आयुर्वेद उपचारप्रतिको आकर्षणः बिरामीको संख्या ७० प्रतिशतले बढ्यो

    • सुमित्रा पण्डित

  • ३० फाल्गुन २०७९, मंगलवार

नेपालगन्जः पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीहरुको चासो बढ्न थालेको पाइएको छ । आयुर्वेद उपचारको महत्व, विश्वसनीयता र प्रभावकारितापछि बिरामीहरुमा आयुर्वेद उपचार पद्धति प्रतिको चासो बढेको पाइएको हो । बाँके आयुर्वेद केन्द्रका प्रमुख डा. अनिल कुमार चौधरीका अनुसार कोरोना महामारीपछि आयुर्वेद सेवा लिनेको संख्या बढेको जानकारी दिनुभयो ।

‘कोरोना अघि आयुर्वेद सेवा बारे नागरिकहरुमा चासो थिएन् । सरकारले पनि यसलाई खासै महत्व दिएको अवस्था थिएन् । विगतको स्मरण गर्दै डा.चौधरीले स्वास्थ्य पेजसँग भन्नुभयो–‘कोरोना महामारीपछि भने आयुर्वेदको महत्व जनमानसमा ह्वात्तै बढ्यो । सरकारले पनि विभिन्न कार्यक्रमहरु अख्तियारी गर्यो । फलतहः जनमानसमा आयुर्वेदप्रतिको भरोसो बढ्यो ।’ कोरोनाकाल अघिसम्म जनमानसमा आयुर्वेद उपचारबारे खासै जानकारी थिएन् ।

प्रचार प्रसारको अभाव थियो । स्रोतसाधनको पनि अभाव थियो । पर्याप्त औषधि पनि थिएन् । तर अहिले पनि अवस्था फेरिएको डा. चौधरीको भनाइ छ । ‘कोरोनापछि संघ र प्रदेश सरकारले बिभिन्न कार्यक्रमका माध्यमबाट जनतासँग प्रत्यक्ष भेटेर आयुर्वेद उपचारको महत्वको वारेमा जानकारी दिनेदेखि क्वारेनटाइनमा बसेका बिरामीहरुलाई निःशुल्क रुपमा औषधि वितरण गरी स्वास्थ्य लाभ भएको हुँदा अहिले आयुर्वेद उपचार गराउने विरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ’ उहाँले भन्नुभयो ।

अहिले बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले बिभिन्न २३ प्रकारका औषधिहरु निःशुल्क रुपमा बितरण गर्दै आएको छ । यस्तै जेष्ठ नागरिक सेवाका लागि जेष्ठ नागरिकलाई शक्ति बद्र्धक, रोग प्रतिरोधात्मक शक्तिबृद्धि गर्ने औषधिहरु प्रदान गर्ने गरिएको छ । विपन्न वर्गका महिलाहरुले वच्चा जन्माइसकेपछि खानपानको कमिले गर्दा वच्चालाई आमाको दुध नपुगेको अवस्थामा स्तनपान सेवा अन्तरगत दुध बद्र्धकका लागि कुरिलोको चुर्ण र दशमुल तेल निःशुल्क उपलब्ध गराइरहेको छ ।

सरकारी दररेटमा ल्याव सेवापनि सन्चालनमा ल्याइएको छ भने नसर्ने रोगका लागि र दीर्घ जीवनकालागि विहान ५ बजेदेखि ६ः३० बजे सम्म योग कक्षापनि संचालनमा भइरहेको छ । केहि वर्ष पहिलासम्म ५ देखि १० जना उपचारका लागि आउने गरेकोमा अहिले भने दैनिक ५० देखि ६० जना विरामीहरु उपचारका लागि आउने गरेका छन् । अधिकांश विरामी पाइल्स, फिसर, फिस्टुला वाथ, आँखा सम्बन्धि रोग, पेट सम्बन्धि रोग, नसा रोग, महिलाहरुको सेतो पानी वग्ने लगायतका विरामीहरु उपचारकालागि आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने गरेको वरिष्ठ कबिराज निरीक्षक डा.गीता रेग्मीले जानकारी दिनुभयो ।

उक्त आयुर्वेद केन्द्रमा उपचारकालागि बाँकेका मात्र नभएर बाहिरी जिल्ला र भारतको बहराइजबाट पनि बिरामीहरु आउने गरेको उहाँले बताउनुभयो । दैनिक रुपमा विरामीको संख्यामा बृद्धि भएपछि अहिले बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव भएको छ । यसका साथसाथै मानिसहरुको आयुर्वेद उपचार दिनप्रतिदिन बढ्दो अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकार मार्फत ५ करोडको लगानीमा १५ वेडको आयुर्वेद अस्पताल निर्माण हुन लागेको छ ।

जसमा आयुर्वेदको आठ वटै अंगको विषशज्ञ सहितको सेवा प्रदान गरिने उद्देश्यले प्रदेश सरकारले अस्पताल निर्माण गर्न लागेको डा. चौधरीले जानकारी दिनुभयो । केन्द्रले न्यून शुल्कमा न्यून शुल्कमा विभिन्न सेवा प्रदान गर्ने गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार २०७७/०७८ मा २२ हजार ६ सय ६९ जनाले आयुर्वेदको सेवा लिएका थिए । जसमध्ये महिला १० हजार ९ सय ३४ जना रहेका थिए भने ११ हजार ७ सय ३५ जना पुरुषले आयुर्वेदको सेवा लिएका छन् । त्यस्तै ०७८/०७९ मा ३५ हजार २ सय ६८ जनाले सेवा लिएका छन् । जसमध्ये १७ हजार ३ सय ८२ महिला र १७ हजार ८ सय ८६ जना पुरुषले आयुर्वेदको सेवा लिएका छन । पहिलेको तुलना भन्दा अहिले आयुर्वेद उपचार गराउने बिरामीको संख्या ७० प्रतिशतले बढेको डा.चौधरीको भनाइ छ ।

 

  • ३० फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech