काठमाडौं: काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा १ नम्बरमै पुगेपछि विज्ञहरुले सावधानी अपनाउन आग्रह गरेका छन्। वायु प्रदूषणका कारण विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ।
हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदुषित शहरको सूचीको पहिलो स्थानमा राखेको हो। शनिवार साँझबाट काठमाडौं संसारमा नै बढी प्रदुषण भएको शहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ।
वायु प्रदुषणहरु बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको सुझाव छ। पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न शहरहरुमा परेको विज्ञहरुले बताएका छन्।