डाक्टर नूतन शर्मालाई प्रश्नः बच्चा जन्माउन उमेरले छेक्छ कि नाई ?

रजस्वला सुकेपछि पनि गर्भाधारण हुन सक्ने


    • स्वास्थ्य पेज

  • २२ फाल्गुन २०७९, सोमबार

निःसन्तानपन जटिल समस्या हो । निःसन्तानपनका कारण धेरै दम्पती सन्तानविहीन छन् । निःसन्तान दम्पतीले आइभीएफ अर्थात् (इनभिट्रो फर्टिलाइजेसन) प्रविधिमार्फत बच्चा जन्माएका छन् । आइभीएफ मार्फत बच्चा जन्माउन पनि उमेरको हदबन्दी हुन्छ भन्ने आमधारणालाई नर्भिक आइभीएफ सेन्टरले चिरेको छ ।

करियरसँगै पारिवारिक बाध्यताले समयमै बच्चा जन्माउन चाहेर पनि सम्भव नहुनेहरूलाई आइभीएफ प्रविधि वरदान साबित भएको छ । चिकित्सकहरु महिलाको उमेर छँदै अर्थात् ३० वर्षभन्दा कम उमेरमै बच्चा जन्माइसक्नु पर्ने सुझाव दिन्छन् । यद्यपि, आइभीएफ प्रविधिमार्फत सन्तान जन्माउन भने उमेरको हदबन्दी नहुने नर्भिक आइभीएफ सेन्टरकी वरिष्ठ टेस्टट्युब बेबी विशेषज्ञ डाक्टर नूतन शर्मा बताउनुहुन्छ ।

महिलाको उमेर ढल्किए पनि बच्चा जन्माउन सम्भव भएको उहाँको जिकिर छ । नर्भिक आइभीएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी विमला रजकले सन्तान जन्माउनुभएको हो । मंसिर ६ गते शल्यक्रिया मार्फत ५५ वर्षीया रजकले बच्चा जन्माउनुभएको थियो । आइभीएफ प्रविधिमार्फत पहिलो प्रयास मै रजक दम्पतीले सन्तान जन्माएको डा शर्माको भनाइ छ ।

रजक ५५ वर्ष हुँदा उहाँका श्रीमान् ६८ वर्षका हुनुहुन्थ्यो । डा शर्माले भन्नहुन्छ, ‘रजकका ३० वर्षीय छोराको आकस्मिक निधन भएपछि आइभीएफ विधिबाट सन्तान जन्माउनु भएको हो ।’ यसअघि पनि नर्भिक आइभीएफ सेन्टरमा उपचारपछि ५४ वर्षीय महिलाले जुम्ल्याहा बच्चा जन्माएको डा शर्माले बताउनुभयो । आइभीएफ विधिमार्फत बढ्दो उमेरमा गर्भधारण गरी बच्चा जन्माउनु जोखिम मानिन्छ । तर, उमेर ढल्किएकाले पनि उत्कृष्ट उपचारमार्फत सहजै आइभीएफ विधिबाट बच्चा जन्माउन सफल भएको उहाँको जिकिर छ ।

रजस्वला सुकेपछि पनि गर्भाधारण हुन सक्ने डा शर्मा बताउनुहुन्छ । आइभीएफ मार्फत उमेर ढल्किसकेका महिलाले पनि बच्चा जन्माउन सक्ने उहाँले बताउनुभयो । ‘तपाई यो नसोच्नुहोस् कि ४०-५० पुगिसकेँ, बच्चा हुँदैन भनेर । यदि आइभीएफ गरिएको खण्डमा बच्चा जन्माउन सकिन्छ,’ डा शर्माले भन्नुभयो ।

महिनावारी सुकेपछि हर्मोन परिवर्तन गराएर नियमित महिनावारी भइसकेपछि आइभीएफ विधिबाट बच्चा जन्माउन सकिने उहाँको भनाइ छ । बढ्दो उमेरका दुई जना महिलाले आइभीएफ उपचार विधिबाट चुनौतीका बिचमा सन्तान जन्माउन सफल भएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘महिलाको उमेर बढ्दै जाँदा हर्मोनमा आउने परिवर्तन, पाठेघरको अवस्था र स्वास्थ्यमा आउने विभिन्न समस्याका बाबजुद उत्कृष्ट विधि, दक्ष जनशक्ति र आधुनिक उपकरणका कारण आइभीएफ विधिबाट बच्चा जन्माउन सफल भएका हौँ ।’

अण्डा फ्रिजमा राखेपछि ५-७ वर्षपछि पनि जन्माउन सकिन्छ ?

परिवार सम्बन्धी योजना बनाएर विभिन्न कारणले तत्काल सन्तान जन्माउन असम्भव नहुने महिलाले अण्डा फ्रिजमा राखेर आफूलाई मन लाग्दा जन्माउन सक्ने डा शर्माको भनाइ छ । मानौँ, कुनै युवती आफ्नो करियरमा फोकस भई बच्चा जन्माउने समय मिल्दैन भने युवा अवस्था मै अण्डालाई फ्रिज गरेर राख्न सकिने डा शर्माले बताउनुभयो ।

उहाँका अनुसार चाहेको खण्डमा युवा अवस्था अर्थात् २४-२५ वर्षमै वा ३० वर्ष अगाडि पनि अण्डा फ्रिज गर्न सकिन्छ । तत्काल विविध कारणले बिहेका लागि तयार नभएको अवस्थामा अण्डा फ्रिज गरेर राख्ने र सन्तान जन्माउन तयार भएपछि अर्थात् विवाह भएपछि आइभीएफ विधिमार्फत जन्माउन सकिने उहाँको भनाइ छ । त्यसरी फ्रिज गरेको अण्डा जति वर्षसम्म राखे पनि पनि उही अवस्थामा रहने उहाँले बताउनुभयो । जस्तै २४-२५ वर्षको उमेरमा फ्रिजमा राखिएको अण्डा ५-७ वर्षपछि विवाह गरी सोही अण्डाबाट आइभीएफ विधिमार्फत गर्भाधारण हुँदा २४-२५ वर्षकै उमेरमा उत्पादन भएको अण्डा रहन्छ ।

गर्भधारण गर्ने महिलाको उमेर बढे पनि त्यसरी फ्रिजमा राखिएको अण्डा भने २४-२५ वर्षकै उमेरमा गर्भधारण गरिएझैँ हुने डा शर्माको भनाइ छ । त्यसरी युवा अवस्थामा फ्रिज गरेर राखिएको अण्डाबाट धेरैपछि बच्चा जन्माउँदा पनि भ्रुण युवा अवस्थाकै हुने उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘महिलाको अण्डा फ्रिज गरेपछि तत्काल गर्भवती हुनुपर्छ, विवाह गर्नुपर्छ भन्ने हुँदैन । महिलाले इच्छाएको समयमा गर्भवती हुन सक्छन् ।’

नेपालमै कतिपय महिलाले अण्डा झिकेर फ्रिजमा राख्ने र आफ्नो उद्देश्य पूरा गरेर गर्भधारण गर्ने गरेको उहाँले  बताउनुभयो । ‘अण्डा फ्रिजमा राख्नु हुन्छ । काम, आवश्यक कुरा व्यवस्थापन गरेर आफूलाई सहज भएको बेलामा गर्भधारण गर्नुहुन्छ,’ उहाँले भन्नुभयो । विदेशमा करियर र व्यस्तताका कारण आइभीएफ गर्ने प्रचलन बढी रहेको उहाँले सुनाउनुभयो ।

  • २२ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech