कोहलपुरमा घरमै सुत्केरी हुने दर घटाउन चुनौतिपूर्ण

    • स्वास्थ्य पेज

  • २३ चैत्र २०७९, बिहीबार

कोहलपुरः घरमै सुत्केरी हुने दर शुन्यमा झार्ने सरकारी प्रयासका बाबजुत कोहलपुर नगरपालिकाभित्र भने घरमै सुत्केरी हुने दर घट्न सकेको छैन ।

कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाले आज कोहलपुरमा आयोजना गरेको अर्धवार्षिक पोषण समिक्षामा अधारभूत स्वास्थ्य केन्द्रहरुबाट प्राप्त रिपोर्टिङले घरमै सुत्केरी हुने दरमा कमी आउन नसकेको देखिएको हो ।

कोहलपुरको बजार क्षेत्रकै वडाहरुमा पनि घरमै सुत्केरी भएको पाइएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अमृत रानाले बताउनुभयो । चालू आर्थिक वर्षको साउनदेखि पुषसम्म १८ जना आमा घरमै सुत्केरी भएका छन् ।

वडा नं.२ मा १, वडा नं.३ मा ५, वडा नं.७ मा ३, वडा नं.९ मा २, वडा नं.११ मा २, वडा नं.१२ मा १, वडा नंं.१३ मा २ र वडा नं.१४ मा २ जना आमा घरमै सुत्केरी भएको तथ्याङ्क छ ।

घरमै सुत्केरी हुँदा आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा पर्ने भएकाले सरकारले वर्थिक सेन्टरहरुमा सुत्केरी हुन प्रेरित गर्दै आएको छन् । मातृ तथा शिशु मृत्यु दर घटाउने उद्देश्यका साथ सरकारले घरमा हुने सुत्केरी दरलाई शुन्यमा झार्ने प्रयास गरेपनि प्रर्याप्त जनचेतनाको अभाव, गरीबी तथा रुढीवादी परम्पराका कारण अझै पनि घरमा सुत्केरी हुने दर अपेक्षितरुपमा घट्न सकेको छैन ।

कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक इश्वरी विश्वकर्माले कोहलपुर नगरपालिकाकाले स्वास्थ्य क्षेत्रको सुधारका निमित्त प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

उहाँले जीवनसँग प्रत्यक्षरुपमा जोडिएको स्वास्थ्य सेवालाई सर्वसुलभ, सहज र गुणस्तरीय बनाउने सवालमा आफुहरु लागिरहेकाले स्वास्थ्यकर्मीहरुले पनि त्यसैअनुसार सेवा प्रवाह गर्न सुझाव दिनुभयो ।उहाँले पोषण सुधारका लागि गर्नुपर्ने काममा तदारुकता देखाउन पनि आग्रह गर्नुभयो । स्वास्थ्यकर्मीहरुले प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउन डाटालाई परिस्कृत गर्न पनि उहाँको सुझाव छ ।

स्वास्थ्य कार्यालय बाँकेका पोषण फोकल पर्सन बसन्ती मल्लले बालबालिकाहरुको पोषण सुधारका लागि स्वास्थ्यकर्मीहरु पनि चनाखो हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

समिक्षा कार्यक्रममा स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो रिपोर्टिङ गरेका थिए ।

  • २३ चैत्र २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech