काम वा व्यायाम गर्दा थकान महसुस हुनु स्वभाविक नै हो । थकानले शरीर कडा हुनु, दुखाइ हुनु, मुड खराब हुनु सामान्य हो । तर यी समस्या दिनहुँजसो अनुभव हुन्छ भने चाहिं समस्या हुन्छ । यो फाइब्रोम्याल्जियाको लक्षण पनि हुन सक्छ ।
फाइब्रोम्याल्जिया बाथरोगको एक प्रकार हो । शरीरमा एक हड्डीले अर्को हड्डीलाई जोड्ने लिगामेन्ट, हड्डीलाई मासुसँग जोड्ने लिगामेन्टमा समस्या आएमा फाइब्रोम्यालजिया भएको बुझिन्छ । यो यस्तो समस्या हो, जसलाई सही समयमा उपचार हुँदा ठीक हुन पनि सक्छ तर पहिचान नहुँदा समस्या बढ्दै जान्छ । यसले कामदेखि दैनिक गतिविधिलाई नै असर गर्न सक्छ ।
फाइब्रोम्यालजिया हुनुको कारण
फाइब्रोम्याल्जिया प्राइमरी र सेकेण्डरी गरी दुई किसिमका हुन्छन् । सामान्य बाथरोग भएमा त्यसलाई प्राइमरी कारण मानिन्छ । यो कडा खालको नहुन पनि सक्छ । यस्तो अवस्थामा मोटोपन, भिटामिन डीको कमी, थाइराइड अनियन्त्रित भएमा आउन सक्छ ।
कुनै कारणवश दुर्घटनाले पोस्टट्रमाटिक डिसअर्डर भएर पनि फाइब्रोम्यालजिया हुन सक्छ । त्यस्तै, कडा खालको बाथरोग पहिलेदेखि भएकालाई समस्या देखिएमा सेकेण्डरी फाइब्रोम्यालजिया भनिन्छ । जसमा कडा बाथरोग अनियन्त्रित भएर हुन सक्छ ।
बाथरोग भएकाहरु यसको जोखिममा हुने भएकाले अस्वस्थकर जीवनशैली पनि एक कारक मानिन्छ । बाथरोग प्रायः महिला नै हुन सक्छ, त्यसैले फाइब्रोम्यालजिया पनि बढी महिलामा देखिन्छ ।
लक्षण
फाइब्रोम्याल्जियाको समस्या जुनसुकै उमेरमा हुन सक्छ । बिरामीलाई शारीरिक समस्यासँगै मानसिक समस्या पनि हुन्छ ।
-शरीरको कुनै पनि भागमा कडा दुखाइ ।
-शरीर भारी हुने, बिहान उठ्दा शरीर फूर्तिलो नहुने ।
-अनुहारको मांसपेशी र वरपरका तन्तुमा दुखाइ र थकान हुने ।
-बिहान जोर्नी र मांसपेशी कक्रक्क हुने ।
– मुड स्विंगा हुने ।
-टाउको दुख्ने ।
-निद्रामा समस्या हुने ।
-इरिटेबल बोवेल सिन्ड्रोम देखा पर्ने ।
-हात र खुट्टामा झनझन गर्ने र सुन्निने ।
-स्मरण र एकाग्रता समस्या हुने ।
-तनाव वा डिप्रेसनको समस्या हुने ।
-थकान महसुस भइराख्ने ।
-कडारोगको बाथरोगको लक्षणको रुपमा पनि देखिन सक्ने ।
पहिचान तथा उपचार
यसको पहिचानका लागि छुट्टै परीक्षण हुँदैन । त्यसैले पहिला नै बाथरोग छ कि छैन भनेर हेरिन्छ । लक्षणको आधारमा यकिन गरिन्छ । अन्य रोग छ कि छैन पहिचान गर्न रगत परीक्षण र इमेजिङ गर्न सकिन्छ ।
यसको सबैभन्दा महत्वपूर्ण उपचार चिकित्सकीय परामर्शमा फिजियोथेरापी हो । लक्षण अनुसारको उपचारलाई प्राथमिकता दिइन्छ । कुनै दीर्घरोग छैन भने फिजियोथेरापी गर्ने, शरीरमा लचकता बढाउने शारीरिक अभ्यासमा विशेष ध्यान दिनुपर्छ । ध्यान, योग गर्दा आफैं हराएर जान पनि सक्छ । केहीमा भने लक्षण बढ्दै गएर उपचार पनि भइरहेको छ भने मानसिक उपचारको पनि आवश्यक पर्न सक्छ ।
त्यस्तै दीर्घरोगसँगै फाइब्रोम्याल्जिया पनि देखिएको छ भने दीर्घरोगकै उपचार हुन आवश्यक हुन्छ । थाइराइडको जटिलता देखिए त्यसको उपचार गर्ने रोगको प्रकृतिअनुसार औषधि दिइन्छ । त्यसको मात्रा हेरेर डोज थपिन सक्छ । स्वस्थ आहार, औषधि उपचार गर्नुपर्छ । औषधि रोग अनुसार डोज बढाइन्छ ।
फाइब्रोम्याल्जिया पनि एक खालको बाथ भएकाले दाल, गेडागुडी, माछा मासु बार्ने चलन छ ।
जटिलता
नेपालमा यो रोगको पहिचान गर्ने जनशक्ति विकास कम भएको कारण यतिमा देखिन्छ भन्ने जस्ता तथ्यांक छैन । पहिचान हुन नसकेका तर थुप्रैमा रोग लागेको हुन सक्ने अनुमान गर्न सकिन्छ । उपचार नहुँदा लक्षण बढ्दै मानसिक समस्या हुन सक्छ । व्यक्ति स्फूर्ति छैन, निन्द्रा पनि छैन र उपचार नहुँदा जटिल खालको मानसिक समस्यातर्फ जान सक्छ । कसैमा दीर्घ रोगको उपचार नै नगराई फाइब्रोम्याल्जियाको मात्र उपचार गराउँदा पनि जटिलता बढ्न सक्छ ।
गलत उपचारले जटिलता बढ्दै
जोर्नी दुख्ने बित्तिकै बाथरोग भन्ने बुझिन्छ तर यो जोर्नी नदुख्दा पनि आउन सक्छ । लक्षणलाई ठम्याउन नसकेर र अस्पताल नपुग्दा धेरै गलत उपचार भइरहेका छन् । जस्तै, निद्रा नलागेमा जथाभावी औषधि किनेर खाने, शरीर दुख्दा फ्लेक्जन खाने, परीक्षण बिना नै आयुर्वेदिक औषधि खाइदिने गर्दा पैसासँगै रोग पनि बढ्दै जाने गर्छ । त्यसैले यस्ता लक्षण देखिए तुरुन्त बाथ रोग विशेषज्ञलाई देखाउन आवश्यक छ ।
रोकथाम
-धुम्रपान र मदिरापान नगर्ने ।
-आहारमा धेरैभन्दा धेरै फलफूल र तरकारीहरू समावेश गर्ने ।
-दिनमा ८ देखि १० गिलास पानी पिउने ।
-जंकफुड सकेसम्म नखाने ।
-नियमित व्यायाम गर्ने ।
-वजन नियन्त्रण गर्ने ।
-दीर्घरोग नियन्त्रणतर्फ लाग्ने ।