नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने दुई सरकारी अस्पताललाई थप १० करोड अनुदान दिने तयारी गरेको छ । काठमाडौं उपत्यका बाहिर ती अस्पताललाई मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको भन्दै ५/५ करोड अनुदान दिने तयारी गरिएको हो ।
सरकारले गत आर्थिक वर्षमा उपत्यकाबाहिर ७ वटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सुरु गर्न १० करोड रुपैयाँ विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल र प्रादेशिक अस्पताल सुर्खेतले प्रत्यारोपण सुरु गरेका छन् ।
दुई अस्पतालले प्रत्यारोपण सुरु गरेका कारण ५/५ करोड रुपैयाँ थप अनुदान दिने प्रक्रिया अगाडि बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘दुई अस्पताललाई ५/५ करोड रुपैयाँ दिने तयारी भएको छ,’ स्रोतले भन्यो, ‘अर्थ मन्त्रालयमा सहमतिका लागि पठाउने तयारीमा छ ।’ पोखरामा गत असारबाट मिर्गौला प्रत्यारोपण सुरु गरिएको हो भने सुर्खेतमा माघबाट प्रत्यारोपण गरिएको थियो ।