कोहलपुरः कोहलपुर नगरपालिका वडा नं.१५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चौधरियामा आज भएको एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ८ सय बढीले सेवा लिएका छन् ।
कोहलपुर नगरपालिका आयुर्वेद औषधालयको आयोजना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र नेपालगन्ज आयुर्वेद जनरल अस्पतालको समन्वयमा भएको शिविरमा ५ सय २५ जनाले ओपिडी सेवा लिएको कोहलपुर नगरपालिका आयुर्वेद औषधालय प्रमुख उदिप श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार ३२ जनाले पंचकर्म सेवा, ५३ जनाले उपचारात्मक सेवा, १२ जनाले स्तनपायी सेवा, ११४ जनाले जेष्ठ नागरिक सेवा लिएको पनि श्रेष्ठले बताउनुभयो । तीमध्ये एक सय जना स्थानीयको सुगर परीक्षण समेत गरिएको थियो ।
समस्या देखिएका विरामीलाई औषधि समेत वितरण गरिएको थियो । आयुर्वेद चिकित्सकहरु डा.शिवराज सुवेदी, डा.प्रतिक्षा केसी, डा.गीता रेग्मी लगायतले चेकजाँच तथा परामर्श सेवा दिनुभएको थियो ।
कोहलपुर नगरपालिका वडा नं.१५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा भएको शिविरको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गर्नुभएको थियो । त्यसअवसरमा उहाँले स्वस्थ शरीरका लागि नियमित ब्यायम तथा आफ्नो जीवनशैली परिवर्तन गर्न सुझाव दिनुभयो ।
यस्तै नेपालगन्ज आयुर्वेद जनरल अस्पतालका संचालक मैकुलाल बाल्मिकीले आयुर्वेदिक उपचार पद्धतिप्रतिको भरोसा बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले कोहलपुरमा आयुर्वेद अस्पताल स्थापनाका लागि आफुहरु तयार रहेको बताउँदै त्यसका लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गर्न आग्रह समेत गर्नुभयो ।