नेपालगन्जका बालबालिकाले खोप नलगाउनुको कारण खोजिँदै

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०७९, सोमबार

नेपालगन्जः नेपालगन्जका बालबालिकाले खोप किन लगाउँदैनन् ? यो प्रश्नको उत्तर खोज्न नेपालगन्जमा घरदैलो सर्वेक्षण थालिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई घरघरमा पठाएर खोप लगाए÷लगाएको बुझ्ने र खोप लगाएका छैनन् भने लगाउने र उनीहरुलाई यसअघि किन नलगाएको भनेर सोध्न पठाएको छ।

नगरका २३ वटै वडामा यो अभियान शुरु भएको छ । सरकारले निर्धारण गरेको टार्गेट पूरा हुने तर यहाँका रैथाने बालबालिका खोपमा छुटेको पाइएपछि यस्तो अभियान र सर्वेक्षण थालिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो ।

उपमहानगरपालिकाले १६ देखि ५९ महिनाका बालबालिकाले खोप लगाएको÷नलगाएको सर्वेक्षणसँगै खोप लगाउने अभियान थालेको हो । नेपालगन्जलाई गतवर्ष नै पूर्ण खोप घोषणा गरिसकिएको छ। पूर्ण खोप घोषणा भएको नेपालगन्जमा हालसालै दादुरा महामारी देखिएको थियो । दादुरा संक्रमित बालबालिकाले खोप नलगाएको पाइएको थियो।

जनस्वास्थ्य निरीक्षक बस्नेतले बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दीगोपन घोषणाका लागि कोही पनि बालबालिका खोपबाट बन्चित नहुन् भन्नका लागि घरदैलो अभियान र सर्वेक्षण थालेको बताउनुभयो ।

नेपाल सरकारले दादुरा रुबेला, वीसीजी, जेई, टाइफाइड, पीसीभी, पोलियो, टिडी, डिपिटी हेब्बी हिवलगायतका खोप दिने गर्छ । जन्मदेखि १५ महिनाभित्र यी खोपहरु लगाइन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले यो अवधिमा खोप लगाएको वा नलगाएको बुझ्न १६ देखि ५९ महिनाका बालबालिकाको सर्वेक्षण गर्दैछ ।

यतिबेला नगरका विभिन्न वडामा अभिमुखीकरण भइरहेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले फाराम नै देखिएर घरघरमा पठाएको छ । यो सर्वेक्षण पछि नेपालगन्जमा कति बालबालिका छन् र कतिले खोप लगाएका छन् भन्ने यकिन हुने उनीहरुको भनाइ छ । नेपालगन्जमा खोप नै नलगाउने र लगाएका पनि धेरैले बीचैमा छोड्ने गरेको पाइएको छ ।

सोमबार वडा नं १५ मा अभिमुखीकरण गरिएको थियो । जनस्वास्थ्य निरीक्षक तेजबहादुर वली, विनोद नेपाली, पिप्रहवा स्वास्थ्य चौकीका इन्चार्ज जयराम पाण्डेलगायतले अभिमुखीकरणमा सहजीकरण गर्नुभएको थियो ।

  • २९ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech