भेरी अस्पतालले गुणस्तरीय प्रसूति सेवा दिइरहेको छ: डा.सुवेदी

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७९, सोमबार

डा. कीर्तिपाल सुवेदी प्रसूति तथा स्त्री रोगका प्रसिद्ध चिकित्सक हुनुहुन्छ । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ रहेका डा. सुवेदी स्त्री क्यान्सर रोग विशेषज्ञ पनि हुनुहुन्छ । डा. सुवेदीको टिमले तीन वर्ष अघि परोपकार तथा स्त्रीरोग अस्पतालमा एउटै गर्भमा रहेका पाँच ओटा शिशुको शल्यक्रिया गरी प्रसूती गराएको थियो । विशेषज्ञ डा. सुवेदी नेपालगन्जस्थित भेरी अस्पतालमा आएपछि अस्पतालको सेवा प्रवाहमा सुधार आएको र विशेषगरी केही जटिल खालका शल्यक्रियाहरु हुन थालेका छन् । विभिन्न अस्पतालहरुमा प्रसूति सेवा दिएर अनुभव संगालेका डा. सुवेदीसँग भेरी अस्पतालको प्रसुति सेवको अवस्था, चुनौती र सुधारका योजनाहरुबारे गरिएको कुराकानीको सम्पादित अंशः

तपाईंं भेरी अस्पतालमा आउनुअघि र पछिको प्रसूति सेवामा के फरक परेको छ ?
म आउनुभन्दाअघि दक्ष चिकित्सकहरु नै हुनुहुन्थ्यो । विशेषज्ञ चिकित्सकहरु नै हुनुहुन्थ्यो । तर संख्यामा अलिकति कम भएको अवस्था पनि थियो । किनभने प्रसूति सेवा भनेको २४ सै घण्टा एउटा चिकित्सक खटिरहनुपर्ने हुन्छ । जतिबेला पनि इमरजेन्सी पर्न सक्छ । फेरि विशेषज्ञ चिकित्सकहरुले ओपिडी पनि हेर्नुपर्‍यो । अपरेशनको काम हेर्नुप¥यो । बच्चा पाइसकेकोलाई हेर्नुपर्‍यो । चारजनाले सबै हेर्नुपर्ने अवस्था थियो । अहिले हामी ७ जना विशेषज्ञ डाक्टहरु छौँ । सातजना हुनेबित्तिकै स्त्रीरोग र पाठेघर सम्बन्धि अपरेशन गर्ने संख्या बढायौँ । त्यसपछि रिफर रेट अलिकति कम भयो ।

अहिले रिफर गर्नुपर्ने अवस्था घटेको हो ?
अहिले रिफर घटेको छ । तर सबै रोकिएको होइन । रिफर हुनुको मुख्य कारण अहिले बेडको अभाव रहेको छ । जुन समस्या अस्पतालले समाधान गर्ने भनेर लागिरहेकै छ । अर्काे भनेको गम्भीर खालका समस्या भएका आमाहरु अन्त रिफर गर्नुपरिरहेको छ । कतिपयले समस्या लुकाईँदिदा अन्तिममा थाहा हुँदा उक्त समस्याको राम्रो उपचार हुने अस्पतालमा रिफर गर्नुपर्ने हुन्छ । एउटा त्यस्तै केश भएको थियो । उहाँले सुरुमा मुटुको समस्या छ भन्ने थाहा दिनुभएन । डेलिभरी हुँदाखेरी थाहा भयो । तर हामीले मुटु, एनेस्थिेसिया सबैखाले डा. साबहरुलाई बोलाएर उहाँलाई स्टेबल बनाएर अन्त रिफर ग¥यौँ । यदि त्यो केश तत्काल सबै किसिमका विशेषज्ञ डाक्टरहरु उपलब्ध नहुने अस्पतालमा भइदिएको भए ज्यान पनि जान सक्थ्यो । त्यही भएर म आइसकेपपछि ठ्याक्कै यही परिवर्तन भयो भनेर त म आफै भन्नुभन्दा पनि महसुस हुने कुरा हो । हामीले पहिलेभन्दा अलि ठूला क्यान्ससम्बन्धि, ट्युमरहरु पलाएको जस्ता अपरेशनहरु पनि भेरीमा गर्न थालिसकेका छौँ । अर्काे ल्याप्रोस्कोपी भन्ने काठमाडौं बाहिर चाहीँ बिरलै हुन्छ । त्यो चाहीँ मैले प्रसुति गृहमा काम गर्दाको अनुभवले यहाँ आइसकेपछि आएको दिन नै एउटा ट्युवमा बच्चा बसेको महिलाको अपरेशन गरियो ।

त्यो अपरेशन सामान्य अपरेशनभन्दा फरक कसरी हो ?
सामान्य अपरेशनमा हामी चिरेर पेटमै पुगेर अपरेशन गर्छौँ भने यसमा पेटमा प्याल पारेर दूरबिनको सहायताले के छ हेरेर दूरबिनबाट नै हामीले सर्जरीहरु गर्ने गर्छाैँ । भनेको बिरामीलाई रिकभर एकदमै चाँडै हुन्छ । विदेशतिर त बिहान अपरेशन गर्‍यो भने साँझ डिस्चार्ज गरिन्छ । त्यसपछि विभिन्न खाले सिस्टहरुको, पाठेघरमा मासु पलाएकाहरुको अपरेशनहरु सुचारु भइ नै रहेका छन् ।

 

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी

सेवा सुधारको प्रभावहरु के–के देखिएका छन् ?
बिरामीहरु संख्या दिनप्रतिदिन बढेको छ । त्यो भनेको भेरी अस्पताललाई भरोसा गरेको हो । फेरि बिरामीको भरोसा बढ्नुको लागि अस्पतालको समग्र सेवाले नै प्रभाव पार्छ । अहिले मुटुको जटिल किसिमका समस्या भएका बिरामीहरुको पनि उपचार हुन थालेको छ । सबै डिपार्टमेन्टहरु बलियो हुँदै गएपछि प्रसूति सेवा पनि बलियो हुन्छ । ओपडीमा आउने र सेवा लि आउनेहरुको संख्या नै बढेको छ ।

बिरामीको चापले सेवा प्रवाहमा समस्या आएको छ हैन ?
बिरामीको चाप बढ्दा समस्या निम्त्याउने भनेको हाम्रो संरचनाले हो । संरचनाको हामी बल्ल विकास गर्दैछौँ । दक्ष जनशक्ति जति सेवा बढाउँदै जान्छौँ थपिँदै जाने कुरा हो । अहिलेको अवस्थामा पनि हामीले जति दिन सक्थ्यौँ त्यति दिन पाइएको छैन कि जस्तो लाग्छ । किनभने अपरेशन कोठा सीमित छ । पालो कुर्नुपर्ने अवस्था छ । अपरेशन कोठा बढाउन सकेको भए हामीले अझै धेरै सेवा दिन सक्थ्यौँ । अपरेशन गरिसकेपछि राख्ने बेडहरु राती हुँदै गएपछि कमी हुँदै जान्छ । किनभने बिहानदेखि अपरेशन भएकाहरु थपिँदै जान्छन् । कतिलाई हामीले अवस्था बताएर अन्त जान सल्लाह दिन्छौँ । कतिपयले भेरीमै गर्छौँ भन्नुहुन्छ । चिकित्सक अभाव अथवा हामीसँग सामान नभएर होइन कि बेडकै अभावले कहिलेकाहीँ बिरामीहरुलाई अन्त पठाउनुपर्ने अवस्था आउँछ । यद्धपि अहिलेपनि दैनिक १०–१५ वटा सुत्केरीहरु भइरहेकै हुन्छन् ।

अहिलेपनि सरकारी अस्पतालभन्दा प्राइभेट अस्पतालमा मानिसहरु बढी विश्वास गर्छन् । तपाई कसरी विश्वस्त पार्नुहुन्छ कि भेरी अस्पतालको प्रसूति सेवाको गुणस्तर कमजोर छैन भनेर ?
हामी सबैले बुझ्नुपर्ने कुरा के छ भने जहाँपनि प्राइभेटमा जाने अलि बढी नै हुन्छ । त्यसको एउटा कारण के हो भने पैसा हुनेहरु अलि आरामदायी र भिडभाड नभएको ठाउँमा सेवा लिऔँ भनेर त्यता जानुहुन्छ । त्यसलाई अस्वभाविक मान्नु भएन । अर्काे कुरा सरकारी अस्पतालमा आइसकेका सेवाग्राहीलाई सेवा समयमा दिनुपर्‍यो भन्ने कुरा हो । उहाँहरुलाई चित्त बुझेन भने बाध्य भएर प्राइभेट अस्पतालमा जाने वातावरण हामीले बनाइदिनु भएन । त्यसको लागि के छ भने चिकित्सक उही हो । मैले प्राइभेटमा जसरी सेवा दिन्छु यहाँ पनि त्यसैगरी दिने हो । तर, समय अभावले म एक मिनेट कम बोल्छु होला । उपचारमा कुनै फरक पर्दैन । सरकारीमा अपरेशन गरिराछु भनेर कमसल अपरेशन गर्ने, प्राइभेटमा राम्रो गर्ने भन्ने पनि होइन । चाप र ठाउँको अभावका बीच पनि हाम्रो प्रयास के हो भने सरकारी अस्पतालमा सेवामा कुनै कमी हुन नदिने नै हो ।

भेरी अस्पतालमा यसअघि भएका केही कमजोरीहरुले पनि कतिपय सेवाग्राहीलाई नकारात्मक सन्देश गएको महसुस हुन्छ ?
म आउनुभन्दा अघि केही त्यस्ता घटनाहरु भएका रहेछन् । त्यसको प्रभाव केही समय रह्यो पनि । दुर्घटनाहरु कहिलेकाँही हाम्रा हातमा हुँदैनन् । कहिलेकाहीँ मानवीय कमजोरीका कारण हुने साना समस्याले पनि नकारात्मक सन्देश जान्छ । हाम्रो पर्यत्न त्यस्ता घटनाहरु नदोहोरिउन भन्न तर्फ नै छ । अहिले ती घटनाहरुको प्रभाव छ जस्तो मलाई लाग्दैन ।

भेरी अस्पतालको नयाँ भवनहितको गुरुयोजना नै छ । त्यसैले प्रसूति सेवा सुधारका भौतिक आवश्यकता पूरा गर्छ कि थप योजना आवश्यक छ?

त्यो गुरुयोजनाले प्रसूति सेवाका सबै आवश्यकतालाई सम्बोधन गर्छ जस्तो लाग्दैन । अहिले सरकारले प्रसूति सेवाका लागि विभिन्न किसिमका कार्यक्रमहरु सन्चालन गरिरहेको छ । यो धेरै जिल्लाका बिरामीहरु आइपुग्ने ठाउँ पनि हो । त्यसकारण अस्पतालभित्र अलग्गै मातृ तथा प्रसूतिको लागि ब्लक हुन आवश्यक छ । भेरीमा बिरामीको चापका आधारमा तीन सय बेड एकदमै न्यून हो । यदि अलग्गै प्रसूति सेवा र शिशु सेवाको ब्लक बनायौँ भने तीन सय बेड त त्यही सेवा दिन सकिन्छ । त्यो भनेको अलग्गै अपरेशन, आइसियू सहितको ब्लक हो । त्यही भएर अहिले पछिल्लो समय बिस्तारै यो विषय बहसमा आउन थालेको छ ।

यहाँहरुकहाँ आइपुगेका बिरामी र केशहरुको संश्लेषण गर्दा मुख्य समस्याहरु के–के छन्, जुन सामान्य सावधानीले पनि हुन नदिन भूमिका खेल्न सकिन्छ ?
प्रसूति सम्बन्धि नै कुरा गर्दा हामीकहाँ गलत धारणा के छ भने, गर्भवती भएको तीन चार महिना नभै जचाउँनु हुन्न भन्ने । गर्नुपर्ने के हो भने, तपाई बच्चा जन्माउने योजना बनाउँदै हुनुहुन्छ भने त्यतिबेलै डाक्टरकहाँ गएर हामी यस्तो योजनामा छौँ, के गर्नुुपर्छ भनेर सल्लाह लिनुपर्छ । किनभने बच्चा बस्नुभन्दा अगाडि नै आफूमा केही समस्या छ कि भन्ने समयमै पहिचान हुन्छ र निदान पनि हुन्छ । त्यो पनि सकिएन भने बच्चा बस्नेबित्तिकै पनि डाक्टरकहाँ जानुपर्‍यो । तीन महिना चार महिना पछि जाँदा के हुन्छ भने कहिलेकाहीँ बच्चामा खराबी आइसकेको हुन्छ । जचाउनलाई स्वास्थ्य संस्थमा गएर जँचाउँदा पनि हुन्छ, तर नियमितरुपमा जँचाउनुपर्‍यो । कहिलेकाँही प्रेसरमा ध्यान दिनुहोस्, प्रेसर नियमित जाँच्नुहोस् भन्छौँ, त्यसमा पनि ध्यान दिइरहेका हुँदैनौँ । अलिकति रगत बगेमा, बच्चा कम चलेमा पनि जँचाइहाल्नुपर्छ । परिवारमा सुगरको समस्या छ भने अलि ध्यान दिएर जँचाउनुपर्छ । नियमित स्वास्थ्य जाँच गरायौँ भनेपनि हामी धेरै समस्याबाट जोगिन सक्छौँ ।

प्रसूतिसँग जोडिएका हाम्रा सामाजिक समस्याहरु के–के छन्?
अहिलेपनि छोरा नै जन्माउनुपर्छ भनेर धेरै बच्चाहरु जन्माउने गरिएका छन् । त्यसमा पनि छोरा नजन्मिनुमा आमालाई नै दोष दिने र मानसिक यातना दिइने गरिएको छ । जबकी छोरा हुने कि छोरी भन्नेकुरा पुरुषको विर्यमा भर पर्छ । परिवार नियोजन गर भन्दा पुरुषहरुले नमान्ने समस्याले पनि महिलाहरु जोखिममा परेका पाइन्छ । घरमै सुत्केरी बनाउन खोज्दा पाठेघर च्यातिएर आएका समस्याहरु पनि छन् । सानो उमेरमा विवाह गर्ने र सानै उमेरमा बच्चा जन्माउने समस्या पनि यतातिर एकदमै धेरै रहेछ । २० वर्षभन्दा कम उमेरकै आमाहरु पनि प्रशस्तै भेटिन्छ । प्रसुति सम्बन्धि समस्याहरु यस्तै कारणले देखिन्छन् ।

अन्तमा केही भन्नु छ ?
भेरी अस्पताल यस क्षेत्रकै धेरै सेवाग्राहीलाई सेवा दिने अस्पताल हो । यहाँ धेरै सेवाहरु राम्रो र सुलभ छन् । केही सीमितताका बीच हामीले सेवा दिइरहेका छौँ । मुख्य कुरा गुणस्तरमा हामी सम्झौता नगरीकन सेवा दिन तत्पर छौँ । सेवाग्राहीले पनि सेवा लिने र आफूलाई लागेका सुझावहरु हामीलाई दिएर सबैले अझ राम्रोका लागि पहल गरौँ भन्न चाहन्छु ।

(प्रसूति तथा स्त्रीरोग विशोज्ञ डा. सुवेदीसँग पत्रकार विपि अस्तुले गर्नुभएको कुराकानी)

 

 

 

 

 

 

 

 

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech