थले जोर्नीमात्रै नभएर सबै अङ्गमा हानि गर्न सक्छ । अरू रोगले गर्दा मृत्यु हुने सम्भावना बढी हुन्छ तर बाथले हड्डी बाङ्गो हुन्छ । बाथ मुख, आँखा, ढाड शरीरका कुनै पनि अङ्गमा हुनसक्छ । आँखा सुख्खा हुनु पनि बाथ रोग नै हो । मुखमा जे खाए पनि पानी पिउनुपर्ने अवस्था आउनु वा मुख सुख्खा हुनु पनि बाथ हो । जोर्नीहरूमा मात्र बाथ हुन्छ भन्ने नेपालीहरूको धारणा (कन्सेप्ट) छ तर त्यो सत्य होइन । बाथ सबै मानिसलाई एकै खालको नभएर भिन्न–भिन्न किसिमको हुन्छ । बाथरोगको उपचारमा चिकित्सकले बिरामी जाँच्नु र औषधि दिनु मात्र पर्याप्त हुँदैन । बाथरोगको उपचारमा हाड–जोर्नी र छालाका समस्या मात्र निको पारेर हुँदैन । यो रोगले निम्त्याउने अन्य रोग र असरको उपचार बाथरोग विशेषज्ञबाट मात्रै सम्भव हुने भएकोले बिरामीहरू चनाखो हुन पनि जरुरी छ । बाथ रोगबारे न्युज एजेन्सी नेपालले नेशनल बाथरोग सेन्टरकी बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीसँग कुराकानी गरेको छ । उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश ।
बाथ भनेको के हो ?
बाथ भनेको कुनै एउटा मात्रै रोग नभएर विभिन्न रोगहरूको सङ्कलनलाई बुझाउँछ । विशेष गरी बाथ भन्ने शब्दभित्र अटो इम्युन डिजिजहरू पर्छ । जस्तै गठिया, लुप्पस, मेरुदण्डको बाथ, स्पनेलाहरु पर्छन् । अर्को भनेको मेरुदण्ड खिइने बाथ, कुरकुरे हड्डी खिइने बाथ पर्छ । अर्को मांसपेशीको बाथ हुन्छ, मेटाबोलीक डिजिज यी सबै कुराको सङ्कलनलाई बाथ भनिन्छ । योभित्र एक सयभन्दा बढी प्रकारका बाथहरु हुन्छन् ।
बाथ भयो भनेर कसरी थाहा पाउने ?
बाथ भयो भनेर थाहा पाउन यसको लक्षणहरू केके हुन् त्यसको विषयमा संक्षिप्त जानकारी आवश्यक पर्छ । बाथ नै सयौँ प्रकारको भएकाले लक्षण पनि भिन्न भिन्न प्रकारको हुन्छ । तर सामान्य लक्षण भनेको जोर्नी दुखाइ मुख्य लक्षण हो । जुन ९० प्रतिशत बाथ रोगीहरूमा हुन्छ । जोर्नी दुखाइमा हातका, खुट्टाका साना, ठुला जोर्नीहरू सुन्निने, दुख्ने, बिहानीपख अररो हुने, मुठी कस्न गाह्रो हुने र बिस्तारै घाम लाग्दै गइसकेपछि वा दिन ढल्दै गइसकेपछि सहजपना आउने, यो बाथको मुख्य लक्षण हो ।
छालामा विभिन्न प्रकारको डाबर आउने, गालामा पुतली आकारको डाबर आउने, घाममा जाँदा पोल्ने, चिल्चिल्याउने, घाउ हुने, बारम्बार निको नहुने घाउहरू आइरहने, खुट्टामा विभिन्न प्रकारको डाबर आउने, चाया, पोतो आउने हुनसक्छ । चिसो पानी चलाउँदा हातको रङ परिवर्तन हुने, हातको रङ सेतो, निलो वा पहेँलो भएर चेन्ज हुने यो पनि बाथको एउटा लक्षण हो ।
मेरुदण्ड बाथको कुरा गर्दा मेरुदण्ड दुख्ने, कम्मर दुख्ने, विशेष गरी राति एक निन्द्रा सुतिसकेपछि मध्यरातदेखि कम्मर दुखाई सुरु हुने, बिहानीपख कम्मर अरट्ठ हुने, काम गर्न गाह्रो हुने, यो पनि मेरुदण्डको बाथको लक्षण हो । मांसपेशीको बाथको कुरा गर्दा मांसपेशी जताजता छ, शरीरको चारैतिर दुखाइ हुने, मांसपेशी कटकट खाने, बिहान उठेदेखि जाँगर नचल्ने, मासुहरू अरट्ठो भएर बसेको जस्तो हुने, बारम्बार टाउको दुख्ने यस्तो प्रकारको लक्षणहरू हुनसक्छ । बाथ विभिन्न प्रकारको भएकाले लक्षण पनि भिन्न भिन्नै हुनसक्छ । बाथले कुनै पनि अङ्ग समात्न सक्ने हुनाले आँखा समात्यो भने आँखा रातो हुने, दुख्ने, आँखा सुख्खा हुने, आँखा देख्नमा कमजोर हुनसक्छ ।
मुख सुख्खा हुने, बारम्बार प्यास लाग्ने, किड्नीमा आक्रान्त गरेमा पिसाबमा प्रोटिन जाने, रगत सञ्चालन गर्नेमा आक्रान्त गरे बास्कोलाइटिस हुनसक्छ । बास्कोलाइटिस भयो भने फरक अर्गेन फेलियर हुनसक्छ । हातखुट्टा झम्झमाउने, पोल्ने, नशाका विभिन्न लक्षणहरू आउने, फोक्सोमा पानी जम्यो, फोक्सोमा जाली पर्यो भने लामो समयसम्म खोकी लाग्ने, स्वाँस्वाँ हुने, दम बढ्ने, मुटुमा पानी जम्यो, मुटुमा असर गर्यो भने छाती दुख्ने, दम हुने, खुट्टाहरू सुन्निने जस्ता विभिन्न लक्षणहरू हुनसक्छ ।
बाथरोग वंशाणुगत हुन्छ की खानपानबाट हुन्छ ? बिरामीले केबाट धेरै जोगिनुपर्छ ?
बाथरोग भएका बिरामीहरूले विशेष त चिसोबाट जोगिनुपर्छ । किनभने चिसो मौसम वा चिसो वातावरणमा बाथका लक्षणहरू बढ्छन् । जोर्नी दुखाइ बढ्छ, हातको निलोपनाहरू बढ्छ, मेरुदण्डको अरट्ठोपना बढ्छ, त्यसैले चिसोबाट जोगिनुपर्छ । धूम्रपान सेवन गर्नु हुँदैन । सुर्तीजन्य पदार्थबाट टाढा बस्नुपर्छ ।
लुप्पस भएका बिरामीहरू घामको किरणबाट जोगिनुपर्छ । यी तीन कुराबाट विशेष जोगिनुपर्छ । कुन बाथ हो त्यो अनुसार केके बार्नुपर्ने त्यो अलि फरक हुन्छ । बाथ किन हुन्छ भन्ने कुरा हो भने बाथ विभिन्न कारणले हुन्छ । जुनमा अटो इम्युन डिजिजहरूको कुरा गर्नुपर्दा गठिया, मेरुदण्डको लुप्पस यस्ता बाथहरू अटो इम्युनिटीको कारणले हुन्छ । हाम्रो शरीरमा जुन रोग प्रतिरोधात्मक क्षमता हुन्छ, त्यो क्षमतामा गडबडी आउँदा शरीरका कोशिकाहरूले आफ्नै अंगलाई बिगार्न थाल्छ । जस्तै जोर्नी, भित्री अङ्गहरूलाई पनि बिगार्न थाल्छ ।
त्यसबाट अटो इम्युन डिजिजहरूको उत्पत्ति हुन्छ । बाथ हुनैबाट जोगिन त सकिँदैन तर भइसकेपछि केही सावधानीहरू लिन सकिन्छ । बाथहरूमा जेनेटिक अशोसिएशनहरु हुन्छ । तर वंशाणुगत हुँदैन ।
४० वर्ष उमेर पुगेका मानिसहरूमा बढी बाथ देखियो भन्नेछ, कारण के हुनसक्छ ?
बाथ हरेक उमेर समूहमा हुनसक्छ । गर्भमा भएको बच्चादेखि लिएर युवावस्था र वृद्धावस्था सबै उमेरमा हुनसक्छ । फरक भनेको यत्ति हो की कसलाई कुन प्रकारको बाथ हुने सम्भावना छ, त्यो रेसियो फरक हुने हो ।
बच्चाहरूलाई पनि गठिया बाथ, मेरुदण्डको बाथ, लुपोसहरु उत्तिकै हुन्छ । ४० कटिसकेका मानिसहरूमा प्रायः जसो देखिने भनेको हड्डी खिइने बाथ देखिन्छ । जस्तै अर्थोराइटेस, स्पाइनको डि जेनेरिटिभ डिजिजहरू बढी मात्रामा देखिने भनेको गठिया बाथ हो । गठिया बाथ प्रायः जसो युवावस्थामा देखिन्छ । महिलाहरूमा बढी देखिन्छ । यो ४० कटिसकेका महिलाहरूमा बढी देखिन्छ । पुरुषहरूको कुरा गर्दा ३५ वा ४० भन्दा माथिको पुरुषहरूमा युरिक एसिडको बाथ वा गाउट बढी देखिन्छ । विभिन्न प्रकारको बाथको आफ्नो आफ्नो उमेर समूह हुन्छ । कुनै बाथ सानो, तन्नेरी उमेरमा बढी देखिन्छ कुनै ४० पछि र ६० पछि पनि बढी देखिन्छ । कुन प्रकारको बाथ हो त्यसमा निर्भर रहन्छ ।
बाथबाट जोगिन यो कुरा गर्नैपर्छ भनेर बुझ्नै पर्ने विषय के हो ?
बाथ हुनैबाट जोगिन त गाह्रो छ । किनभने अटो इम्युन डिजिज हो । तर बाथ भइसकेका बिरामीहरूले यसलाई बढ्नबाट जोगिन चिसोबाट जोगिने, चुरोटको धुवाँबाट जोगिने, समयमै उपचार सुरु गर्नुपर्छ । उपचार सुरु गरिसकेपछि त्यसलाई निरन्तरता पनि दिनुपर्छ । बाथको उपचार भनेको खालि लक्षणको उपचार होइन, बाथको उपचारले यसको जटिलताहरू यसले भित्री अङ्गहरू सबै बिगार्न सक्ने भएकाले यसको जटिलताहरूलाई पनि रोकथाम गर्नुपर्ने हुन्छ । उपचारलाई निरन्तरता दिँदै अघि बढ्ने हो भने बाथ रोगबाट जोगिन सकिन्छ ।
जाडो याममा बिहानमा मर्निङ वाक कति उपयुक्त छ ?
जाडो मौसममा घाम लागिसकेपछि नै व्यायामहरू गरेको राम्रो हो । व्यायाम बाथ रोगीको लागि धेरै नै राम्रो कुरा हो । त्यसैले हामीले सबैजनालाई व्यायाम गर्न नै आग्रह गर्छौँ । तर चिसोबाट बचेर । धेरै चिसो भइरहेको बेलामा बाहिर नजाने, वा जानै परेको अवस्थामा पनि पञ्जा, मोजा, डबल लेयर भएको लुगा लगाएर जाने, हावाहुरी, चिसोबाट बच्ने र सकभर अलिकति घाम लागिसकेपछि जोर्नीहरू सजिलो भइसकेपछि मात्र बाहिर निस्किएर व्यायाम गर्नु उपयुक्त हुन्छ ।
युरिक एसिडबाट पीडित भएकाहरूलाई पछिल्लो समयमा समस्या देखिएको छ, यसमा कस्तो सचेतना अपनाउन जरुरी छ ?
युरिक एसिडको बाथ अथवा गाउट प्रायः जसो पुरुषमा हुन्छ । ४० भन्दा माथिको उमेर समूहमा बढी हुन्छ । तर आजभोलि भने ४० भन्दा तलको उमेर समूहमा पनि देखिन थालेको छ । २० वर्षको उमेर समूहबाट नै युरिक एसिडको बाथ देखिन थालेको छ । यसको एउटा मुख्य कारण भनेको खानपिन र व्यायामको अभाव हो । खानपिनमा आजभोलि जंकफुड, कोक, कोल्ड्रिंक्सहरु बढी मात्रामा खाइन्छ, यसको कारणले पनि युरिक एसिडको बाथ बढी मात्रामा देखिन्छ ।
अर्को ल्याकअफ व्यायाम, व्यायामको अभावका कारणले पनि हुन्छ । यसबाट बच्न हामीले पहिलो कुरा लाइफस्टाइलमा ध्यान दिनुपर्छ । जस्तै हेल्दी फुड खाने, अल्कोहल कम खाने, जनावरको भित्री अङ्ग कम खाने, हेल्दी डाइटमा अलिकति ध्यान दिने, प्रिजरभेटिभ भएको खानाहरू, बट्टामा भएको जुसहरू, कार्बोनेटेड ड्रिंक्सहरु कम प्रयोग गर्ने, निरन्तर व्यायाम गर्ने, पानी प्रशस्त मात्रामा खाएको राम्रो हो । ३ लिटर । तरकारी र दूधको मात्रा अलि बढी मात्रामा सेवन गर्ने गर्नुपर्छ । युरिक एसिड बाथ सुगरको रोग, प्रेसर, कोलेस्ट्रोलको समस्या र मोटोपना, यो ४ वटासँग पनि जोडिने भएकाले युरिक एसिडको बाथ नियन्त्रण गर्दा हामीले यो बाँकीको ४ वटा कुराहरूमा ध्यान दिनुपर्छ ।
बाथ कमन रोगहरूमा नै पर्छ । समाजमा हेर्ने हो भने ३० प्रतिशतलाई कुनै न कुनै हाडजोर्नी तथा मांसपेशीको रोग हुनसक्ने सम्भावना देखिन्छ । त्यसमध्ये पनि पूरा जनसङ्ख्याको १० प्रतिशतमा नेपालको कुरा गर्दा ३० लाखलाई बाथ रोग हुनसक्ने सम्भावना छ । यो विश्वको तथ्यांकअनुसार हो । बाथको सही पहिचान र समयमा नै पहिचान हुन सक्यो भने र समयमा नै उपचार सुरु गर्न सकियो भने कुनै कुनै अवस्थामा बाथ निको पनि हुनसक्छ । गठिया बाथ र मेरुदण्डको बाथ तीनदेखि ६ महिना भित्रमा गर्न सकियो भने निको हुनसक्ने सम्भावना ३० प्रतिशतसम्म रहन्छ ।
बाथको समयमै र सही पहिचान गर्न जरुरी छ । पहिचान भइसकेपछि उपचार सुरु गर्नुपर्छ । उपचारलाई डाक्टरको सल्लाहअनुसार निरन्तर रूपमा औषधि खाइरहनुपर्छ । सुरुवाती चरणमा नै बिरामी आउने हो भने १ वर्ष भित्रमा बाथ निको हुनसक्छ । त्यो भनेको शरीरबाट नै बाथ गायब भएको भने होइन । तर बिना औषधि नियन्त्रणमा राख्न सकिन्छ ।