कोहलपुर: कोहलपुर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि सचेतनामूलक अभियान थालेको छ । कोहलपुर नगरपालिका क्षयरोग मुक्त अभियानका संयोजक राजु केसीका अनुसार नगरपालिकालाई क्षयरोग मुक्त बनाउनका लागि सचेतिकरण अभियान सुरु गरिएको हो ।
क्षयरोगका बिरामी, बिरामीका परिवार तथा स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरेर क्षयरोग के हो ? यसका लक्षण, अपनाउनु पर्ने सावधानी लगायतका बारेमा जानकारी दिने काम सुरु गरिएको केसीको भनाइ छ । कोहलपुरमा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म १ सय ३२ जना क्षयरोगीका बिरामी फेला परेका छन् ।
आजमात्रै कोहलपुर नगरपालिका वडा नं.७ र १४ मा क्षयरोगका बिरामी, बिरामीका परिवार तथा स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरिएको छ । यसअघि वडा नं.१, २ र ३ मा पनि यस्तै अन्तरक्रिया सम्पन्न भइसकेको छ । कोहलपुर नगरपालिकाभित्र ४ वटा डट्स सेन्टर छन् । कोहलपुर नगर अस्पता, रझेना आधारभूत स्वास्थ्य केन्द्र, कोहलपुर नगर स्वास्थ्य प्रबद्र्धन केन्द्र अकलघरुवा र मेडिकल कलेज कोहलपुरमा डट्स सेन्टर रहेका छन् ।कुपोषित बालबालिका तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, मध्यपान र ध्रुमपान गर्नेमा क्षयरोगको जोखिम बढी हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
के हो क्षयरोग ?
क्षयरोग माइकोब्याक्टीरीयम ट्युबरक्युलोसिस नामक जीवाणुका कारण लाग्ने रोग हो। यो उक्त जीवाणुबाट प्रभावित मानिसले खोक्दा वा हाछ्युँ गर्दा निस्किने साना कणबाट अरू मानिसमा सर्ने सम्भावना उच्च रहन्छ। सङ्क्रमितमार्फत् जीवाणुहरू वातावरणमा निस्कन्छन्। त्यहीँ रहेका निरोगीहरूले सास फेर्दा त्यो उनीहरूको शरीरमा प्रवेश गर्छ । त्यसरी प्रवेश गरेको जीवाणुले फोक्सोलाई प्रभावित पार्ने र त्यहीँमार्फत विभिन्न अङ्गमा फैलने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
के हुन् यसका लक्षण र अपनाउनु पर्ने सावधानी ?
क्षयरोग लागेका मानिसहरूमा शारीरिक कमजोरी अत्यधिक देखिने स्वास्थ्यकर्मीहरू बताउँछन्। शरीरको तौल अप्रत्याशित घट्नु, लगातार तीन सातासम्म खोकी लाग्नु, खकार निस्कनु र त्यसमा रगत देखिनु अन्य लक्षण भएको उनीहरुको भनाइ छ । त्यस्तै शरीरबाट रातको समयमा धेरै पसिना बग्नु, मुख सुख्खा हुनु, अरुचि बढ्नु अन्य लक्षण भएको स्वास्थ्यकर्मी बताउँछन् । यस्ता लक्षण देखिएका वा क्षयरोग पुष्टि भएका मानिसहरूले अनिवार्य मास्क लगाउने, भिडभाडमा नजाने गरे क्षयरोग सर्नबाट रोकिने सुझाव स्वास्थ्यकर्मीले दिन्छन्। उनीहरूको वरपर रहनेले पनि मास्क लगाउने वा धेरै नजिक नजाने गरे सङ्क्रमण नियन्त्रण सम्भव छ। यसको अर्थ बिरामी आइसोलेशनमै बस्नु पर्छ भन्ने हो ।