नेपालगन्जः बाँकेमा हात्तिपाइले रोग विरुद्धको औषधी सेवन अभियान यही फागुन ११ गतेदेखि सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले आज नेपालगन्जमा आयोजना गरेको जिल्ला स्तरीय पत्रकार अन्तरिक्रया कार्यक्रममा अभियानको तयारीबारे जानकारी गराइएको हो ।
यो पटक जिल्लामा ६ लाख १६ हजार ६९५ जनालाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तिपाइले रोग फोकलपर्सन दुर्गा गौतमले जानकारी दिनुभयो । बाँके हात्तिपाइले रोगको उच्च जोखिममा रहेकाले लक्षित समूहका सबै व्यक्तिहरुलाई औषधी सेवन गर्न उहाँको आग्रह छ ।
नेपालगन्ज उपमहानगरपालिकामा एक लाख ७० हजार ५९८ जना, कोहलपुर नगरपालिकामा एक लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जनालाई औषधी खुवाउने लक्ष्य छ । त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको फोकलपर्सन गौतमले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकामा ५० प्रतिशत मानिसले मात्रै औषधि खाएको तथ्यांक स्वास्थ्य कार्यालयसँग छ । त्यसैगरी कोहलपुर र डुडुवामा ७८-७८, खजुरामा ७६, राप्तीसोनारी र बैजनाथमा ७३-७३, नरैनापुरमा ७४ प्रतिशतले औषधि सेवन गर्दा जानकी गाउँपालिकामा भने ८० प्रतिशतले औषधी सेवन गरेका थिए ।
खानेले औषधी खाइरहने र नखानेले औषधी नखाइ दिने गरेका कारण बाँकेमा हात्तिपाइले रोगविरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन । जसले औषधि सेवन गर्दैन त्यसकै कारण औषधी खाने मानिसहरु पनि हात्तिपाइलेको जोखिममा पर्ने गरेका छन् । बाँकेमा आर्थिक वर्ष २०६७-०६८ बाट हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन सुरु गरिएको हो ।
उक्त वर्ष जिल्लाको कभरेज ९१ प्रतिशत थियो । पहिलो वर्ष भएको केही असावधानी र वास्तविकता बुझाउन नसक्दा भएको दुर्घटनाले त्यसपछि औषधी सेवनको कभरेज घट्दै गएको हो । गत वर्ष बाँकेमा ६८ प्रतिशतले मात्रै औषधी सेवन गरेका थिए । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले हात्तिपाइले रोगविरुद्धको अभियानलाई प्रभावकारी गराउन मिडियाकर्मी, जनप्रतिनिधि, राजनीतिक दल तथा बुद्धिजीवि सबै वर्गको रहेकाले यो अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो ।
बाँके हात्तिपाइले रोगको उच्च जोखिममा रहेकाले औषधी सेवननै यसको न्यूनिकरण भएको उहाँको भनाइ छ । उहाँले पाँच वर्ष लगातार औषधी खुवाएपछि प्रि टाँक्स सर्वे गरेर अर्को वर्ष औषधी खुवाएर निवारण गर्ने रणनीति असफल भएपछि १३ औं पटक औषधी खुवाउन लागिएको बताउनुभयो ।