भारतबाट फर्किनेमा कोरोना संक्रमण, सीमा क्षेत्रमा जोखिम बढ्यो

    • रामचन्द्र पोख्रेल

  • १४ चैत्र २०७९, मंगलवार

तस्विरः फाइल

नेपालगन्जः भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखापर्न थालेको छ। सीमा नाकाहरुमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको हो।

नेपालगन्जको जमुनाहसहित भारतसँग जोडिएका सबै नाकाहरुमा नियमित रुपमा कोरोना परीक्षणको कार्य जारी रहेको छ। जमुनाह नाकामा परीक्षण गर्दा दैनिक रुपमा कोरोना सङ्क्रमण देखिरहेको जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

चैत महिना सुरु भएयता मात्रै भारतबाट फर्किएका १९ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। उहाँले भन्नुभयो, ‘यो महिना कोरोना सङ्क्रमण बढ्दै गएको छ। सङ्क्रमित सबै भारतबाट फर्किएका रहेका छन्। भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि सीमा क्षेत्रमा जोखिम बढेको छ।’

चैते दसैं र नयाँ वर्ष मनाउन जमुनाह नाकाहमा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ। चैते दसैं तथा नयाँ वर्ष मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमणदर पनि वृद्धि भएको वलीले बताउनुभयो। नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ।

भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँको नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको पनि वलीलको भनाइ छ। भारतका विभिन्न कोरोना सङ्क्रमण देखिन थालेकाले त्यसको प्रभाव लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि देखिन थालेको हो।

जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ। सङ्क्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको छ।

भारतमा सङ्क्रमण देखिएका सहरहरुसित दूरीका हिसाबले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको स्वास्थ्य श्रेष्ठको भनाइ छ।

  • १४ चैत्र २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech