नेपालगन्जः खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारी घाइते हुनुभएको छ ।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा घाइते भएको उहाँका सहयोगी भुवन भुसालले जानकारी दिनुभयो ।
भुसालका अनुसार अहिले उहाँहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । चन्द्रको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशतभन्दा धेरै जलेको चिकित्सकहरुले बताएका छन् ।
भुसालसहित आफन्तहरू अस्पतालमै छन् । बुधबार राति नै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एनपी साउँदसहितका नेताहरू अस्पताल पुग्नुभएको थियो ।
भुसालका अनुसार ग्यास लिक भएर सिलिन्डर विस्फोट भएको आशंका गरिएको छ । सुतिसकेपछि करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको हो ।