नेपालगन्ज: बिश्व क्षयरोग (टि.बी) दिवसको अवसरमा बाँकेमा आज विभिन्न कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा विभिन्न संघसंस्थासँगको सहयोगमा अन्तरक्रिया, र्याली, बिरामीलाई फलफूल तथा सामाग्री हस्तान्तरण गरेर दिवस मनाइएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलको सभापतित्त्वमा भएको बृहत अन्तरक्रिया तथा अन्तर संवाद कार्यक्रममा स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन मानव नेपालीले क्षयरोग अन्त्यको रणनीतिमा रहेको बताउनुभयो ।
नेपालीले सन २०५० मा नेपालबाट क्षयरोग निवारण गर्ने लक्ष्य रहेको भन्दै त्यसैअनुसार कार्यक्रमहरु भैरहेको पनि जानकारी दिनुभयो । प्रति एकलाखमा एक जनामा मात्र टिबी देखियो भने टिबी अन्त्य भएको मानिन्छ । तर अहिले नेपालमा प्रति लाखमा २२९ जनामा टिबी देखिएको छ ।
उहाँले २०७७/७८ मा प्रतिलाखमा ५८ जना मृत्यु रहेकोमा ०८२/०८३ मा त्यसलाई २३ मा झार्ने लक्ष्य रहेको जानकारी दिनुभयो । बाँकेमा टिबी निवारणका लागि नयाँ टिबी रोगीको पहिचान, उपचारका कार्यक्रम भैरहेका छन् । जिल्लामा ७५ वटा डट सेन्टर रहेका छन् । एउटा होस्टेल छ भने दुईवटा सब डट सेन्टर रहेका छन् ।
बाँकेमा आर्थिक वर्ष ०७८/०७९ मा एक हजार १८९ जना नयाँ टिबीका बिरामी फेला परेका थिए भने चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ५१८ जना नयाँ रोगी फेला परेको फोकल पर्सन नेपालीले जानकारी दिनुभयो । यस्तै यो अबधिमा १३ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा टिबी रोगको उपचारबाट निको हुने अन्तिम चरणमा रहेका बिरामीहरुले आ-आफ्नो अनुभव सुनाएका थिए । टिबी अस्पतालमा उपचाररत उनीहरुले टिबी रोगको पहिचान हुनु भन्दा अघि झेल्नु परेका समस्या र पहिचानपछि टिबी अस्पतालले प्रबाह गरेको सेवाबारे अनुभव सुनाएका हुन् ।
अन्तरक्रिया अघि आज बिहान नेपालगन्जमा र्याली निकालिएको थियो भने टिबी अस्पतालका बिरामीलाई फलफूल र विभिन्न सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा क्षयरोगका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।