काम गर्न छाडेको हुन्छ । जसको उपचार भनेको कलेजो फेर्नु हो । त्यसैले यहाँसम्म पुग्नुअगावै जाँच गराउनुपर्छ । समयमै कलेजोको समस्या पहिचान र उपचार गर्न सकियो भने यसलाई जोगाउन सकिन्छ ।
को हुनुहुन्छ डा.अच्युत विक्रम हमाल ?
नवलपरासीको बर्दाघाटमा वि.स २०४० सालमा जन्मिनुभएका डा.अच्युत विक्रम हमाल पढ्नमा अव्वल हुनुहुन्थ्यो । वि.स २०५५ सालमा सयपत्री इंग्लिस स्कुलबाट एसएलसी उर्तिण गरेपछि उहाँले आइएसी भने काठमाडौंको डन बस्को कलेजबाट वि.स २०५८ सालमा गर्नुभयो । वि.स २०६४ सालमा वीपी स्वास्थ्य प्रतिष्ठान धरानबाट पूर्ण छात्रवृत्तिमा उहाँले एमबीबीएस गर्नुभयो ।
त्रिभुवन युनिभर्सिटी टिचिङ अस्पताल महाराजगन्जबाट वि.स २०६९ सालमा छात्रवृत्तिमा एमडी गर्नुभएका डा.हमालले वि.स २०७७ सालमा न्याम्सबाट हेपाटोलोजीमा डिएम गर्नुभयो । उहाँ नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इनेस्पेक्टर)को रुपमा वि.स २०७१ सालमा सेवा प्रवेश गर्नुभएको हो । वि.स २०७३ सालमा लोक सेवा आयोगले नेपाल प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक (डिएसपी)तर्फ खोलेको आवेदनमा एक नम्वरमा नाम निकाल्न सफल हुनुभयो ।
त्यसको ८ वर्षपछि उहाँ प्रहरी उपरीक्षक (एसपी)मा बढुवा हुनुभयो । हाल नेपाल प्रहरी अस्पताल नेपालगन्जमा कार्यरत डा.हमाल यसक्षेत्रका अव्वल कलेजरोग विशेषज्ञ हुनुहुन्छ । कलेजो रोगमा विशेषज्ञता हासिल गर्नुको कारण उहाँको फरक । पढाईमा अब्बल डा.हमाललाई नयाँ बिषयमा अध्ययन गर्ने हुटहुटी सधैं भइरहन्थ्यो ।
कलेजो रोगमा विज्ञता हासिल गर्नु भनेको नौलो थियो । किनभने यो एउटै विषयमा विशिष्टिकृत खालको अध्ययन हो । यसको एमडी पढाई नेपालमा वीर अस्पतालबाहेक अन्त हुँदैन । भारतमा पनि तीन ठाउँमा मात्रै पढाइ हुन्छ ।
नेपालमा डिएम हेपाटोलोजीको आवश्यकता र सम्भावना देखेरै उहाँले यो बिषयमा विज्ञता हासिल गरेको सुनाउँनुहुन्छ । नेपालगन्जको ओलास्का रामारोशन मेडिकल हलबाट समेत यसक्षेत्रका बिरामीलाई कलेजो रोगको निदान, उपचार र परामर्श सेवा दिँदै आउनुभएको छ ।
(कलेजो रोग विशेषज्ञ डा. हमालसँग स्वास्थ्य पेजका लागि प्रियास्मृति ढकालले गर्नु भएको कुराकानीमा आधारित)