गर्मी मौसम सुरु हुनासाथ फेसनप्रेमीहरु हर्षित हुन्छन् । किनकि जाडोका बाक्ला र भद्दा लुगालाई थन्काएर आफूलाई मनपर्ने छरिता र फिट पहिरन लगाउन पाइन्छ । फेसन उद्योगहरुले पनि गर्मीयामलाई नै लक्षित गरेर नयाँ नयाँ पहिरन बजारमा ल्याउने गर्छन् । एक त चर्को घामबाट शरीरलाई शीतलता प्रदान गर्नु र अर्को आकर्षक देखिनु दुवै कुरालाई तालमेल मिलाउनुपर्ने हुन्छ । अहिलेको गर्मीयाममा विशेषगरी गत वर्षजस्तै र केही परिमार्जित पहिरन शैली चल्ने ट्रेण्ड देखिन्छ ।
बेली पाइन्टलाई हिजोआव फर्मल डे«सअपमा मिक्स गरेर लगाउने चलन बढेको छ । यो पाइन्ट कडा र नरम दुवै खालको जिन्समा उपलब्ध हुन्छ । यसलाई अहिले चलेका जुनसुकै डिजाइनका सर्ट वा टिसर्टमा लगाउँदा सुहाउँछ ।
लाइक्रा स्ट्रेचेबल फर्मल पाइन्ट र टिसर्ट
बेलीपछि अहिले गर्मी मौसमको लागि सजिलै लगाउन तथा धुन सजिलो स्ट्रेचेबल लाइक्रा कपडाबाट बनेका फर्मल पाइन्ट र टिसर्ट पनि अहिले चल्तीमा छ । यसमा आफूलाई मनपर्ने रङका पाइन्ट-सर्ट छानीछानी लगाउन सकिन्छ । यो पनि अफिसियल र क्याजुअल वेयरको रुपमा लगाएको पाइन्छ । यो केटाकेटी दुवैले लगाउने गरेको पाइन्छ ।
सफ्ट जिन्स
सफ्ट जिन्स पनि अहिले युवतीहरुले निकै रुचाएका छन् । किनभने नरम जिन्स लगाउन सहज हुनुका साथै यो विभिन्न रङमा उपलब्ध भएकाले पनि यो पहिरन रोजाइमा परेको हो । यसलाई फर्मल र क्याजुअल दुवै रुपमा प्रयोग गर्न सकिन्छ । अहिले चलनचल्तीमा रंगीन पाइन्ट छन् ।
स्कर्ट सदाबहार समर पहिरन
युवतीहरुका लागि स्कर्ट गर्मीयामको सदाबहार पहिरन हो भन्दा पनि हुन्छ । घुँडाभन्दा माथिसम्म आउने खालका स्कर्ट अहिले चल्तीमा छ । त्यसमा सुहाउने टिसर्ट र सर्ट लगाउन सकिन्छ । स्कर्ट अहिले कोरियन शैलीको धेरै रुचाइन्छ ।
सर्ट-टिसर्ट
ओपन नेक, क्लिभेज देखिने खालका, पफ स्लिभ (बाहुलामा पुक्क परेको) सर्ट वा टिसर्ट अहिले एकदमै चलेका छन् । यी पहिरनले पनि यस वर्षको गर्मीयाममा निरन्तरता पाउने देखिन्छ ।
यसबाहेक क्रप टप, सिल्क र प्रिन्टेट जर्जेट कपडाका सर्ट युवतीहरुको रोजाइमा परेका छन् । यी सर्ट-टिसर्ट बेली पाइन्ट, नरम जिन्स र लाइक्रा कपडाका पाइन्टमा र स्कर्टमा लगाउने गरेको पाइन्छ ।
कस्ता रंगका कपडा ?
आँखालाई शीतल दिने किसिमका अहिले चलेका रंग जस्तै, क्रिम, ल्याभेन्डर क्रिम, फिक्का पिंक, निलो, कागती जस्तो पहेंलोलगायत रंग बढी रुचाएको पाइन्छ । यसबाहेक पहेंलो, हरियो, कालो, रातो, सेतो खरानीलगायत विभिन्न रंगका सर्ट, पाइन्ट, टिसर्ट, स्कर्ट रुचाउने गरेको पाइन्छ ।