होली रंगहरुको पर्व हो । खुशीको पर्व हो। यो पर्वमा एक अर्कालाई विभिन्न रंग लगाएर माया आदानप्रदान गरिन्छ। होलीमा प्राय मानिसहरु केमिकल युक्त रङको प्रयोग गर्छन् ।
जसका कारण छालामा विभिन्न समस्याहरु आउन सक्छन्। त्यसैले खुसी मनाउनुको साथै स्वास्थ्यको पनि विशेष ख्याल राख्नुपर्ने हुन्छ । रङको दुष्प्रभाव बाट जोगिएर होली खेल्न जरुरी हुन्छ। जथाभावी रंग खेल्दा आँखाको दृष्टि गुम्न सक्छ, कानको जाली फुट्न सक्छ तथा एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन् । लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्छ । रंगले दमका रोगीहरूलाई बढी दुःख दिन्छ । होलीमा उपयोग गरिने रंग, अबिर आदिमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ । त्यसैले रंग वा अबिर मुख, आँखा वा कानमा नपसोस् भनेर होसियार रहनुपर्छ ।
होली खेलेपछि धेरैजसो व्यक्तिमा छाला पोल्ने वा छालाको रंग परिवर्तन हुने वा छाला सुक्खा हुने समस्याले देखिने गर्छ । रंगको बढी उपयोगले छाला सुक्खा हुनुका साथै रंगमा भएका विभिन्न रसायनले छालाको भित्री सतहलाइ नोक्सान पुर्याउने बताउँछन् ।
होलीको रंगमा वाइल कलर, केमिकल डाई, विषाक्त पदार्थ र छालालाई नोक्सान पुर्याउने अन्य तत्त्व पनि हुन्छ। हरियो रंग कपर सल्फेट (नीलो तुथो), बैजनी रंग क्रोमियम आयोडाइड, चम्किलो रंग एल्मुनियम ब्रोमाइड, नीलो रंग पर्सियन ब्लु र रातो रंग मर्करी सल्फेटबाट बन्छ । यी रसायनहरू मानव स्वास्थ्यका लागि अति हानिकारक हुन्छन् । बजारमा पाइने धेरैजसो रंगमा ‘हेभी मेटल्स’ र विषाक्त पदार्थ हुन्छ । हरियो रंगले आँखामा एलर्जी वा अस्थायी अन्धोपन निम्त्याउन सक्छ । छाला रोग पनि हुन सक्छ ।
यस्तै, बैजनी रंगले दम र एलर्जी हुन सक्छ । चम्किलो रंग क्यान्सरको कारक हुन सक्छ । नीलो रंगले छालामा एलर्जी गराउन सक्छ । रातो रंगले छालाको क्यान्सर हुन सक्छ । स्मरणशक्तिलाई हानि पुर्याउन पनि सक्छ । लेड अक्साइडले बनाइने कालो रंगले मृगौलामा समस्या उत्पन्न गराउन सक्छ । अबिर बनाउन पनि धेरै थरीका रसायनको उपयोग गरिन्छ ।
अबिरमा एसबेस्टस र अभ्रखसमेत मिसाइन्छ । त्यसैले यो पनि कम हानिकारक हुन्न । लापरबाही गरेर अबिर खेलाउँदा दम वा छाला र आँखामा जलन र संक्रमण हुन सक्छ । छालामा चिलाउने वा पोल्ने, एक्जिमा देखिने हुन सक्छ ।
डन्डीफोर भएकाहरूलाई रासायनिक रंगले झन् समस्यामा पार्न सक्छ । होलीमा रासायनिक रंगको उपयोग खतरनाक रहेको चेतावनी दिँदै विज्ञहरूले सकेसम्म प्राकृतिक र हर्बल रंग चलाउने सल्लाह दिन्छन् । तर, प्राकृतिक रंग नपाए वा रसायनयुक्त रंग नै प्रयोग गर्नुपर्ने बाध्यता रहे सावधानीका उपायहरू अपनाउनैपर्छ ।
होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाए रंगको दुष्प्रभावबाट जोगिन सकिन्छ । टोपी लगाउँदा सम्भावित असरहरूबाट बच्न मद्दत मिल्छ । यस्तै, होली खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर र फाउन्डेसन लगाउनु राम्रो विकल्प हो । यसो गर्दा रंग छालाभित्र जान पाउँदैन ।
कपालमा तेल दल्दा र नङ काटेर पालिस लगाउँदा पनि कुनै न कुनै नोक्सानीबाट बच्न सकिन्छ । होली खेलिसकेपछि छालाको जलन हटाउनुपरे मोइस्चराइजर उपयोग गर्न सकिन्छ । शरीर मजाले धोएर मोइस्चराइजर लगाउँदा छालाको सुक्खापन पनि हट्छ । रंग पखाल्ने भन्दै छालालाई बारम्बार साबुन लगाएर रगड्नु हुदैन ।
यसो गर्दा छाला सुक्खा हुने र पोल्ने समस्या बढ्न सक्छ । त्यस्तै, नुहाउनुँदा पानीसँगै रंग छालाभित्र नुहाउनुअघि शरीरमा भएको रंग पुछ्नुपर्छ। होली खेल्दा छालालाई रङको दुष्प्रभाव बाट सजिलै जोगाउन सकिन्छ। त्यसका लागी रासायनिक रंगहरूबाट जोगिने र प्राकृतिक रङहरूको मात्र प्रयोग गर्नुपर्ने हुन्छ। यस्ता रङहरू बलपूर्वक हटाउनुहुँदैन। तर केही घरेलु उपचारहरू प्रयोग गरेर सजिलै सफा गर्न सकिन्छ । जसका लागि बेसारको धूलोमा अलिकति काँक्रोको रस, गुलाब जल, थोरै शिरका आदि मिसाएर अनुहारमा लगाउने र १५ मिनेट सुकेपछि मनतातो पानीले सफा गर्ने ।
बदाम तेलका साथै बेसारको धूलोमा दुध, कागतीको रस मिसाएर पेस्ट बनाएर अनुहारमा ५ देखि १५ मिनेटसम्म राख्ने र त्यसपछि मनतातो पानीले अनुहार सफा गर्ने, बेसनमा मेवा मिसाउँदा पनि अनुहारको रंग सफा हुन्छ। सुन्तलाको धूलोमा तोरीको तेल र बेसारको पिठो मिसाएर पेस्ट बनाएर अनुहारमा हातले बिस्तारै मालिस गरेपछि पनि मनतातो पानीले धुँदा रंग हटाउन सकिन्छ ।