डा.राजन पाण्डे मुख्यमन्त्री प्रज्ज्वल दीप पदक द्वितीयबाट विभूषित (को हुनुहुन्छ डा.पाण्डे?)

डा.पाण्डेलाई प्राप्त भइरहेका यि पदक तथा पुरस्कारहरुको श्रेय उहाँको अथक मिहिनत तथा लगनशीलताका उपज नै हुन् । त्यतिमात्र होइन बिरामीले गरेको विश्वास र भरोसा पनि हो ।


    • स्वास्थ्य पेज

  • ३ फाल्गुन २०७९, बुधबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डे मुख्यमन्त्री प्रज्ज्वल दीप पदक द्वितीयबाट विभूषित हुनुभएको छ । लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसर पारेर उक्त पदकबाट डा. पाण्डेलाई विभूषित गरेको हो । लुम्बिनी प्रदेश राजधानी भालुवाङमा आज एक समारोहकाबीच लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले सिकलसेल एनिमिया तथा ट्रपिकल मेडिसिन विशेषज्ञ समेत रहनु भएका डा.पाण्डेलाई उक्त पदक प्रदान गर्नुभएको हो ।

यो पदक लुम्बिनी प्रदेशका कर्मचारीलाई प्रदान गरिने सर्वोच्च पदक हो । संबिधान दिवसको अवसरमा गएको असोज ३ गते डा. पाण्डेलाई उक्त पदक दिने घोषणा गरिएको थियो । प्रदेशको सम्बृद्धि तथा प्रतिष्ठा अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदकबाट विभूषित गर्ने गरिएको छ ।

डा. पाण्डे २०७३ सालमा राष्ट्रपतिबाट प्रवल जनसेवा श्री, २०७८ मा सुप्रवल जनसेवा श्री, २०७८ सालमै पूर्व राष्ट्रपतिबाट बारबरा फाउण्डेसन पदक, २०७९ मा थारु आयोगद्धारा थारु रत्न पुरस्कारसहित दर्जनौं पदक तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

डा.पाण्डेलाई प्राप्त भइरहेका यि पदक तथा पुरस्कारहरुको श्रेय उहाँको अथक मिहिनत तथा लगनशीलताका उपज नै हुन् । त्यतिमात्र होइन बिरामीले गरेको विश्वास र भरोसा पनि हो । डा.पाण्डेको जीवन आफैमा एउटा संघर्षको कथा हो । त्यो कथाको नालिबेली अर्को कुनै खण्डमा चर्चा गरौंला । तर, डा.पाण्डेले आमासँग माग्ने एउटै आर्शिवाद छ, मैले छोएका बिरामीहरु चुम्बक जस्तै बनुन ताकी मलाई छाडेर अन्त जान नपरोस् । यसको अर्थ हो मैले उपचार गरेका बिरामी सन्चो नभएर अन्यत्र अन्यत्र भौतारिन नपरोस् ।

को हुनुहुन्छ डा.राजन ?
वि.सं. २०३८ सालमा गोर्खाको तत्कालीन पालुङटार गाविसमा जन्मिनुभएका राजन सानैदेखि पढ्नमा अब्बल हुनुहुन्थ्यो । बुवा सरकारी जागिरे भएका कारण उहाँको स्कुले पढाई भने विभिन्न विद्यालयमा भयो । बुवाको जता सरुवा हुन्थ्यो उहाँ त्यतैको विद्यालयमा अध्ययन गर्नुभयो । जहाँ जुन विद्यालयमा गएपनि उहाँ दोस्रो भने कहिल्यै हुनु भएन् ।

कक्षा ४ सम्म गाउँकै भवानी माविमा अध्ययन गर्नुभयो । कक्षा ५ मा भने १० महिना जनप्रिय मावि पोखरामा अध्ययन गर्नुभएका उहाँले २ महिना भने तनहुँको बैदिस्थित श्री दिपक प्राविमा अध्ययन गर्नुभयो । ६ र ७ कक्षा फेरी भवानी माविमा अध्ययन गर्नुभएका उहाँले एसएसलसी भने वि.सं. २०५३ सालमा बालकुमारी मावि नारायणघाटबाट विशिष्ट श्रेणीमा उर्तिण गर्नुभयो ।

एसएलसीपछि काठमाडौंको अमृत साइन्स कलेजबाट विशिष्ट श्रेणीमै आइएस्सी गर्नुभयो । त्यसपछि मनिपाल कलेज पोखरबाट स्कलरसीपमा एमबीबीएस गर्नुभयो । त्यसपछि एक बर्ष कलेज अफ मेडिकल साइन्स भरतपुरमा अफिसरको रुपमा काम गर्नुभयो । त्यसपछि मकवानपुरको पालुङ स्वास्थ्य केन्द्रमा काम गर्नुभयो ।

वि.सं. २०६३ फागुनमा लोकसेवा आयोगले लिएको मेडिकल अधिकृतको परीक्षामा राजनले एक नम्वरमा नाम निकाल्न सफल हुनुभयो । त्यसपछि उहाँको पोष्टिङ रोल्पाको दहवन मुख्य सैनिक शिविरमा भयो । लोकसेवा आयोगमा एक नम्वरमा नाम निकाल्नेहरुले ठाउँ रोज्न पाउँछन् ।

यसरी ठाउँ रोज्नेहरुले प्राय सुविधायुक्त ठाउँनै रोज्ने गर्छन् । तर राजनले भने रोल्पाको दहवन रोज्नुभयो । रोल्पा यसैपनि विकट, त्यसैमा माओवादीको उद्गम थलो । २४ वर्षको एउटा ठिटाको रोल्पामा बसेर सेवा गर्ने त्यो आत्मबल र जोश देखेर तत्कालीन स्वास्थ्य सचिव रामचन्द्रमान सिंह नै अचम्मित पर्नुभएको थियो ।

८ महिनाको रोल्पा बसाइपछि उहाँको दाङको लमही स्थित प्राथमिक स्वास्थ्य चौकीमा सरुवा भयो । वि.सं. २०६५ सालमा दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र नवलपरासीमा केही महिना सेवा गरेपछि उहाँले एक नम्वरमा एमडीमा नाम निकाल्नुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स अर्थात वीर अस्पतालबाट पूर्ण छात्रावृत्तिमा उहाँले वि।सं।२०६८ सालमा एमडी गर्नुभयो ।

त्यसपछि उहाँ २०६८ साल मंसिर १ गते भेरी अस्पतालमा पोष्टिङ हुनुभयो । वि.सं. २०७२ मा कन्सल्टेन्ट फिजिसियन हुनुभएका राजन वि.सं. २०७४ मा भने प्रमुख कन्सल्टेन्ट फिजिसियन हुनुभयो । मेडिसिन समूहमा प्रमुख कन्सल्टेन्ट फिजिसियनमा नाम निकाल्ने राजन सबैभन्दा कान्छा चिकित्सक हुनुहुन्छ ।

जसका कारण नीति बन्यो
नेपालगन्जका अस्पताल तथा क्लिनिकहरुमा उच्च ज्वरो भएका बिरामीहरु आइरहन्थे । ती बिरामीले चिकित्सकहरुसँग उच्च ज्वरोसँगै टाउको असाध्यैं दुख्ने गरेको लक्षण पनि सुनाउँथे ।

कतिपयले वान्ता हुने, पेट दुख्ने र पखला लाग्ने गरेको पनि चिकित्सकहरुलाई सुनाउँथे । अधिकांश चिकित्सकहरुले त्यस्ता बिरामीलाई टाइफाइडको औषधि दिएर पठाउँथे । हरेक ज्वरोलाई टाइफाइड नै ठानेर औषधि दिने यो एक हदसम्म चलिनै रहेको थियो । यस्तै लक्षण चिन्ह भएका बिरामीहरु डा.राजनसँग पनि आउन थाले ।

भेरी अस्पतालको ओपीडीमा बस्दा उच्च ज्वरो, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांशपेशीहरु दुख्ने, खोकी लाग्ने, कतिपयको शरीरमा रातो बिमिरा आएका त्यस्ता बिरामीहरुको डा.पाण्डेले तथ्याङ्क संकलन गर्न थाल्नुभयो । ती बिरामीमा स्क्रब टाइफसकै जस्तो लक्षण देखिएपछि डा.पाण्डेलाई बिरामीको नमूना जाँच गर्नु पर्छ भन्ने लाग्यो ।

तर त्यतिबेला बाँकेमा स्क्रब टाइफसको नमूना जाँच गर्ने रि–एजेन्ट नै थिएन । डा. पाण्डेले करिव आधा दशक अघिको स्मरण गर्दै भन्नुभयो–‘स्क्रब टाइफस के हो भन्ने नै नेपालगन्जका लागि नौलो थियो । बाँकेका कुनै पनि ल्याबमा रि–एजेन्ट नै थिएन् ।’ डा.पाण्डेकै पहलमा २०७० सालमा भेरी अस्पतालको प्रयोगशालामा स्क्रब टाइफसको परीक्षण सुरु भएको हो ।

हरेक ज्वरो टाइफाइड नहुन सक्दछ भन्ने कुरामा स्पष्ट रहनुभएका डा.पाण्डेले बिरामीको नाडीमात्र छाम्ने काम गर्नु भएन । उहाँले बिरामीको हिस्ट्री अध्ययनसँगै उपचार र परामर्शमात्र हैन त्यस्लाई तथ्याङ्कमा समावेश गरेर जनस्वास्थ्य सरोकारका रुपमा लिएर राज्यको नीति निर्माण तहमा पु¥याउने काम गर्नु भएको छ । त्यसैको कारण आज चार हजार बढी सिकलसेलका बिरामीले निःशूल्क उपचार सेवा पाइरहेका छन् । डा.पाण्डेले थारु समुदायमा रहेको बंशाणुगत सिकलसेल रोगलाई जनस्वास्थ्य समस्याकारुपमा उजागर गरिदिएकै कारण राज्यले नीतिनै बनाएर सिकलसेल रोगको निदान, उपचार र परामर्शका लागि बजेट नै बनाएको छ ।

संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेका छन् । डा.पाण्डेले आफ्नो सम्पर्कमा आएका अधिकांश बिरामीको तथ्याङ्क राख्ने गर्नु भएको छ । उहाँसँग सयौं बिरामीका फाइलहरु छन् । सिकलसेलसँगै थालेसेमियाका बिरामीको संख्या पनि धेरै छ । बंशाणुगत यो रोगबाट उपचार गर्दागर्दा करोडौं सम्पति गुमाएका छन् । काठमाडौंका कर्पोरेट अस्पतालहरुमा मात्र होइन भारतका अस्पतालहरुमा पुगेर पनि रोग पहिचान नभएका त्यस्ता बिरामीको संख्या पनि धेरै छ ।

पश्चिम नेपालमा सिकलसेल, थालेसेमिया, स्क्रब टाइफस, डेंगी, कालाजार लगायतका रोगको पहिचान, निदान र उपचारमा डा.पाण्डेको योगदान महत्वपूर्ण छ । पूर्वी तराइका १२ जिल्ला मात्रै कालाजारको जोखिममा थिए । पश्चिम तराईमा यसको अध्ययन र अनुसन्धान हुन सकेको थिएन । त्यतिबेला नमुनानै परीक्षण नभएपछि कालाजार छ छैन पुष्टि हुने कुरा पनि भएन । डा.पाण्डेको पहलमा कालाजार लक्षण चिन्ह भएका बिरामीको नमुना जाँच हुन थालेपछि यसक्षेत्रमा पनि कालाजार भएको पुष्टि भयो ।

अहिले भेरी अस्पतालमा बर्सेनि कालाजारका ३५–४० जना बिरामी आउने गरेका छन् । उनीहरुको निशुल्क उपचार हुने गरेको छ । ती बिरामीले बाटो खर्च वाफत रु दुई हजार समेत पाउने गरेका छन् भने ल्याब खर्च भनेर पाँच हजारसम्म पाउने गरेका छन् । लुम्बिनी प्रदेशमात्रै नभएर कर्णाली र सुदूरपश्चिम प्रदेशकै ११ औं तहका एकमात्र सिनियर चिकित्सक डा.पाण्डेले बिरामीको चेकजाँच र उपचारसँगै उनीहरुको अध्ययन गरी पोलेसी लेभलबाट त्यसको दीर्घकालीन समाधानको खोजी गर्ने काम गर्दै आउनुभएको छ ।

कोरोना महामारीको उपचार, निदान र परामर्शमा पनि डा.पाण्डेले पोलेसी लेभलमै बसेर भूमिका निर्वाह गर्नुभएको थियो । कोभिड उपचारमा भेरी अस्पताल देशभरीमै अब्बल हुनुमा डा.पाण्डेले नेतृत्व गरेको मेडिसियन विभागको भूमिका पनि दरबिलो मानिन्छ । डब्लुएचओ पेन प्लस कार्यक्रमका सिकलसेल विज्ञ डा.पाण्डेले दिने सुझावले राज्यको नीतिगत व्यवस्थामा फेरबदल हुने गरेको छ ।

सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि सम्पूर्ण बालबालिकाहरुको रगत परीक्षण अनिवार्य देख्नुहुन्छ । ‘जवसम्म सम्पूर्ण बालबालिकाको रगत परीक्षण गरिदैन तवसम्म यसको निर्मुलीकरण चुनौतिपूर्ण छ’ डा.पाण्डे भन्नुहुन्छ । सिकलसेल र थालेसेमियाको औषधि वीमामा अनिर्वाय समावेश गर्दै बीमाको प्रिमियर सरकारले तिरिदिनु पर्ने डा.पाण्डे सुझाव दिनुहुन्छ ।

रक्तजन्य रोगहरुको नेपाल रणनीतिका मुख्य मस्यौदाकार डा. पाण्डेले युरोपियन मुलुकसहित अहिलेसम्म २५ देशमा पुगेर त्यहाँको स्वास्थ्य अवस्थाको अनुगमन, अवलोकनसहित कार्यपत्र प्रस्तुत गरिसक्नु भएको छ ।

  • ३ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech