नेपालगन्जः बाँकेमा भोलिदेखि सुरु हुने भनिएको राष्ट्रिय भिटामिन ‘ए’ अभियान रोकिएको छ । प्रदेश सरकारले पठाएको भिटामिन ‘ए’ क्याप्सुल गुणस्तरहीन भएको पाइएपछि लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयले पूर्वसन्ध्यामा आफै भिटामिन ‘ए’ अभियान स्थगित गरेको हो ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र बुटवलबाट चैतको ७ गते ह.फा.न. R 490/79/80/0528 मार्फत उपलब्ध गराइएको भिटामिन ‘ए’ (MFG.LIC.NO:10/SC/POF1995, EXP DATE APRIL2023, MFG DATE :MAYA2021BATCH NO: AAE-12-4) क्याप्सुल गरिद गरिएको थियो । त्यही भिटामिन ‘ए’ मन्त्रालयले बाँकेमा पठाएको थियो ।
स्वास्थ्य कार्यालयले आठवटै स्थानीय तहमा भिटामिन ‘ए’ पठाइसकेको थियो । सम्बन्धित पालिकाले भिटामिन ‘ए’ खुवाउन महिला स्वास्थ्य स्वयसेविकालाई वितरण समेत गरिसकेका थिए । बाँकेमा ७ सय ८१ महिला स्वास्थ्य स्वयसेविका छन् । बाँकेमा ८० हजार बढी भिटामिन ‘ए’ क्याप्सुल प्रदेश स्वास्थ्य मन्त्रालयबाट प्राप्त भइ पालिकाहरुमा वितरण भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले पनि नहेरि वितरण गरेर गम्भीर लापरवाही गरेको छ । ८० हजार बढी क्याप्सुल वितरण गर्दा पनि एकपटक भिटामिन क्याप्सुलबारे अध्ययन/अनुगमन नगरि वितरण गर्नु असाध्यै हेलचेक्र्याइ हो । क्याप्सुलको प्रयोग मिति समेत निकै कम रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
पालिकाहरुले भिटामिन ‘ए’ को क्याप्सुलको रंग परिवर्तन भएको रिर्पोटिङ स्थानीय तहले गरेकाले तत्काल वितरण नगर्न रोक लगाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य आपूर्ति केन्द्रको गम्भीर लापरवाही कारण बाँकेमा राष्ट्रिय भिटामिन ‘ए’ अभियान प्रभावित भएको हो । ‘समयमै भिटामिन ‘ए’ क्याप्सुल गुणस्तरहीन भएको जानकारी प्राप्त भएकाले एउटा दुर्घटना टर्यो एक जना स्वास्थ्यकर्मी भन्छन्–‘गुणस्तरहीन भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदा बालबालिकाको स्वास्थ्यमा अर्को समस्या पर्न सक्थ्यो । धन्न् जोगियो ।’
बाँकेमा भोलि बुधवार र पर्सि विहीबार राष्ट्रिय भिटामिन ‘ए’ अभियानको तयारी पूरा भइसकेको थियो । स्वास्थ्य कार्यालयले स्वयसेविकाको हातहातमा पारेको भिटामिन ‘ए’ क्याप्सुल फिर्ता गर्न आन्तरिक सर्कुलर जारी गरेको छ । आपूर्ति केन्द्रको गम्भीर लापरवाहीले अभियानका लागि गरिएको तयारी विफल भएको छ भने अर्कोतर्फ राज्यलाई अनावश्यक आर्थिक व्ययभार थपिएको छ ।