कोहलपुरमा क्षयरोगीका बिरामीलाई पोषण सामाग्री वितरण

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०७९, बुधबार

कोहलपुर: विराट नेपाल मेडिकल ट्रस्ट (BNMT)ले टिबी रिकभरी परियोजना-२ अन्तर्गत क्षयरोग (टि बी) का बिरामीलाई पोषण सामाग्री वितरण गर्न सुरु गरेको छ ।

टि बी फ्री नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाका ७५ जना बिरामीलाई पोषण सामाग्री वितरण गरिने परियोजना संयोजक दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो । सामाग्री पाउने बिरामी फागुन यता पहिचान भएका हुन् ।

यसैक्रममा आज कोहलपुर नगरपालिकाका १० जना बिरामीलाई पोषण सामाग्री वितरण गरिएको छ । टि बी फ्री पालिकाका बिरामीहरुको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले पोषण सामाग्री वितरण गरिएको पाण्डेले बताउनुभयो ।

बिरामीहरुलाई चामल २५ किलो, दाल १ किलो, तेल १ लिटर, बदाम साढे १ किलो, आटा १ किलो, अण्डा १ क्यारेट, स्वायबिन १ किलोको प्याकेज तयार गरि महिनामा एक पटकका दरले ६ महिनासम्म उक्त सामाग्री वितरण गरिने उहाँको भनाइ छ । यस्तै ५ वर्ष मुनिका बालबालिकाको हकमा भने सर्बोत्तम पिठोसमेत दिने गरिएको गरिएको छ ।

`यो करिब ३ हजारको प्याकेज हो पाण्डेले भन्नुभयो-`टि बी फ्री पालिकाका बिरामीको निको हुने दर बढाउने हाम्रो उद्देश्य पनि हो ।´ परियोजनाले बिरामीको दैनिक पोषण आहारबिहारको पनि अध्ययन गर्ने जनाएको छ । गरीब, विपन्न, जेष्ठ नागरिक, बिद्यार्थी र बसाइँसराइ गरि आएका बिरामीलाई प्राथमिकतामा राखेर पोषण सामाग्री बाँड्ने गरिएको छ ।

कोहलपुरमा चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १ सय १८ जना टि.बीका बिरामी पहिचान भएका छन् । त्यसमा खकारमा टि.बी देखिएका ५७ जना, फोक्सोमा देखिएका १८ जना र फोक्सो भन्दा बाहिर टि बी देखिएका ४३ जना रहेको कोहलपुर नगरपालिका क्षयरोग मुक्त अभियानका संयोजक राजु केसीले जानकारी दिनुभयो ।

टि बी संक्रमण पुष्टि भएकामध्ये २७ जना १४ वर्ष मुनिका बालबालिका रहेका छन् । कोहलपुर नगर अस्पतालमा मात्रै चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ५६ जना टि बीका बिरामीको पहिचान भएको सिअहेव लोकेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । कोहलपुरमा ४ वटा डट्स सेन्टर छन् ।

कोहलपुरमा नगर अस्पताल, रझेना आधारभूत स्वास्थ्य केन्द्र, कोहलपुर नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र अकलघरुवा र मेडिकल कलेज कोहलपुरमा डट्स सेन्टर रहेको संयोजक केसीले बताउनुभयो । कुपोषित बालबालिका तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरु यो रोगको जोखिममा पर्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

 

  • २२ चैत्र २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech