नेपालगन्जः बाँकेमा कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिन सुरु गरिएको छ। यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिन थालिएको हो ।
कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
५५ वर्ष उमेर माथिका सबै, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर बुष्टर डोज दिन थालिएको उहाँको भनाइ छ ।
कोभिड १९ संक्रमण भएकाहरूले पनि संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज लिन मिल्ने उहाँको भनाइ छ। बुस्टर मात्रा खोप लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको खोप कार्ड लिएर जानुपर्ने छ।
आगामी ३० गतेसम्म बाँकेमा बुष्टर डोज लगाउने योजना छ । सोहीअनुसार नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, जानकी र डुडुवा गाउँपालिकामा खोप अभियान सुरु भएको हो । राप्तीसोनारी गाउँपालिकामा र जानकी गाउँपालिकामा १८००/१८००, कोहलपुर नगरपालिकामा दुई हजार, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा १५००/१५००, डुडुवा र नरैनापुरमा १२००/१२०० र नेपालगन्ज उपमहानगरपालिकामा २६०० डोज खोप लगाउने योजना छ ।