मिर्गौला प्रत्यारोपण प्रकरण: चार जना दोषी ठहर, १५ जनालाई सफाइ

    • स्वास्थ्य पेज

  • २६ फाल्गुन २०७९, शुक्रबार

नेपालगन्जः मिर्गौला प्रत्यारोपण प्रकरणमा चार जना दोषी ठहर भएका छन् । यस्तै, १५ जनाले सफाइ पाएका छन् । जिल्ला अदालत ललितपुरले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालमा तीन वर्षअघि भएको मिर्गौलाको प्रत्यारोपण प्रकरणमा अवैध कार्य गरेको भन्दै चार जनालाई दोषी ठहर गरेको हो ।

न्यायाधीश धर्मराज पौडेलको इजलासले गत २५ माघमा सुनाएको फैसलामा प्रत्यारोपणका लागि मिर्गौला लिनेरदिने, लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउनेलाई सजायको भागीदार भन्दै अन्यलाई भने सफाइ दिएको छ ।

ललितपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र लुइँटेलका अनुसार सो मुद्दामा एक नाबालकसहित कूल १९ जना आरोपित रहेकोमा चार जनालाई कसुर ठहर हुने फैसला भएको छ। दोषी ठहर हुनेहरुमा नक्कली मामालाई मिर्गौला दिन आएका अंगदाता नागार्जुन नपा–३ का सन्तोष राई, दाताको नक्कली आमा भएर आउने अंग ग्रहणकर्ताकी बहिनी भक्तपुर नपा–९ की गीतादेवी बतास रहेका छन्।

यस्तै नाम परिवर्तित बबरमहल–२८ संकेतका अंग ग्रहणकर्तासमेत लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउने भोजपुर हतुवागढी गाउँपालिका–९ की रेश्मा राईलाई दोषी ठहर गरेको छ।

सूचना अधिकारी लुइटेलले बाँकी १५ जनामध्ये एक जना प्रतिवादीको मृत्यु भएकाले उनको मुद्दा खारेजी भएको र अन्य १४ जनाले यस अभियोगबाट सफाइ पाएको बताउनुभयो ।

नक्कली कागजात खडा गरेर विदेशमा रहेको व्यक्तिको विवरण भरी फरक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको भन्दै प्रहरीको मानव बेचबिखन तथा ओसार पसार ब्यूरो बबरमहलले बेनामी उजुरी परेपछि मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानको क्रममा आफ्नो विशेष अपरेशनमा पक्राउ नपरेका फरारप्रतिवादीहरु बबरमहल २८ र गीता देवी बतास साथै ब्यूरोले तोकेको उजुरी कर्ता बबरमहल २२ नै दोषी ठहर भएको छ।

  • २६ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech