नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा एचआइभी/एड्सको रोकथाम, परीक्षण, उपचार र हेरचाहका लागि सुरु भएको परियोजना पाँच वर्ष थप भएको छ । एचआइभी/एड्सको उपचार र हेरचाह प्रदायक गैर–नाफामुलक अन्तराष्ट्रिय संस्था एड्स हेल्थ केयर फाउण्डेसन (ए.एच.एफ) द्धारा परियोजना सुरु भएको परियोजना संयोजक सञ्जय पौडेलले जानकारी दिनुभयो ।
परियोजनाबारे आज नेपालगन्जमा सरोकारवालासँग गरिएको अन्तरक्रिया कार्यक्रममा पौडेलले पाँच वर्षको अवधिमा ९७ जना नयाँ एचआइभी संक्रमित पत्ता लगाउने लक्ष्य राखिएको जानकारी दिनुभयो । यो अवधिमा ४ हजार ३ सय ५० जनाको एचआइभी परीक्षण गरिने, ६ सय ४७ जनाको भाइरल लोड जाँच गरिने, ६ सय ४७ जनालाई सेवाको पहुँचमा ल्याउने, ५० हजार गोटा कण्डम वितरण गर्ने लक्ष्य लिइएको पनि पौडेलको भनाइ छ ।
उहाँले यो परियोजनाको मुख्य लक्ष्य भनेकै नेपाल सरकारलाई दीगो विकास लक्ष्उ र राष्ट्रिय एचआइभी रणनीति योजना २०२१–२०२६ ले परिकल्पना गरेको लक्ष्य प्राप्ती गर्नका लागि एचआइभीको सेवा गुणस्तरीय बनाउँदै एआरटी केन्द्रहरुबाट सेवा प्रदान गर्न सहयोग पुर्याउनु रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.बद्री चापागाईले परियोजना थप भएपछि अस्पतालको एआरटी सेवा थप गुणस्तरीय हुने र सेवाग्राहीले लाभ पाउने विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालका एआरटी फोकल पर्सन डा.संकेत रिसालले परियोजना थप भएपछि सेवा प्रवाहमा गुणस्तरीयता, हेरचाह र पहुँचमा बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भेरी अस्पतालमा अहिले नियमित ६ सय ५० बढीले एआरटी सेवा लिँदै आएको पनि डा.रिसालले बताउनुभयो । कार्यक्रममा भेरी अस्पतालका नर्सिङ प्रमुख दुर्गा श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, भेरी अस्पतालका फिजिसियन डा.पारश श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका निमित्त प्रमुख जागेश्वर बस्नेत लगायतले एचआइभी एड्स रोकथाम, उपचार र निदानमा परियोजना सहयोगी बन्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा एचआइभी एड्सका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।