बालबालिका नै दुर्व्यसनको लतमा पर्न थाले

    • स्वास्थ्य पेज

  • २६ चैत्र २०७९, आईतवार

नेपालगन्ज: लागु पदार्थ दुर्व्यसनी नियन्त्रणका लागि जनचेतनामुलक र उपचात्मक दुवै विधिलाई एकै साथ लैजानु पर्ने आवश्यकता रहेको आज नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लागु औषध रोकथाम, उपचार तथा जनचेतनामुलक कार्यक्रम परियोजना अन्तर्गत् आयोजित सरोकारवालाहरुबीच जिल्ला स्तरीय परिचयात्मक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले लागु पदार्थ दुव्र्यसनको अवस्थाको भयावह भएकाले यसको नियन्त्रणका लागि जनचेतनामुलक र उपचारात्मक दुवै विधिलाई एकै साथ लैजानु पर्नेमा बताएका हुन् ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बाँके लागु औषध कारोवार र सेवनका हिसावले उच्च जोखिम क्षेत्र रहेकाले यसको नियन्त्रणका लागि प्रशासन लागि परेको बताउनुभयो । उहाँले लागु औषध कारोवारविरुद्ध गृहप्रशासन निर्मम हुने भन्दै यो समस्या कानुनले मात्रै नियन्त्रण नहुने भएकाले जनचेतनामुलक कार्यक्रम पनि जरुरी रहेको बताउनुभयो ।

यस्तै बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठोरले भारतसँगको खुला सीमानाका कारण नेपालगन्ज लागु औषध कारोवारको ट्रान्जिट प्वाइन्ट बन्दै गएकाले यसको नियन्त्रणका लागि प्रहरी लागि परेको बताउनुभयो । उहाँले प्रहरीले समुदायसँग मिलेर सचेतिकरणका कार्यक्रम पनि चलाइरहेको जानकारी दिनुभयो । नेपालगन्जमा चार हजार बढी दुव्र्यसनिकर्ता रहेको तथ्याङ्क छ ।

दुई वर्ष अघि लागु पदार्थ दुव्र्यसनिविरुद्ध क्रियाशील संघसंस्थाहरुले गरेको अध्ययनले ३ हजार ९ सय ९६ जना पुरुष र ७४ जना महिला सेवनकर्ता रहेको तथ्याङ्कले देखाएको थियो । तर योसंख्या अहिले दोब्बरले वृद्धि भएको उनीहरु बताउँछन् । लागु पदार्थ दुव्र्यसनि विरुद्धका अभियान्ता सन्तोष सापकोटाद्धारा प्रस्तुत कार्यपत्रमा पछिल्लो समय १२ देखि १५ वर्ष उमेर समूहका बालबालिका पनि दुव्र्यसनमा फस्न थालेका छन् ।

कलिला बालबालिका दुव्र्यसनको लतमा फस्नुलाई स्थिति भयावहकारुपमा लिनु पर्ने अवस्था रहेको उहाँको भनाइ छ । सुधारगृहमा १८ वर्ष मुनिका बालबालिकालाई राख्न पाइदैन । लागु औषधको आपूर्ति नियन्त्रण गर्ने र माग घटाउने, उपचार तथा पुनःस्थापनातर्फ राज्यले पनि प्रभावकारी ध्यान दिन जरुरी रहेको अर्का अभियान्ता रविन्द्रसिंह राठोरले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा लागु पदार्थ दुव्र्यसनी विरुद्ध क्रियाशील सामना पुनःस्थापना केन्द्र बाँकेले नगर क्षेत्रभित्र क्रियाशील लागु औषध उपचार तथा पुनःस्थापना केन्द्रहरुसँगको समन्वयमा कार्यक्रम गरेको हो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी कार्यपालिका सदस्य बीना थापा, कर्णाली प्रदेश तालिम केन्द्र नेपालगन्जका प्रहरी निरीक्षण हस्तबहादुर सुनार, विभिन्न सुधारगृहका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।

  • २६ चैत्र २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech