नेपालगन्जः दैलेखको भगवतीमाई गाउँपालिकामा आयोजना गरिएको दुईदिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा दुई हजार बढी स्थानीयबासीले सेवा लिएका छन् । चेकजाँचमा स्वास्थ्य समस्या देखिएका विरामीलाई औषधि समेत निशुल्क उपलब्ध गराइएको थियो ।
गाउँपालिकाको आयोजना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा संचालन गरिएको स्वास्थ शिविरमा दुई हजार एक सय ४२ जना स्थानीयहरुले स्वास्थ सेवा लिएको शिविरमा खटिनु भएका मेडिकल कलेजका डा. देवेन्द्र आचार्यले जानकारी दिनुभयो ।
स्वास्थ शिविरबाट महिलाहरुको पाठेघर सम्बन्धि समस्या, नाक, कान घाँटी सम्बन्धि समस्या, पेट टाउँको तथा छाती सम्बन्धि समस्या भएका विरामी धेरै देखिएका थिए । ती मध्ये तीन सय बढीलाई रिफर गरिएको पनि डा. आचार्यले जानकारी दिनुभयो ।रिफर भैइ मेडिकल कलेज कोहलपुरमा आउने बिरामीहरुलाई अस्पतालले बेड चार्जमा ५० प्रतिशत र अन्य चेकजाँचमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको अस्पतालका सामाजिक सेवा इकाई प्रमुख राम बहादुर मल्लले बताउनुभयो ।
शिविरमा नेपालगन्ज मेडिकल कलेजका नाक,कान घाँटी रोग विशेषज्ञ प्रा.डा. ढुण्डीराज पौडेल, डा.कविर बास्तोला, अडियोमेट्री पुरनदेव पुरी, त्यसैगरी मेडिसिन विभागका तर्फबाट प्रा.डा रेवतीरमन मल्ल, डा.देवेन्द्र आचार्य, स्त्रीरोग विभागबाट वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.होमनाथ अधिकारी, डा. कृति बेल्बासे, त्यसैगरी रेडियोलोजि तर्फ डा. हरि सापकोटा, छाला तथा यौन रोगमा डा. कमलजङ शाही लगायत डा. प्रीति यादव, डा. आभा भट्ट त्यसैगरी स्टाफनर्सदोय कल्पना श्रेष्ठ, रचना गिरी, सिर्जना बगाले, सीता मल्ल र ल्याब टेक्निसियन जयवन्तलाल सिंह र अर्जुन अधिकारीले सेवा प्रदान गर्नुभएको थियो भने शिविरको संयोजन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सामाजिक सुरक्षा सेवा प्रमुख मल्लले गर्नुभएको थियो ।
शिविर समापनमा बोल्दै भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले जनताको स्वास्थ्य सेवाप्रति गाउँपालिका सवेदनशिल रहेको बताउनुभयो । उहाँले आगामी दिनमा समेत मेडिकल कलेजसँग सहकार्य गर्दै अझ बृहत् शिविरको आयोजना गरिने प्रतिबद्धता समेत जनाउनुभयो । शिविरले विशेषज्ञ डाक्टरहरुको सेवाबाट गरिब, असाहय तथा लामो समयसम्म विभिन्न रोगबाट पीडित जनताहरुमा ठूलो राहत मिलेको प्रा.डा पौडेलले बताउनुभयो । शिविर संचालनमा स्थानीय समाजसेवी मेनुका शाहीले समन्वय र सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।