जब जब स्वस्थ खानपानको कुरा आउँछ, फाइबर छुट्दै छुट्दैन । भनिन्छ, ‘फाइबरयुक्त खानेकुरा खानुपर्छ ।’ फाइबर एक प्रकारको कार्बोहाइड्रेट हो, जुन वनस्पतिजन्य खानेकुराबाट पाइन्छ ।
यो मुख्यतया फलफूल तथा सब्जीहरू मार्फत पाइन्छ, जुन हाम्रो शरीरमा पच्न सक्दैन । फाइबर पचाउन नसकिने भएपनि यसले हाम्रो पाचन प्रक्रियामा सुधार गर्छ । फाइबर मुख्यतया दुई प्रकारको हुन्छ, घुलनशील र अघुलनशील ।
यो फाइबर पानीमा घुलनशील हुन्छ । जुन पानीसँग मिसिएर हाम्रो पाचन प्रणालीमा जेल जस्तो पदार्थ बनाउँछ, जसले पाचनमा मद्दत गर्छ । यसले रगतमा कोलेस्टेरोल र ग्लुकोजको मात्रा कम गर्छ । घुलनशील फाइबर तौल घटाउन पनि उपयोगी हुन्छ । मुख्य रूपमा सिमी, स्याउ, गाजर, जौ आदिमा पाइन्छ ।
यस प्रकारको फाइबर पानीमा घुलनशील हुँदैन, त्यसैले यो पाचन प्रणालीमा टाँसिन्छ । यो पेट भर्न अर्थात् भोक शान्त गर्न प्रयोग हुन्छ । यसले दिसाको मात्रा बढाउँछ र दिसा उत्सर्जनलाई बढावा दिन्छ । जसले गर्दा कब्जियत, पायल्सको समस्या हुन दिंदैन । अघुलनशील फाइबर गहुँको चोकर, नट र तरकारी आदिमा पाइन्छ ।
फाइबरको स्रोत
गहुँको चोकर, खैरो चामल, ड्राइ फ्रुट्स, गेडागुडी, हरियो तरकारी, बोक्रासहितको फलफूल, सलाद, सम्पूर्ण अन्न, ओट्स, चियासिड र आलस फाइबरको राम्रो स्रोत हो ।
फाइबरले पेटमा के काम गर्छ ?
घुलनशील फाइबर पानीमा घुल्छ । यो पानीसँग मिसिएर हाम्रो पाचन प्रणालीमा जेल जस्तो पदार्थ बनाउँछ, जसले पाचनमा मद्दत गर्छ । अघुलनशील फाइबर पाचन प्रणालीमा टाँसिन्छ । यो पेट भर्न अर्थात् भोक शान्त गर्न प्रयोग हुन्छ । यसले दिसाको मात्रा बढाउँछ र दिसा उत्सर्जनलाई बढावा दिन्छ । जसले गर्दा कब्जियत र पायल्सको समस्या हुन दिंदैन ।
फाइबरको सेवन गरेर हामीले क्यालोरी त पाउँदैनौ । तर यो हाम्रो शरीरलाई आवश्यक पर्छ र स्वास्थ्यको लागि लाभदायक पनि छ ।
शरीरलाई कति चाहिन्छ फाइबर ?
५० वर्षको उमेरभन्दा कम उमेरका महिलालाई दैनिक २५ ग्राम र पुरुषलाई ३८ ग्राम फाइबर चाहिन्छ । ५० वर्षभन्दा बढी उमेरका महिलालाई दैनिक २१ ग्राम फाइबर भए पुग्छ भने पुरुषलाई ३० ग्राम भए पुग्छ ।
फाइबर धेरै खाँदा के हुन्छ ?
फाइबर धेरै मात्रामा खाने भनेको एकदमै असामान्य कुरा हो । भेगन डाइट र काँचो खानेकुरा धेरै खाने व्यक्तिले मात्र फाइबरको मात्रा धेरै खान्छन् । फाइबरले हाम्रो शरीरको पानीलाई सोस्ने भएकाले धेरै फाइबर खाँदा कब्जियत हुने, पेट फुल्ने, पेट भारी हुने जस्ता समस्या देखिन्छ ।
नेपाली खानामा फाइबरको उपस्थिति कति ?
नेपालीले सामान्यतय खाने खानामा फाइबरको उपस्थिति राम्रै पाइन्छ । बिहान सातु खाने गरेका छौं भने यो फाइबरको लागि राम्रो स्रोत हो । त्यसैगरी दाल, भात, तरकारीमा पनि फाइबर हुन्छ । फलफूल र रोटीमा पनि राम्रै फाइबर पाइन्छ । त्यसैले हामी नेपालीले खाने चारै प्रकारका खानामा फाइबरको उपस्थिति राम्रो छ भन्न सकिन्छ ।
तर प्रशोधित खाना, जंकफुड र फास्टफुड मात्रै खाने बानी छ भने चाहिं त्यो लाभदायक हुँदैन । त्यसमा फाइबरको मात्रा हुँदैन ।
फाइबरको कमीले शरीरमा मोटोपन, कब्जियत, ग्यास, पेट सम्बन्धी अल्सरजस्ता रोगको जोखिम हुन्छ । आन्द्राको क्यान्सर, पायल्स, मुटुरोग पनि फाइबरको कमीले हुन सक्छ ।