काठमाडौंमा उपचार गराउने पैसा नहुँदा ४ वर्षीय बालक अस्पतालमा छट्पटाउँदै

    • स्वास्थ्य पेज

  • २६ फाल्गुन २०७९, शुक्रबार

बाजुरा: बाजुरामा उपचार अभावमा चार वर्षीय बालक अस्पतालमा छट्पटाउँदै आएका छन् । बडिमालिका नगरपालिका–९ का ४ वर्षीय गौतम थापालाई थप उपचारका लागि काठमाडौं लग्नु पर्ने भएपनि अभिभावकसँग पैसा नहुँदा जिल्ला अस्पताल बाजुरामा छट्पटाउन बाध्य भएका हुन् ।

चिकित्सकका अनुसार गौतमको उपचार बाजुरामा सम्भव छैन । मुटुमा समस्या भएका कारण दुई वटा भल्ब फेनुपर्ने चिकित्सकले बताएका छन् । तर, आर्थिक अभावमा थापाका परिवारले उपचार गराउन काठमाडौं समेत लैजान सकेका छैनन् । गौतमका बुबा हिमाल थापाका अनुसार करिब ६ महिना अगाडि परिवारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लग्नुभएको थियो । अस्पतालले सात दिन भर्ना गर्यो । तर उपचार गर्नका लागि पैसा पनि थिएन । बिरामी छोरालाई घरमै ल्याउन बाध्य भएको हिमालको भनाइ छ ।

तर, १५ वर्षभन्दा मुनिका बालबालिकाको मुटुको उपचार केन्द्रले निःशुल्क गर्दै आएको छ । अस्पतालबाट ल्याएको केही महिनामा गौतमलाई समस्या बढ्दै गयो । हाल गौतम बाजुरा जिल्ला अस्पतालमा अक्सिजनको सहारामा छन् । अस्पतालले गौतमको अवस्था जटिल भएको भन्दै अभिभावकबाट मञ्जुरीनामा समेत लिइसकेको छ ।

अस्पतालका चिकित्सक डा. प्ररित देवकोटाका अनुसार गौतममा जन्मजात मुटुको समस्या छ । ‘पहिला नै गंगालाल अस्पतालमा रोग पत्ता लगाइसकेको रहेछ । गत दशैंपछि अप्रेसन गर्न मिति तोकिदिएको रहेछ देवकोटाले भन्नभयो, ‘तर, उहाँ जानु भएनछ । अहिले बच्चाको अवस्था एकदमै जटिल छ ।’ गौतमको उपचार बाजुरामा सम्भव नहुने भन्दै अस्पतालले रेफर समेत गरिसकेको छ । तर, उहाँका बाबु पैसा जुटाएर मात्रै काठमाडौं जाने भन्दै वडा कार्यालय र आफन्तकोमा धाइरहनु भएको छ ।

  • २६ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech