नेपालगन्जमा ‘खोज र खोप’ अभियान तीब्र

    • स्वास्थ्य पेज

  • १२ चैत्र २०७९, आईतवार

नेपालगन्ज: नेपालगन्जमा पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान तीब्र पारिएको छ ।

आज नेपालगन्ज उपमहानगरपालिका-४ र १८ मा गोष्ठी गरिएको छ । यसअघि वडा नम्बर २, ३, ५, ६, ७, ८, १०, ११, १३, १४, १५, १६, १७, १९, २१, २२ र २३ मा कार्यशाला गोष्ठी गरिसकिएको छ ।

वडा नम्बर ४ को गोष्ठी वडा अध्यक्ष एवम् वडा स्तरीय खोप समन्वय समितिका संयोजक गोपाल पुनको अध्यक्षतामा भएको थियो । सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रकी जनस्वास्थ्य अधिकृत रोशनी पुनले कार्यशाला गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो भने स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा सिनियर अहेब राजन शाही, विनोद विक पनि उपस्थित हुनुभएको थियो ।

पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गर्न वडा-वडामा कार्यशाला गोष्ठी भइरहेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।

युनिसेफको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रहरुमा पुगेर कार्यशाला गोष्ठी भैरहेको पनि उहाँको भनाइ छ ।

वडा स्तरदेखि नै छुट बच्चाहरुको खोजी र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिरहेको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो ।

नियमित खोप छुट बच्चाहरु, कारणको पहिचान र विश्लेषण गर्ने गरी कार्यशाला गोष्ठीबाटै कार्ययोजना बनाइरहेको बस्नेतको भनाइ छ। पूर्ण खोप कार्यक्रमको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्य पनि लिइएको छ । वडास्तरमा वडा अध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि छ ।

नेपालगन्जलाई गत वर्ष नै पूर्ण खोप घोषणा गरिसकिएको छ। पूर्ण खोप घोषणा भएको नेपालगन्जमा हालसालै दादुरा महामारी देखिएको थियो । दादुरा संक्रमित बालबालिकाले खोप नलगाएको पाइएको थियो । सिअहेब अधिकृत गोरखनाथ योगीले बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि कोही पनि बालबालिका खोपबाट बन्चित नहुन् भन्नका लागि घरदैलो अभियान र सर्वेक्षण थालेको बताउनुभयो ।

कार्याशाला गोष्ठीमा वडा सदस्यहरु, स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्थानीय विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो

  • १२ चैत्र २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech