आँखाको ज्योति गुमाएका खतिवडाले जब नवदृष्टि आँखा अस्पतालको शिविरबाट संसार नियाले…

    • स्वास्थ्य पेज

  • ३० चैत्र २०७९, बिहीबार

नेपालगन्ज: आसाम भारतका ८३ वर्षीय गौरीशंकरले खतिवडा मोतियाबिन्दुका कारण तीन महिनाअगाडि दुवै आँखाको ज्योति गुमाउनुभयो । बुढेसकालमा आँखाको ज्योति गुमेपछि खतिवडाको दैनिकी निकै कष्टपूर्ण बनेको थियो।

बेसहारा जीवन बिताइरहेका नेपालीभाषी खतिवडाका आफन्तले उहाँलाई इटहरी बोलाए।आँखाको ज्योति गुमाउँदा अन्धकार बनेको खतिवडाको संसार रामधुनी-८ सुनसरीमा नवदृष्टि आँखा अस्पतालको सम्पन्न निःशुल्क आँखा शिविरले पुनः उज्यालो बनाइदिएको हो। अस्पतालले उहाँको बन्द आँखाको सफलतापूर्वक मोतियाबिन्दुको शल्यक्रिया गरिदियो।

मंगलबार आँखाको शल्यक्रियापछि पुनःउज्यालो संसार देख्न पाएका ८३ वर्षीय खतिवडा निकै खुसी देखिनुहुन्थ्यो। उपचारका लागि अस्पतालसम्म लिएर आएका आफन्त मोहनप्रसाद निरौला पनि निःशुल्क आँखा शिविरबाट गुमेको ज्योति फर्किँदा खुसी हुनुहुन्छ । अहिले राम्रोसँग देख्न सक्ने भएकोमा उहाँ धेरै खुसी हुनुहुन्छ ।

‘अब आँखा देख्न सक्दिनँ होला भन्ने लागेको थियो,’ ज्योति फर्किएपछि खतिवडाले हर्षविभोर हुँदै भन्नुभयो ‘अहिले त प्रष्ट देख्न सक्ने भएको छु।’उहाँले अस्पतालले गरेको समाजसेवाको प्रशंसा गदै डाक्टरलाई भगवान र अस्पताललाई मन्दिरको संज्ञा दिनुभयो ।

रामधुनी वडा नम्बर ८ को आयोजना तथा नवदृष्टि आँखा अस्पतालको प्रविधिक सहयोगमा सञ्चालित शिविरमा ९० जनाको आँखा जाँच गरिएको थियो।खतिवडाको मात्रै होइन, पछिल्लो समय कोसी प्रदेश र छिमेकी मुलुक भारतका आसाम, दार्जिलिङ, बिहार, बंगालका आँखाका बिरामीले इटहरीमा आँखाको सहज रूपमा सेवा पाउन थालेका छन्।

इटहरीमै मोतियाबिन्दु तथा अन्य आँखा रोगको उपचार भएपछि कोसी प्रदेशका धेरै नागरिकलाई विराटनगर, काठमाडौं जानुपर्ने बाध्यता हटेको अस्पतालका प्रबन्धक भक्तबहादुर शाहीको भनाइ छ।पछिल्लो चार वर्षयता इटहरीमै आँखाको मोतियाबिन्दु र अन्य रोगको उपचार हुन थालेको स्थानीय पवन अधिकारीले बताउनुभयो।

यस अस्पतालले वार्षिक झन्डै २५ हजार भन्दाबढी नागरिकको आँखाको उपचार गर्दै आएको छ।१५ शैयाको यो अस्पतालले सामान्य परीक्षणदेखि जटिल रोगको निदान गर्न थालेपछि बिरामीको चाप पनि बढ्दै गएको शाहीको भनाइ छ।

दैनिक करिब तीन सय बिरामीलाई सेवा
अस्पतालले दैनिक करिब तीन सय बिरामीलाई सेवा दिने गरेको छ। बिरामीमध्ये दैनिक १५ देखि २० जनासम्मको शल्यक्रिया गरिँदै आएको प्रबन्धक शाही बताउनुहुन्छ ।  जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनसँगै अस्पतालले चुस्त बनाएको उहाँको भनाइ छ ।

सेवा प्रवाहलाई छिटो बनाउन हाल अस्पतालमा ८१ जना कार्यरत् जनशक्ति रहेको र त्यसबाट दैनिक करिब तीन सयसम्म बिरामीको उपचार सम्भव भएको अस्पताल प्रबन्धक शाहीले बताउनुुभयो । पछिल्लो चार वर्षको अवधिमा अस्पताल र शिविरबाट १५ हजार जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ र एक लाख भन्दाबढी नागरिकले आँखा उपचार सेवा लिएको उहँको भनाइ छ ।अस्पतालले नेपाल सरकार स्वास्थ्य वीमा बोर्डको स्वास्थ्य वीमा कार्यक्रम पनि लागू गरेको छ।

  • ३० चैत्र २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech