प्लाष्टिक जलाएर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै वीरेन्द्रनगर

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०७९, सोमबार

सुर्खेतः वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रमा ‘प्लाष्टिक नजलाऊ’ अभियान चलाएको छ । प्लाष्टिक जलाउनेलाई कारबाही गर्न नगरपालिकाको फोहोरमैला व्यवस्थापन कार्यविधि २०७७ जारी गरेको छ । त्यही नगरपालिकाले बजार क्षेत्रमा संकलन भएका प्लाष्टिक ल्याण्डफिल साइटमा लगेर जलाउने गरेको छ । फोहोर प्लाष्टिक पर्यावरण र जनस्वास्थ्यको लागि घातक हुन्छ । त्यसलाई जथाभावी जलाउँदा अझ घातक हुने सरसफाइ अभियन्ता डा नवराज केसीको भनाइ छ।

उहाँका अनुसार प्लाष्टिक जलाउँदा पोलिक्लोरेनेटेड बाइफिनाइल, डाइओक्सिन, फ्युरानस, मर्किउरी जस्ता हानिकारक ग्याँस वातावरणमा मिसिन्छ । वीरेन्द्रनगरको बुद्धपथमा रहेको नेपाल बाल पोली क्लिनिकमा हिउँदमा वर्षा भएपछिका दिनमा दमका बिरामीको चाप बढ्छ । त्यसको प्रमुख कारक जलाइएका प्लाष्टिकजन्य फोहोर नै भएको डा केसीको दावी छ ।

‘तारेभिरमा जलाइने प्लाष्टिकको धुवाँ सुर्खेतकै आकाशमा आउँछ र पानी नपरेको बेला चारैतर्फ छरिन्छ’ उहाँ भन्नुहुन्छ, ‘पानी परेको भोलि, पर्सिपल्टदेखि सुर्खेतमा दमका बिरामीको संख्या बढ्नुको मुख्य कारण त्यही धुवाँ हो ।’ त्यसो त वीरेन्द्रनगर नगरपालिकाको तारेभिर बेसारेको ल्याण्डफिल साइट नै भद्रगोल छ । निर्माणाधीन ल्याण्डफिल्ड साइट क्षेत्रमा जथाभावी फालिएको फोहोरको कारण वीरेन्द्रनगर १, धारापानीको माथिल्लो क्षेत्र दुर्गन्धित बनेको छ ।

नगरपालिकाले २०७३ यता तारेभिरमा बजार क्षेत्रको फोहोर फाल्न थालेपछि गाउँमा झिंगा र भुसुनाको प्रकोप बढेको अनुभव धारापानीकै इच्छाबहादुर फौजाले सुनाउनुभयो । उहाँका अनुसार, धारापानीमा १६० घरधुरी छन् ।वीरेन्द्रनगरको फोहोर व्यवस्थापनका लागि बजार क्षेत्रबाट ७ किलोमिटर पश्चिममा रहेको कृष्ण सामुदायिक वनमा ल्याण्डफिल साइट निर्माण भइरहेको छ । साइटको काम ज्यादै सुस्त छ ।

नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेल साइट निर्माणका लागि अझै ३४ करोड स्रोत अपुग रहेको बताउनुहुन्छ । अहिले वीरेन्द्रनगरमा दैनिक १९ टन फोहोर निस्कन्छ । त्यसमध्ये कुहिने ६३ प्रतिशत हुन्छ । यी सबै फोहोर व्यवस्थापन हुनसकेको छैन ।व्यवस्थापन हुन नसकेको वार्षिक करिब ४ हजार ३२० मेट्रिक टन फोहोरमध्ये केही कुकुर र गाईवस्तुले खाने गरेको पौडेलको भनाइ छ । उहाँका अनुसार, नगरपालिका क्षेत्रमा वार्षिक फोहोर वृद्धिदर ७ प्रतिशत छ ।

 

  • २९ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech