नेपालगन्ज: नेपालगञ्जमा पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि खोप लगाउन छुटेका बालबालिकालाई खोज्न थालिएको छ । खोज र खोप अभियान अन्तर्गत २३ वटै वडाका स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
खोज र खोप अभियानलाई प्रभावकारी बनाउन वडा वडामा कार्यशाला गोष्ठी भइरहेका छन् । यसैक्रममा आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ र १२ मा गोष्ठी गरिएको छ । कार्याशाला गोष्ठीमा वडा अध्यक्ष, वडा सदस्यहरु, स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्थानीय विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
वडा नम्बर १ को गोष्ठी वडा अध्यक्ष एवम् वडा स्तरीय खोप समन्वय समितिका संयोजक प्रमोद रिजालको अध्यक्षता एवम् वडा नम्बर १२ को गोष्ठी वडा अध्यक्ष एवम् वडा स्तरीय खोप समन्वय समितिका संयोजक तरुणकुमार बज्राचार्यको अध्यक्षतामा भएको थियो । यसअघि वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १३, १४, १५, १६, १७, १८, १९, २१, २२ र २३ मा कार्यशाला गोष्ठी गरिसकिएको छ । अब वडा नम्बर २० मात्र बाँकी छ ।
पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गर्न वडा वडामा कार्यशाला गोष्ठी भइरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । युनिसेफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रहरुमा पुगेर कार्यशाला गोष्ठी गरिरहेको चन्दले बताउनुभयो ।
वडा स्तरदेखि नै छुट बच्चाहरुको खोजी र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो।
नियमित खोप छुट बच्चाहरु, कारणको पहिचान र विश्लेषण गर्ने गरी कार्यशाला गोष्ठीबाटै कार्ययोजना बनाइरहेको बस्नेतको भनाइ छ । पूर्ण खोप कार्यक्रमको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्य पनि लिइएको छ ।
वडास्तरमा वडा अध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि रहेको जनस्वास्थ्य निरीक्षक तेज वलीले बताउनुुुभयो ।
नेपालगञ्जलाई गत वर्ष नै पूर्ण खोप घोषणा गरिसकिएको छ । पूर्ण खोप घोषणा भएको नेपालगञ्जमा हालसालै दादुरा महामारी देखिएको थियो । दादुरा संक्रमित बालबालिकाले खोप नलगाएको पाइएको थियो । सिनियर अहेब अधिकृत गोरखनाथ योगीले बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि कोही पनि बालबालिका खोपबाट बञ्चित नहुन् भन्ने उद्देश्यले घरदैलो अभियान र सर्वेक्षण थालेको बताउनुभयो ।