त्यसदिन मेरो नाइट ड्युटी थियो। एनआईसीयू वार्डमा कार्यरत म त्यसदिन पनि ३ वटा धेरै कम तौल भएका बच्चाको केस सम्हालीरहेकी थिएँ। त्यसैबीच राति ८:३० बजे एक दम्पती हस्याँङ-फस्याँङ गर्दै ‘डाक्टर साब हुनुहुन्छ’? भन्दै हातमा एउटा सानो चरा जत्रो देखिने बच्चा लिएर आउनुभयो। बच्चालाई हेर्दा नै नाजुक अवस्थाको, नाकदेखि रगत बगिराखेको देखिन्थ्यो। मैले सोधीहालेँ- कहिले, कहाँ प्रसूति भएको, यहाँ किन लिएर आउनुभयो?नेपालगञ्जको राम्रो मानिने सुविधा सम्पन्न एक नर्सिङ होमको नवजात सघन उपचार कक्षमा उहाँले पहिले नै भर्ना गरी ६ दिनको बसाईपछि अस्पतालले अब २० प्रतिशत मात्र चान्स छ के गर्नुहुन्छ? भन्दा घर लान्छु भनेर अन्तिम अवस्थामा घर लिएर आउनु भएको रहेछ। उहाँका अनुसार धेरै महँगो औषधि त्यही माथि आफ्नो आर्थिक अवस्था नाजुक र २० मात्र चान्स भनेको हुनाले आश मारेर घर लिएर आउनु भएछ।
पहिला नै धेरै ठाउँमा नशा ओपन भएको हुँदा मलाई पनि गाह्रो भयो। जति गाह्रो भएता पनि बच्चाको ज्यान बचाउनु नै थियो। हामीले सबै कुरा राम्रोसँग काउन्सीलिंङ गर्याैँ र आफ्नो बेस्ट दिने प्रयास गर्याैँ। त्यसको रिजल्ट जे जस्तो हुन्छ सजिलै अपनाउन सक्नुपर्छ भन्ने कुरा बतायौ र बच्चाको उपचार सुरु भयो। जिल्ला अस्पताल न्यून श्रोत, साधन र कम जनशक्तिका बावजुत पनि उपचारमा लागियो।
त्यस भन्दा पहिला कुनै पनि यस्तो किसिमको क्रिटिकल केस व्यवस्थापन नगरेको र एक्कासी यति सानो तौल भएको बच्चालाई कसरी व्यवस्थापन गर्ने भन्ने अर्को डर छँदै थियो। डाक्टरले बच्चालाई तुरुन्त सी-प्यापमा राख्न निर्देशन गर्नुभयो। डाक्टरले भने बमोजिम सी- प्यापमा राखियो। त्यो सी- प्यापमा बनाउन पनि नयाँ आरएलको बट्टा खाली गरेर त्यसमा डिस्टिल वाटर भरी १० सेन्टिमिटर लेवेल गर्दै एउटा आइभी सेट काटेर नसल क्यानुलासँग कनेक्टगरी अक्सिजनमा सेट गरी तयार गरियो।
नयाँ सुचारु गरेको वार्ड, अपर्याप्त मेडिकल उपकरणका बावजुत पनि बच्चाको उपाचार हुँदै गयो। तर पनि उसको नारीको चाल नर्मल भन्दा धेरै नै बढिरहेको थियो।
अब जान्छ कि जस्तो पनि लागिराखेको थियो। त्यहीमाथि कडा खाले एन्टिबायोटिक पाइपरासिलिन तथा अन्य औषधि क्याल्सियम ग्लुकोनेट, डोपामाइन जस्ता औषधि २४ घण्टा दिइरहेका थियाैँ। बारम्बार नशा सुन्निने लगाएत एकपछि अर्को समस्या झन् झन् थपिँदै गयो। नसा खोल्ने ठाउँ कहिँ कतै बाँकी रहेन।
बच्चाको नशा खोल्न कहाँ भने जस्तो सजिलो छ र त्यही माथि त्यो सानो तौलको बच्चा।डरकरमा भए पनि बच्चाको केयरमा कुनै कमि नराखी निरन्तर लागि परियो। सबै नशा खोल्ने ठाउँ नभएर अन्तिममा अम्ब्लिकेल्भेन क्याथेटेरीजेसन ओपन गर्ने निधो गर्याैँ। २ घण्टा भन्दा बढी समय लगाएर नेपालञ्जदेखि सामान मगाएर ओपन गरियो र राम्रो पनि भयो। कहिले नदेखिएको प्रोसिड्युअर यही बेला सिक्ने मौका मिल्यो।
यसरी उपचारको सिलसिला जारी रह्रयो। अझ पनि बच्चाको राम्रो अवस्था थिएन, कति बेला कसको सिफ्टमा बच्चा जान्छ भन्दै डर कर मै काम गरियो। समय बित्दै गयो नयाँ औषधिको बारेमा पनि थाहा हुँदै गयो। यसरी महिना दिनसम्म उपचारको क्रम चलीरह्यो। बीचमा समस्या नआएको हैन तर पनि एउटा टिमवर्क भएकोले केही हदसम्म सजिलो भयो। सबै महँगो उपचार भएता पनि सबै जाँच र आवश्यक औषधिलगायत अन्य सहयोग अस्पताल प्रशासनले उपलब्ध गराई निःशुल्क उपचार गर्न सहयोग गरिरहेको थियो।
साथै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुभाष पाण्डेय सरले बिरामीको सम्पूर्ण आवश्यक व्यवस्था मिलाई हामीलाई हौसला प्रदान गरिराख्नुभएको थियो। बर्दिया अस्पतालमा एनआइिसयू सेवा संचालनमा रहेता पनि अस्पतालमा रहेको एउटा मात्र भेन्टिलेटरलाई प्रयोग गरेर एनआइसीयूको सेवा प्रदान गरी सम्पूर्ण उपचार निःशुल्क गरिएकोले अभिभावकलाई सजिलो भएको छ। पहिलो सन्तानको रुपमा जन्मेको बच्चाको तौल सोचे जस्तो बढ्न सकेन तर पनि उसको अवस्था सामान्य हुँदै गयो।
यसरी ३८ दिनको बसाईपछि तौल १६०० ग्राम भयो। अब डिस्चार्ज दिने सल्लाह भयो। त्यो भन्दाअघि देखिनै हामीले गरिने केयर आमालाईपछि आउन सक्ने समस्याको बारेमा राम्रोसँग जानकारी दिइयो। मिति २०७९-०५-०२ गते साँझको समयमा डिस्चार्ज गरियो। आजको दिनमा पनि फ्लोअप निरन्तर छ।
सिमित स्रोत र साधन, न्यून तालिम प्राप्त जनशक्ति, यति सानो जिल्लाको अस्पतालमा पनि यस्तो खालको जटिल समस्या भएको धेरै कम तौल भएको नवजात शिशुलाई पनि दृढ इच्छाशक्ति र आफ्नो पेशा प्रतिको लगाब भएमा सहज व्यवस्थापन गर्न सकिँदो रहेछ।
(स्टाफ नर्स शर्मा बर्दिया अस्पताल, गुलरियामा कार्यरत हुनुहुन्छ )