आफूलाई लागेको रोगबारे बताएर प्रशंसा कमाइरहेकी सेलिना

    • स्वास्थ्य पेज

  • १७ फाल्गुन २०७९, बुधबार

चर्चित अंग्रेजी गायिका सेलिना गोमेजको अचेल निकै तारिफ भइरहेको छ। गोमेज लुपस नामक रोगबाट ग्रसित छिन्। जसका कारण आफ्नो शरीरमा आइरहेको बदलावका विषयमा उनले खुलेर कुरा गरिरहेकी छिन्। यसरी रोगबारे खुलेर कुरा गर्ने उनको शैलीको धेरैले प्रशंसा गरेका हुन्।

तीस वर्षीया गायिका गोमेज त्यतिबेला लुपसबारे प्रष्ट बताइन्, जुन समय उनी आफैंले जानकारी पाएकी थिइन्। सुरिली मात्रै होइन, सुन्दर समेत रहेकी गायिका गोमेजको शरीर औषधि सेवनका कारण बदलियो। केहीले ‘भद्दा’ भन्दै कमेन्ट गरे।

त्यसपछि पनि उनी रोकिइनन्। लुपस र यसले शरीरमा देखिने बदलाव बारे कुराकानी गरिरहिन्। गोमेजले केही समयअघि टिकटकमा बताइन् कि जब उनी उपचारका क्रममा थिइन्, त्यो समयमा उनको शरीरमा निकै धेरै पानी जम्मा भयो र त्यसले उनको शरीर फुल्दै गयो।

उनले थपिन्,  ‘अब म स्वस्थ रहन्छु र आफ्नो ध्यान राख्छु। मेरो औषधिबाट मलाई मद्दत मिलिरहेको छ।’

लुपस एक असाध्य अटो- इम्युन डिजिज (रोग) हो। जसले शरीरको रोग प्रतिरोधी तन्त्रलाई अतिसक्रिय गराउँछ। त्यसले सामान्य तन्तुमाथि असर गर्दछ। औषधिका माध्यमबाट यसका लक्षणहरुलाई काबुमा भने राख्न सकिन्छ।

गोमेजले २०१७ मा आफूलाई लुपस रहेको बताएकी थिइन्। त्यही कारणले उनको किड्नी प्रत्यारोपण गर्नुपरेको थियो।

प्रशंसक के भन्छन्?
केट एपलब्वाइ र क्रिस क्लार्क पनि ३० वर्षकै हुन्। दुवै लुपससँग जुधिरहेका छन्। बीबीसी न्युजसँग उनीहरुले गोमेजले यो रोगका बारेमा खुलेर कुरा गर्नुको अर्थ भएको बताएका छन्।

केट भन्छिन्, ‘यो रोगका कारण शरीरमा देखिने बदलावका कारण जसरी गोमेजमाथि बडी सेमिङ भयो। त्यो म बुझ्न सक्छु।’

यसरी रोगबारे कुरा गरेकोमा क्रिस पनि गोमेजको तारिफ गर्छन्। उनी भन्छन्, ‘जसरी उनले खुलेर कुरा गरिरहेकी छिन्। त्यसले यो रोगबाट ग्रसितहरुलाई समाजमा सहज हुँदै गएको छ। त्यसैले म उनको पूरै समर्थन गर्छु।’

इन्स्टाग्राममा केटका ४० हजार फलोअर्स छन्।  उनी थप्छन्,  ‘सेलिना बडी शेमिङका शिकार भइन् तर जसरी उनी निर्धक्क बोलिन्, त्यो बहादुरीको जति तारिफ गरेपनि कम हुन्छ।’

आफ्नो उदाहरण दिँदै उनी भन्छिन्, ‘म पनि पहिले दुब्लीपातली थिएन। अब शरीरमा मासु बढेको छ। केही सुन्निएकी छु। जति म बिरामी छु। त्यति नै आफूलाई लुकाउने कोशिस गरिरहेकी हुन्छु।’

सेलिना एक सेलिब्रिटी भएका कारण त्यसलाई सार्वजनिक गर्नुको अर्थ भएको बताइन्। आफूलाई मान्छेहरुले उक्त बिरामका दृष्टिबाट समेत हेर्न बताउँदै केही मान्छेहरु अहिले त्यसबारे सोधपुछ समेत गर्न थालेको अनुभव सुनाउँछिन्।

सेलिनाको उक्त कार्यले धेरै ज्यान जोगिनुका साथै मानसिक रुपमा पनि बलियो भइरहेको बताउँछिन्।  उनी भन्छिन्, ‘जब मैले लुपसका बारेमा थाहा पाएँ। मेरो मानसिक अवस्था ठीक थिएन। यदि सेलिनाले जस्तै यसका बारेमा कसैले कुरा गरेको हुँदो हो त मेरो हालत अर्कै हुन सक्थ्यो।’

लुपस के हो?
ब्रिटिस स्वास्थ्य सेवाका अनुसार लुपस एक जटिल बिराम हो। शरीरका फरक-फरक हिस्मा यसले प्रभावित गर्छ। यो रोगका बारेमा अहिले पनि धेरै अनुसन्धान भइसकेको छैन। यसको लक्षण सामान्यदेखि ज्यान लिनेसम्मका हुन सक्छन्।

लुपस विभिन्न किसिमका हुन्छन्। एउटाले छालालाई मात्रै प्रभावित गर्छ। धेरै गम्भीर अवस्थाको लुपसलाई  एरिथेमेटोसस भनिन्छ। यसले छाला, जोर्नी र शरीरका भित्री अंगमा असर गर्छ।

धेरैलाई लुपस हुन सक्छ तर त्यतिबेला मात्रै थाहा लाग्छ, जतिबेला लक्षण धेरै बढिसक्छन्। लुपसको मुख्य लक्षण अधिक थकाइका साथसाथै अनुहार र हातको छालामा पाप्रा देखिनु, जोर्नीमा दुखाइ र शरीर फुल्दै जानु हुन्।

हामी सबैको शरीरमा रोग वा जिवाणुसँग लड्ने क्षमता हुन्छ। यो रोग लागेपछि मानसको रोगसँग लड्ने क्षमतामा गडबडी आउँछ। विशेष कोषिकाहरुले आफ्नै शरीरका कोषिकाहरुलाई नष्ट गर्न थाल्छ। रोगसँग लड्नसक्ने क्षमताले जब आफ्नै शरीरका कोषिकाविरुद्ध काम गर्न थाल्छ, त्यसपछि लुपस देखापर्छ। यसपछि शरीरका अंगहरुलाई बिगार गर्न थाल्छ। आँखा, छाला, मिर्गौला, फोक्सो, मष्तिष्क आदिमा यसले असर गर्नसक्छ।

इम्युन सिस्टमले ‘एन्टिबडिज’ नामक प्रोटिन उत्पादन गर्छ, जसले भाइरस, ब्याक्टेरियाको जोखिमबाट बचाउँछ। तर यो रोग लागेपछि ‘अटोएन्टिबडिज’ उत्पादन हुन्छ जसले स्वस्थ कोषिकालाई नष्ट गरिदिन्छ। लुपस रोग महिलालाई पुरुषको तुलनामा ९ देखि १२ गुणासम्म बढी लाग्ने गरेको पाइन्छ।

  • १७ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech