सुत्केरीलाई ज्वानोको झोल खुवाउँदा दूध पर्याप्त मात्रामा आउँथ्यो । क्याल्सियम पनि हुन्थ्यो । अहिले ज्वानो भन्दा नाक खुम्च्याइन्छ तर महँगा क्याल्सियमका चक्की भने मज्जासँग ख्वाइन्छ । त्यसैगरी बढी भिटामिन ख्वाउनुपर्छ भनेर मानिसहरू जताततै भिटामिनको खोजीमा छन् ।
हातमा ठूला राम्रा सिसी ल्याएर घरपरिवारका बालबालिका वा बिरामीबाट भर्खर तंगि्रन लागेका व्यक्तिलाई टनिक ख्वाउने प्रचलन अहिले गाउँ-शहर सबै ठाउँमा बढ्दो छ ।‘डाक्टर साहेब, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न’ यस्तो वाक्य अस्पताल, हेल्थपोष्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः सुन्नुपर्छ ।
कतिचोटि ग्राहक आफैं औषधि पसलमा गएर भन्छन्, ‘मलाई कमजोरी भएको छ कुनै तागतको झोल दिनुस् न ।’ औषधि पसलेले ‘कुनै रङ्गीन सिसीको झोल’ निकालेर दिन्छ र ग्राहक खुसी हुँदै ‘तागतको सिसी’ लिएर र्फकन्छ ।
विशेषगरी गाउँघरतिर महिलाहरू ढाड दुख्नेदेखि लिएर मुटु पोल्नेसम्म जुनसुकै प्रकारको शारीरिक अस्वस्थतामा पनि भिटामिन प्रयोग गर्छन् । शहरका महिलाहरूले पनि आफैं ‘दुब्लो भएँ, मोटाउने भिटामिन दिनुस् न’ भनेपछि औषधि पसलबाट पाउँछन् । गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा कतिचोटि महिलाहरू खास कुनै समस्या नभए पनि कमजोरी भयो भनेर आउँछन् । र, भिटामिनको माग गर्छन् ।
भिटामिन नदिंदा ‘कस्तो डाक्टर होला, केही रोगै छैन भनेर भिटामिन दिएन’ भनेर गुनासो गरेको पनि सुनिन्छ । त्यसैगरी बच्चाले भात खाएन भनेर बजारको औषधि ख्वाए भात र रोटीले पाउने पोषण पुग्छ भन्ने ठान्छन् ।
भिटामिन मानव शरीरको लागि एकदमै नभई नहुने तत्व हो । यो शब्दको उत्पत्ति नै ल्याटिनको भाइटल -अत्यन्त आवश्यक) शब्दबाट भएको हो । भिटामिन मानव शरीरलाई अत्यन्त कम मात्रामा चाहिन्छ भन्ने त सबैलाई थाहा छ, तर यो हामीले दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कुराचाहिं कमैलाई थाहा हुन्छ तथा तिनको पूर्तिको लागि हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलहरूले हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान गइरहेको छ ।
धेरैलाई थाहा छैन कि बच्चालाई भिटामिन झोल र टनिक भन्दा भान्सामा भएको भोजन सबैभन्दा उपयुक्त हुन्छ । आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्र्याट्सको भनाइमा ‘भोजन नै औषधि हो ।’ विभिन्न विज्ञापनको भरमा औषधि किनेर खाने प्रचलन र घरको खानेकुराले मात्रै हाम्रो शरीर कमजोर हुन्छ भन्ने गलत मानसिकताले नै मानिसहरू बढी औषधि किनेर खान्छन् ।
हाम्रा करेसाबारीमा फलेका हरिया तरकारी, बजारमा पाइने मौसम अनुसारका फलफूल आदिलाई बेवास्ता गरेर हामी धेरैजसो स्वास्थ्य राम्रो पार्नको लागि बजारका ‘टनिक’ किनेर खान्छौं ।
‘भिटामिनको प्रयोग गर्दा चक्कीभन्दा रंगीन झोल वा टनिकहरू बढी फाइदाजनक र झोलभन्दा बढी भिटामिन सुई फाइदाजनक हुन्छन् ।’ यो गलत धारणाले गाउँघरमा प्रत्येक रोगको लागि इन्जेक्सनबाट भिटामिन लिने प्रचलन पनि धेरै मात्रामा छ । अनेकौं भ्रम र अज्ञानले गाउँघरमा पनि सस्ता पोषक खानेकुराहरू छोडेर महँगो झोल तथा सुईका पछाडि दौडिने चलन छ । यस्तो चलन बढ्नुको एउटा कारण रेडियो, पत्रपत्रिका र टिभी जस्ता सञ्चारमाध्यमहरूमा धेरै खानेकुरा जस्तै- हर्लिक्स, बुष्ट, बोर्न भिटाको प्रचारप्रसार अत्यधिक हुनु पनि हो ।
भिटामिन ‘ए’ को कमिले हुने रतन्धो रोगको लागि ‘भिटामिन ए’ को क्याप्सुल सरकारले बाँड्छ । तर सरकारले तपाईंको आफ्नै बारीमा फलेको फल मेवा वा अम्बा खाऊ भन्दैन ।
घर वरिपरि पर्याप्त मात्रामा अमला पाइने गाउँमा ‘भिटामिन सी’को चक्की महँगोमा बेचिन्छ । सस्तोमा पाइने अमलाहरू भिटामिन सीको भन्दा सस्तो भएकोले पनि बेवास्ता गरिन्छ ।आफ्नो कमाइ रंगीन झोलहरूमा खर्च गर्नुको कुनै औचित्य छैन । औषधि पसलमा गएर रंगीन झोल किन्नुभन्दा अगाडि डाक्टरलाई सोध्नुस्, ‘के साँच्चै मलाई भिटामिन जरूरी छ ?’
भोक लगाउने टनिक खानु वा परिवारका सदस्यहरूलाई खुवाउनुभन्दा अघि सोच्नुस्, ‘के यो वास्तवमा तपाईंलाई चाहिन्छ ? के यसका सम्पूर्ण कुप्रभावहरूबारे तपाईंलाई जानकारी दिइएको छ ? कतै विकसित देशमा कुप्रभाव पर्छ भनेर भनिएका कुराहरू तपाईंबाट लुकाइएका त छैनन् ?’
यदि तपाईंले सन्तुलित भोजनबाट नै सबैखाले भिटामिनहरू पाउन सकिन्छ भनेर बुझ्नुभयो भने वास्तवमा भिटामिन झोल र टनिकको जरुरत नै पर्दैन । त्यसैगरी धेरै मानिस भोजनपछि ‘पाचन गराउने रस’ किनेर खान्छन् । तर घरमै भएका ज्वानो, हिङ जस्ता औषधीय गुण भएका खानेकुराले पनि पाचन प्रक्रियालाई सहज बनाउँछ भनेर हामीले थाहा पाउनुपर्छ ।
खाना पचाउने भनेर थरीथरीका सिसीको झोल किनेर ल्याउनेहरूले मेवामा भोजन पचाउन चाहिने सबै पाचन रसहरू हुन्छन् भनेर थाहा पाउनुपर्छ । मेवालाई विभिन्न ठाउँमा विभिन्न तरिकाले प्रयोग गरिन्छ । मेवालाई कतिपयले पाकेपछि जुस बनाएर खान्छन् भने कतै काँचो मेवालाई तरकारी वा अचार बनाएर खाइन्छ । जसरी खाए पनि यसले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउने मात्र होइन कि शरीरमा रहेको कब्जियत, खाना नपच्ने जस्ता समस्या न्यूनीकरण गर्न सहयोग पुग्छ ।
मेवामा भिटामिन ‘सी’ को मात्रा प्रचुर रहेको हुन्छ । आधुनिक पाचन रसबारे जानिफकार मानिने प्रोफेसर म्याकस वोल्फले क्यानेडियन सिपाहीहरूमा एउटा अनुसन्धान गरेका थिए । पर्याप्त मात्रामा पाचन रस भएका फलफूलहरू खान दिइएका सिपाहीहरूको स्वास्थ्यमा सुधार भएको उनले पाए ।
साथै, धेरै रुघाखोकी लागिरहने मध्ये दुई तिहाइलाई त लामो समयसम्म रुघाखोकी नै लागेन । एक तिहाइ सिपाहीहरूलाई रुघाखोकी त लाग्यो तर सामान्य । उनले आफ्ना विभिन्न अनुसन्धानबाट यो निष्कर्ष निकाले कि शरीरमा पर्याप्त मात्रामा पाचन रस हुने हो भने व्यक्तिहरूको शरीरमा कीटाणुहरूले आक्रमण गरेर रोग लाग्ने संभावना कम हुन्छ । पाचन रस प्राप्त गर्न टाढा जानै पर्दैन । मेवामा रहेका पर्याप्त तत्वहरू नै खानेकुरा पचाउन पर्याप्त छन् ।
आधुनिक जमानामा एन्टिबायोटिकको अत्यधिक प्रयोग, विभिन्न थरीका औषधि र परिवार नियोजनका चक्की आदिको प्रयोगले पनि फङ्गस समस्या बढ्ने हुन्छ । विशेषगरी आन्द्रामा रहेका फङ्गसहरूले त्यहाँ रहेका लाभदायक कीटाणुहरूलाई नष्ट गर्न सक्छन् । यस्तो अवस्थामा हामीले खाएको खानाको पाचन राम्रोसँग हुन सक्दैन । यसले शरीर कमजोर हुँदै जान्छ र झन् बढी फङ्गस बढ्न जान्छ । यसरी हुने फङ्गसको संक्रमणले टाउको दुख्ने, मानसिक रोग, मुटु पोल्ने, पेट फुल्ने र दुख्ने जस्ता विभिन्न किसिमका शारीरिक र मानसिक समस्या देखा पर्छन् ।
हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउन आन्द्रामा रहेका विभिन्न लाभदायक कीटाणुहरूको भूमिका हुन्छ । केही भिटामिनहरू (भिटामिन के, भिटामिन बी समूह) लाभदायक कीटाणुहरूको उपस्थितिमा मात्र शोषण हुन्छ । त्यसको लागि हाम्रै भोजनको बडो ठूलो भूमिका हुन्छ । विभिन्न किसिमका फलफूल, टुसा उमारेका गेडागुडी, तरकारी आदिले आन्द्रामा रहेका लाभदायक कीटाणुहरू बढाउँदै र शरीरबाट निस्कने विषहरूलाई कम गर्न भूमिका खेल्छन् । फलफूलको प्रयोगले शारीरिक रूपमा फाइदा त हुन्छ नै औषधि किन्नुपर्ने पैसा बचेर आर्थिक लाभ पनि हुन्छ ।
तर प्रायः मानिस फलफूल खान छोडेर औषधि पसलमा गएर पचाउने औषधि, विभिन्न भिटामिन र शक्ति दिने, सुत्केरी महिलालाई दूध बढाउने, बालबालिकालाई भोक लगाउने झोल रंगीचंगी बट्टामा किनेर ल्याउँछन् । ‘नजिकको तीर्थ हेला’ भनेझैं आफूसँग भएको बहुमूल्य वस्तुलाई हेला गरेर महँगा झोलहरू किन किन्ने ?